नेपाली समय: ०६:४४:५८ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

भ्रमण वर्ष मनाउन प्याकेजसहितको तयारी सुरु, जिल्लाभरि मात्र १५ हजारमा घुम्न पाइने

निर्माण सञ्चार, २५ भदौ, काठमाडौं । पूर्वी जिल्लाका व्यवसायीहरुले आउँदो वर्ष ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउनका लागि तयारी सुरु गरेका छन्। सरकारको अभियानलाई साथ दिनको लागि उनीहरु तादरुकताका साथ तयारीमा लागेका छन्। भ्रमण वर्ष सफल बनाउनकै लागि मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘टुरिजम प्याकेज’ बनाउने कामसमेत थालेका छन्।     

पर्यटन व्यवसायीहरुको भेलाले राजेन दङ्गालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा देवी पौड्याल, महासचिवमा अर्जुन कार्की, सचिवमा खेमराज सिटौला र कोषाध्यक्षमा कमला रिजाल चयन भएका छन्।    

समिति निर्माण गर्दै पर्यटन व्यवसायीले भ्रमण वर्ष सफल बनाउन सबै तह र तप्काबाट लाग्न सबैलाई आह्वानसमेत गरेका छन्।

भ्रमण वर्ष सफल बनाउन जिल्ला–जिल्लामा समिति गठन गर्ने र सम्बन्धित संस्थासँग समन्वय गरेर आउने पर्यटकका लागि राम्रो व्यवस्था मिलाउने बारेमा समेत छलफल भएको पर्यटन व्यवसायी देवी पौड्यालले जानकारी दिइन्।।     

पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि इलाम जिल्लाभरिको ‘टुरिजम प्याकेजिङ’ समेत निर्माण गरेका छन्। इलाम भ्रमणमा आउने पर्यटकको बसाइ सहज बनाउनका लागि जिल्लाका उत्कृष्ट पर्यटकीय गन्तव्य भ्रमण गराउने गरी प्याकेज बनाइएको हो।

प्याकेजमा १५ हजार रुपैयाँमा इलाम जिल्लाभर घुम्न सकिनेछ। त्यसका लागि इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, माईपोखरी, सिद्धिथुम्का, ढापपोखरी, हागे थाम, गजुरमुखी लगायतका क्षेत्र रहेको पर्यटन व्यवसायी पौड्यालले जानकारी दिइन्।    



प्रकाशित: २०७६ भाद्र २५
September 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार