नेपाली समय: ०८:१३:१३ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

हाम्रो सन्दर्भमा अर्काे अक्टोबर क्रान्ति जस्तै ब्रेक थ्रु चाहिएको छ— घनश्याम भुसाल

नयाँ अंग्रेजी क्यालेन्डरको नोभेम्बर ७ लाई विश्वभरिका कम्युनिस्टले अक्टुबर क्रान्ति दिवसका रूपमा सम्झने गर्छन्। विश्वमा आज कम्युनिस्ट आन्दोलन जहाँजहाँ जीवित छ, त्यो अक्टुबर क्रान्तिकै उपज हो।

आज आन्दोलन, नारा-जुलुस, मागदाबी, सडक-संघर्ष र गतिशील झन्डाहरूमा जीवन्त देखिने कम्युनिस्ट आन्दोलनहरू सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा भएको बोल्सेभिक क्रान्तिबाटै सुरु भएका हुन्। विश्व कम्युनिस्ट आन्दोलन र माक्र्सवादी आन्दोलनको सबैभन्दा प्रभावशाली धाराका रूपमा आज पनि लेनिनवादी धारा नै रहेको छ, जसको सुरुआत अक्टुबर क्रान्तिबाटै भयो।माक्र्सवाद एउटा असाध्य बौद्धिक र पद्धतिगत अध्ययनको जुन विषय थियो, त्यसलाई मान्छेको वास्तविक जिन्दगीमा महसुस हुने गरी अकल्पनीय ढंगले स्थापना गर्ने साहसिक काम लेनिनले नै गरेका हुन्।

एउटा बौद्धिक र प्राज्ञिक विमर्शजस्तो देखिएको माक्र्सवादलाई गरिखाने मान्छेको अर्थतन्त्र, संस्कृति, संगठन, गीत-नाचसम्म ओराल्ने कार्य अक्टुबर क्रान्तिले गर्‍यो। अर्को शब्दमा भन्ने हो भने लेनिनले अक्टुबर क्रान्तिको माध्यमबाट माक्र्सवादलाई धर्तीमा खुट्टाले टेकाएर हिँडाए।

यो घटना विश्व इतिहासमा असाधारण किन हो भने भोकानांगा, शोषित-उत्पीडित, ठगिएका, लुटिएका मान्छेहरूले पनि धर्तीमा शासन गर्न सक्छन् भन्ने कुरा यथार्थमा यसैले पुष्टि गरिदियो। त्यतिन्जेलको विश्व वाङ्मयको इतिहासमा यो अकल्पनीय र उल्टो कुरा थियो। तत्कालीन दुनियाँले असम्भव ठानेको दुःस्वप्नजस्तो माक्र्सको परिकल्पनालाई सपनामा बदलेर देखाउने त्यति बेलाका क्रान्तिकारीहरूको संघर्ष र संकल्प आफैंमा भयंकर र असाधारण महत्वको थियो।अक्टुबर क्रान्ति होस् या इतिहासका अरू कुनै पनि परिघटना, तिनलाई हामीले तत्कालीन परिप्रेक्ष्यमै राखेर हेर्नुपर्ने हुन्छ।

एकछिनलाई मान्छेकै विकासलाई उदाहरणका रूपमा लिऊँ-मान्छे कुनै बेला बाँदर थियो। बाँदरको अहिले कति सामयिकता छ होला? यसलाई दुईतिरबाट हेर्नुपर्ने हुन्छ । पहिलो, हिजो बाँदर नै थिएन भने आजको मान्छे हुन सम्भव थिएन। दोस्रो, आजको मान्छे हिजोको बाँदरचाहिँ होइन। एक शताब्दीअघिको अक्टुबर क्रान्ति नै हुँदैनथ्यो भने आजका मुक्ति आन्दोलन, आजका नारा, आजको कम्युनिस्ट आन्दोलन सम्भव थिएन।

अत्यन्तै अधिनायकवादी भनिएको लेनिनवाद कुनै न कुनै अर्थमा आजको लोकतन्त्रमा विकसित र अविच्छिन्न छ। संसारमा राजनीतिक विषयमा सबैभन्दा बढी क्रिया-प्रतिक्रिया वा वाद-विवाद भएका विषयको केन्द्रमा पनि अक्टुबर क्रान्ति नै रह्यो ।

अहिले पनि राजनीतिक विषयको बहस कि त प्रजातन्त्र भनिने व्यवस्थाबारे चलेको छ, कि अक्टुबर क्रान्तिकै वरिपरि घुमेको छ। यदि यो बहस सार्थक छ भनेर मान्ने हो भने अक्टुबर क्रान्ति पनि त्यस अर्थमा सार्थक छ।

अक्टुबर क्रान्तिको पाठबाट आजको कम्युनिस्ट आन्दोलनले के सिक्नुपर्छ ? योचाहिँ एउटा गम्भीर बहसको विषय हो। म के सोच्छु भने यो लेनिनको काल होइन। लेनिन वा अक्टुबर क्रान्तिको सामयिकताको कुरा गर्दा आजभन्दा अघिल्लो युगको सन्दर्भ र विचारहरूको सामयिकता सम्झनुपर्छ।

हिजोको युगको तुलनामा हामी गतिमा कति अगाडि बढिसकेका छौं भन्ने हेरेपछि मात्रै अक्टुबर क्रान्तिको सान्दर्भिकताको छलफल सार्थक हुन्छ। अक्टुबर क्रान्तिले स्थापित गरेको बोल्सेभिक समाजदवादको बेग्लै विमर्श छ, आन्दोलन र राज्यबारे एकप्रकारको सोच छ। आज लेनिनले बाँचेको युग नै हामीसँग नरहेपछि त्यसका सान्दर्भिकताहरूमाथि पनि प्रश्नहरू अवश्य उठ्छन्। त्यसका संकल्पहरू र त्यसले निर्माण गरेको समाजवादी विमर्शको निरन्तरताका सन्दर्भमा अक्टुबर क्रान्ति आज पनि सान्दर्भिक छ।

अक्टुबर क्रान्तिले समाजवादको वास्तविक प्रयोग गरेको युग भने अहिले छैन। यद्यपि यो धेरै विवादित विषय हो। धेरै मान्छे आजको युगलाई लेनिनको युग वा लेनिनले भनेअनुसार साम्राज्यवादको युग भन्छन्। तर, न साम्राज्यवादको स्वरूपका अर्थमा, न राज्यको चरित्रका अर्थमा, न आजको मान्छेको चेतनाका अर्थमा, न संगठनात्मक पद्दति सञ्चालनका अर्थमा यो युग लेनिनको युग हो। आजको समाज, समय र मान्छेको चेतना अक्टुबर क्रान्तिको समयभन्दा धेरै अघि बढिसकेको छ। तसर्थ यो युगलाई उत्तर बोल्सेभिक युगका रूपमा विश्लेषण गर्न सकिन्छ।

अक्टुबर क्रान्तिको चर्चा गर्दा उत्तर बोल्सेभिक समाजवादी विमर्शलाई पनि सँगसँगै लैजानुपर्छ। आज पनि अक्टुबर क्रान्ति वा बोल्सेभिक समाजवादको विमर्शभित्र मात्रै अल्झिरह्यौं भने हामी कहीँ पनि पुग्दैनौं। पुराना विमर्शमा रोकिएर आरोप-प्रत्यारोप गर्ने, टुट्ने-फुट्ने तर अघि नबढ्ने समस्या कम्युनिस्ट आन्दोलनले भोगिरहेको छ, त्यसबाट हामी मुक्त हुनुपर्छ।

आजको कम्युनिस्ट आन्दोलनले चुनावदेखि चुनावसम्मको औपचारिकताभित्र बस्ने र बजारलाई राज्य सुम्पने व्यवस्थाको विकल्प खोज्नुपर्ने बेला आएको छ। श्रमजीवी वर्गका पक्षमा आज फेरि अक्टुबर क्रान्तिजस्तै अर्को 'ब्रेक' चाहिएको छ। अक्टुबर क्रान्तिपछि सोभियत संघमा स्टालिनहरूले गरेको अभ्यास बोल्सेभिक मोडलका रूपमा चिनियो।

स्टालिन एक मुलुकमा मात्रै समाजवाद सम्भव छ भनेर अघि बढे तर अर्का नेता ट्राटस्कीले आजको जमानामा एउटै मुलुकमा मात्रै समाजवाद स्थापना सम्भव छैन भने। आजको पुँजीवाद र साम्राज्यवादको युगमा एउटै मुलुकमा समाजवाद सम्भव छैन भन्ने ट्राटस्कीको तर्क अर्थराजनीतिक हिसाबले सबैभन्दा ठीक थियो।साम्राज्यवादको युगमा एक ठाउँ वा एक मुलुकमा समाजवादको स्थापना गर्न र त्यसलाई टिकाउन खोज्दा साम्राज्यवादविरुद्धको सैन्य तयारी पनि एकै मुलुकमा गर्नुपर्छ, सैन्य ढाँचाको प्रशासन वा राज्ययन्त्र बनाउनुपर्छ, पार्टी आफैं युद्ध प्रशासकहरूको संगठनजस्तो बन्दै जान्छ।

ट्राटस्कीले यसैलाई ध्यानमा राखेर एउटै मुलुकमा मात्रै समाजवाद सम्भव नहुने विचार राखेका थिए। व्यवहारमा सोभियत संघमा त्यस्तै भयो। अक्टुबर क्रान्तिपछि सोभियत संघमा समाजवाद स्थापना भयो, त्यसले साम्राज्यवादविरुद्ध युद्ध गर्नुपर्ने भयो। संसारका सारा ठाउँमा उसले युद्ध र क्रान्तिको जिम्मा लिन थाल्यो। उदाहरणका लागि निकारागुवाको क्रान्तिको चिन्ता पनि उसले सोभियत संघबाटै गर्नुपर्ने भयो, अमेरिकी साम्राज्यवादविरुद्धको युद्धको दायित्व पनि उसैले लिनुपर्ने भयो।

युद्धका सारा तयारीहरू र क्रान्तिका सबै जिम्माहरू उसले सोभियत संघका जनताका रगत-पसिनाको भरमा गर्न थाल्यो, जसले गर्दा पार्टी र राज्यमा युद्ध-कर्मचारीतन्त्र हावी हुँदै गयो र समाजवादी राज्य जनताको पहुँचबाट अलग हुँदै गयो। र, अन्ततः यल्त्सिनले जुल्फी हल्लाई-हल्लाई त्यसलाई खाइदियो। यी प्रयोग र परिणतिहरूलाई ध्यानमा राख्ने हो भने यसले हामीलाई एउटै देशमा समाजवाद स्थापना हुँदैन भन्ने निष्कर्षमै पुर्‍याउँछ।

अक्टुबर क्रान्तिका उत्तराधिकारी आजका कम्युनिस्ट पार्टीहरूले आजको पुँजीवादलाई कसरी साँघुर्‍याउने भनेर सोच्नुपर्छ। विश्व पुँजीवादलाई नेपालभित्र मात्रै साँघुर्‍याउन सम्भव छैन।

यो संसारैभरि साँघुरिँदा नेपाली कम्युनिस्ट आन्दोलनले पनि कति योगदान दिनसक्छ भनेर हामीले सोच्नुपर्छ । लेनिनको समयको आन्दोलन र अक्टुबर क्रान्तिपछिको प्रयोगले यसरी सोचेन। अग्रदस्ताले क्रान्ति नेतृत्व गर्छ, एउटै मुलुकमा समाजवादी व्यवस्था स्थापना हुन्छ र टिक्छ भन्नेजस्ता अक्टुबर क्रान्तिपछिका सोचहरू अहिलेको साम्राज्यवादको चरित्रका सन्दर्भमा फरक छन्। तसर्थ यो युगलाई उत्तर बोल्सेभिक युगका रूपमा परिभाषित गरिनुपर्छ र अब विश्व समाजवादको बहस अगाडि बढाउनुपर्छ। हिजो सर्वहारावर्गको पार्टी स्वयं र स्वतः लोकतान्त्रिक हुन्छ भन्ने असाध्यै आदर्श मान्यतामा विश्वास गरिन्थ्यो।

लेनिनको संगठनको सिद्धान्तमा सर्वहारावर्गको पार्टीलाई निकै आदर्श रूपमा प्रस्तुत गरिएको छ। तर पछिल्ला अभ्यासहरूमा सर्वहाराको पार्टी नै सर्वहारा लोकतन्त्रको विरुद्धमा गएका थुप्रै आन्तरिक उदाहरणहरू देखिए। कहिलेकाहीँ त बाह्य रूपमा पनि त्यस्तो देखियो। उदाहरणका लागि अंग्रेजविरोधी आन्दोलनमा भारतीय कम्युनिस्टहरूको ऐतिहासिक भूमिका थियो तर उनीहरूले त्यसको अपनत्व स्वीकारेनन्।

स्वतन्त्रता र गणतन्त्रका लागि कम्युनिस्टहरूको रगत-पसिना बग्यो तर स्वतन्त्रता र गणतन्त्र स्थापना भएपछि त्यो सबै प्रतिक्रियावादीहरूको हो भनेर भारतीय सर्वहारा इतिहासमा आफ्नो भन्नु केही नरहने गरी बाहिर परे। भारतीय कम्युनिस्ट आन्दोलन स्वतन्त्रता संग्रामको उपलब्धि जति सबै जवाहरलाल नेहरूलाई दिएर आफूले आँसु, रगत, बन्दुक, बारुद, संकल्पमात्रै लिएर बस्यो।

नेपालकै सन्दर्भमा पछिल्लो परिवर्तनमा माओवादी आन्दोलनको ठूलो योगदान छ तर मोहन वैद्य र नेत्रविक्रम चन्द 'विप्लव'ले अहिलेका उपलब्धिहरूलाई 'यो सबै प्रतिक्रियावादीहरूको हो' भनेर पहिले कांग्रेस-एमालेको र पछि एमाओवादीको पोल्टामा हालेर आफू रित्तो हात भइरहेका छन्। लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने तर आफ्नो नठान्ने यो परम्परा कहीँ न कहीँ बोल्सेभिक क्रान्तिपछिकै अभ्यास, त्यसको संगठनात्मक तरिका, राज्यसम्बन्धी अवधारणाबाट प्रेरित छ।क्रान्तिको तरिका, साम्राज्यवादको विश्लेषण, लोकतन्त्रको अभ्यास गर्ने सन्दर्भमा आज हामी अलग परिस्थितिमा छौं। इतिहासका हरेक प्रयोगहरू सधैंभरि उत्तिकै र उही स्तरमा सान्दर्भिक हुँदैनन्। न त ती सम्पूर्ण रूपमा सही र युगयुगका लागि उत्तिकै ठीक हुन्छन् ।

अक्टुबर क्रान्ति यो धर्तीको यस्तो प्रयोग थियो, जो मान्छेलाई समान बनाउने समाजवादका आदर्शहरूतर्फ धर्तीलाई एक्कैपटक जगाउन फुकिएको भयंकर विगुल थियो। तर, त्यही हिसाबले त्यो प्रयोग आज पनि उत्तिकै सही छ भनेर सोच्नु एकप्रकारको पुरातन चिन्तन हुन्छ।

त्यो समय र सन्दर्भबाट युग धेरै अगाडि बढिसक्यो भन्ने बोध गरियो भने नै त्यसको सही मूल्यांकन गर्न सकिन्छ।

आज हामी यो कथित लोकतन्त्रका नाममा चुनावदेखि चुनावसम्म जाने, १८ वर्ष उमेर पुगेकाले भोट खसाल्ने र बजारलाई राज्य चलाउन दिने व्यवस्थाभित्रै क्रान्तिकारिता र समाजवाद खोजिरहेका छौं । यो आजको दक्षिणपन्थको शीतलहरी हो। मूलधारको लोकतन्त्रमा कम्युनिस्ट आन्दोलनको मुख्य बहस यही शीतलहरीमाथि हुनुपर्ने हो।

समाजवाद आज फेरि उहिलेको र असम्भव कुरा हो भनेजस्तो भएको छ। जसरी हिजो समाजवाद अकल्पनीय ठानिएको बेला लेनिनको नेतृत्वमा अक्टुबर क्रान्ति भएर त्यो धर्तीको सम्भव विषय भयो, त्यसरी नै आजको कम्युनिस्ट आन्दोलनले चुनावदेखि चुनावसम्मको औपचारिकताभित्र बसेर बजारलाई राज्य सुम्पने व्यवस्थाको विकल्प खोज्नुपर्ने बेला आएको छ।

श्रमजीवी वर्गका पक्षमा आज फेरि अक्टुबर क्रान्तिजस्तै अर्को 'ब्रेक' चाहिएको छ। समाजवाद अकल्पनीय ठानिएको बेलामा लेनिनले गरेको 'अक्टुबर ब्रेक'जस्तै आजको समाज र आजको कम्युनिस्ट आन्दोलनलाई त्यस्तै नयाँ प्रयोगको खाँचो छ। त्यो सम्भव किन छ भने हिजो अक्टुबर क्रान्ति सम्भव भएको इतिहास हामीसामु छ। अन्नपूर्ण पोस्टबाट



प्रकाशित: २०७२ कार्तिक २१
November 7th 2015

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार