नेपाली समय: १०:५५:४४ बिहान
वि.सं २०७६ मंसिर २९   आइतबार

१३ अर्ब रुपैयाँमा नागढुंगा नौबिसे सुरुङमार्गः आज ठेक्का सम्झौता हुँदैं

निर्माण सञ्चार, ६ भदौ, काठमाडाैँ । नागढुंगा नौबिसे सुरुङमार्ग निर्माण सम्झौता हुने भएको छ। सरकार र जापानी कम्पनी हाज्मा आन्द्रो जेभी सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता गर्न लागिएको नागढुंगा सुरुङमार्ग प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए।

नागढुंगा सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता गर्न जापानी कम्पनी एक साता अघि नेपाल आएको थियो। असोज १ गते सम्झौता गर्ने तयारी गरिएको थियो। तर, बैंक ग्यारेन्टीको कागजातमा लाभग्राहीको नाम सच्याउनुपर्ने भएकाले सोमबार सम्झौता गर्न लागिएको हो। 

 सुरुङमार्ग निर्माणको जिम्मा पाउने कम्पनीले पुरानै नाममा बैंक ग्यारेन्टी तयार गर्दा एक साता ढिलो गरी सम्झौता गर्न खोजिएको छ।जापानको कम्पनी हाज्मा आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा सुरुङमार्ग निर्माण गर्नेछ। सुरुङमार्गसम्बन्धी सोमबार सम्झौता भए पनि निर्माण कार्य भने मंसिरपछि सुरु हुनेछ। निर्माणसम्बन्धी कार्यादेश जारी गर्नु अघि निर्माणसम्बन्धी सम्झौता गर्नुपर्नेछ। निर्माणका लागि बजेटको सुनिश्चिता, पेस्कीका लागि ठेकोदार कम्पनीले बैंक ग्यारेन्टी पनि राख्नुपर्छ। 

सुरुङमार्ग निर्माणको जिम्मा पाउने कम्पनीले ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ।

मुलुककै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गर्न लागिएको नागढुंगा नौबिसे सुरुङमार्ग निर्माणका लागि २०७५ साउन २४ गते ठेक्कामा विश्वव्यापी प्रतिस्पर्धा गराइएको थियो। 



प्रकाशित: २०७६ आश्विन ६
September 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार