नेपाली समय: ०६:१३:०४ बेलुका
वि.सं २०८३ बैशाख १६   बुधवार

इन्जिनियर न्यौपाने भन्छन्– ‘राष्ट्रिय महत्त्वका आयोजनालाई संकटग्रस्त घोषणा गरिनुपर्छ’

निर्माण सञ्चार, काठमाडौं साँढे १२ हजार निर्माण व्यवसायी भएको देश नेपालमा निर्माण व्यवसायीको क्षमतामाथि विश्वास गर्न नसकेर फास्ट ट्र्याक बनाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।

सेनाले जिम्मा लिएको ४ महिना बितिसक्ता पनि भारतीय कम्पनीले तयार पारेको डिपिआर लिने कि नलिने भन्नेमा अझै टुंगो लागेको छैन । डिपिआरमै करोडौं लिनदिनको चलखेल सुरु भइसकेको छ । सरकारी यो रबैया निजी क्षेत्रको भविष्य सक्ने दिशातिर उन्मुख भएको व्यवसायीको गुनासो बढिरहेको छ ।

उनीहरु अन्य राष्ट्रिय महत्त्वका धेरै आयोजनाहरुमा पनि छिटै नै सेनाको प्रवेश हुन सक्ने बताइरहेका छन् । यतिबेला सेना व्यपारी सेना कि, कल्याणकारी सेना बनाउनेबारे नयाँ ‘डिबेट’ पनि जन्मिएको छ ।

नेपाली निर्माण क्षेत्रका समस्या के के होलान् ? एकछिन घोत्लेर सोच्ने फुर्सदसम्म छैन नीति निर्माताहरुलाई ?

अर्काेतिर नेपालको निर्माण उद्योगको कहालीलाग्दो तस्वीर के छ भने, देशैभरका ठुल्ठूला निर्माण काई ७–१० निर्माण व्यवसायी र सरकारी सचिव र मन्त्री स्तरबाटै ‘प्याकेज डिल’का नाउँमा लुट्धन्दाका रुपमा विकास भइरहेको छ भने अर्काेतिर, ४४ ओटा पुलहरु एउटै कम्पनीलाई दिने सरकार बन्दा नबन्दै, हस्तान्तरण नै नहुदै भाँचिएको पुलको नियमन गर्न उदासीन देखिन्छ ।

यो भन्दा दुर्दशा निर्माण उद्योगको के हुन सक्ला र ?

सरकारले वार्षिक ६० प्रतिशत भन्दा बढी बजेट विकास खर्चका लागि छुट्याउँछ तर नेपालको विकास कस्तो छ भनेर हेर्न एक दिन राजधानीका भत्केका सडकहरुलाई हेर्दा मुखभरि छारो र धुलो खाए थाह भैहाल्छ ।

वास्तविक विकास बजेट भने कि काम ठग्नेहरुका खल्तीमा कि ठुला नेताहरुको गोजीमा कि कमिसनमा खर्च भएर सकिन्छ । त्यति गर्दा नसकिए ‘फ्रिज’ भएर फर्कन्छ बजेट ।

OOO

पूर्वाधार क्षेत्रमा नयाँ विषय हो टनेल पूर्वाधार । हाइड्रोदेखि हाइवेसम्म नै टनेलका धेरै कुरा उठिसकेको नेपालमा टनेलबारे सरकार नै गम्भीर छैन ।

‘नेपाल पूर्वाधार विकासको असीम सम्भावना रहेको देश हो’ भन्छन् टनेल विज्ञ समेत रहेका इन्जिनियर श्रीराम न्यौपाने ।

‘नेपाली पूर्वाधार विकासमा यस्ता याबत् समस्या छन् र पनि सुनौलो सम्भावना पनि छ, तर सरकार भने भाविष्य तर्फ चिन्तित नदेखिदा नै हामी चिन्तित बनिरहेका छौं ।’

उनी नेपालको पूर्वाधार विकासमा टनेलको सुनौलो भविष्य देख्छन् । यस भित्रको मुख्य समस्या भने दूरदर्शी भिजन नहुनु, नीतिगत अस्पष्टता रहनु र भावी सन्तानका लागि सोचेर अहिलेदेखि नै योजना नबनाउनु रहेको बताउँछन् । निर्माणकै अभिन्न पाटो सुरुङमार्गका विषयमा सुरुङ विज्ञ न्यौपानेले निर्माण सञ्चारलाई बताए—

नेपालमा सुरुङको सम्भावना र अवसर देख्नु हुन्छ ?

एकदमै देखिरहेको छु । त्यसैले त सबै काम छाडेर टनेलमै पिएचडी गर्दै छु ।

सम्भावनाका दृष्टिकोणले हेर्ने हो भने हामी कति समयका लागि कस्तो सुरुङ मार्गको प्रयोग गर्न चाहन्छौं भन्ने कुरा निर्धारण हुनुपर्छ ।

विकसित राष्ट्रले समुन्द्रमुनि र अन्तरिक्ष मार्गका लागि समेत सुरुङ मार्गको प्रयोग गर्न सुरु गरिसके भने हामी त सुरुङ मार्गको सुरुआती चरणमा छौं ।

त्यसैले हाम्रा लागि उपयुक्त र कम खर्चमा निर्माण गर्न सकिने सुरुङ मार्ग भनेको जमिनमा आधारित सुरुङ मार्ग नै हो । राज्य संघीय संरचनामा गैरहेको अवस्थामा शहर तथा नगरको विकास हुने क्रम जारी छ ।

यसरी नगर तथा शहरलाई भौगोलिक रुपमा द्रूत गतिमा जोड्न सक्ने माध्यम भनेको सुरुङ मार्गले नै हो । त्यसैले सम्भावनाका दृष्टिले हर्ने हो भने नेपाल सुरुङ मार्गका लागि प्रशस्त सम्भावना भएको देश हो ।

कसरी ?

किनकि, हाम्रा दुई ठूला छिमेकी राष्ट्रसँगको यातायात मार्गका लागि पनि सुरुङले महत्त्वपूर्ण भूमिका खेल्छ । यसले गर्दा भारतसँग मात्र निर्भर रहेको नेपालको व्यापारिक सम्बन्ध चीनसँग पनि अगाडि बढाउन सहज बनाउँछ ।

अहिले हामीले अभ्यास गरिरहेको अव्यवस्थित सडक विस्तारका कार्यक्रम छन् ती कार्यक्रमले भूक्षय गर्नुका साथै पर्यावरणमा रहेका प्राकृतिक सौन्दर्यलाई नास गरेका छन् ।

सुरुङ मार्गको विकासले यस्ता समस्याको निराकरणका साथै यात्रा गर्नु पर्ने बाटो छोटो हुने हुँदा हरेक व्यक्तिको कार्यक्षमतामा समेत वृद्धि गर्दछ ।

सुरुङमार्गका लागि आवश्यक उपकरण कत्तिको भित्रिएका छन् त ?

नेपाल अहिलेसम्म यस्ता औजार–उपकरण बनाउन सक्ने हैसियतको देशै बनेको छैन । भित्राउनु बाहेक हाम्रो अर्काे सोच पनि भएन ।

तर युरोपमा बनेका अत्याधुनिक हाइटेक टनेलिङ इक्विप्मेन्ट नेपालमा पहिलो पटक मेगाटेक प्रा.लिले भित्र्याएको छ । यतिबेला देशमा करिब ४०० किलोमिटर जति सुरुङ मार्ग निर्माणधीन छन् ।

अत्याधुनिक सुरुङ उपकरणको आयात सहज नभएका कारणले पनि सुरुङको काममा ढिलासुस्ती आएको छ । नेपालमा भित्राउनै समस्या परेको आजको अवस्था हो ?

नीतिगत समस्याले गर्दा हो कि ?

एकदमै नीतिगत समस्या नै भन्दा फरक पर्दैन ।

कुनै पनि व्यवसायीले नेपालमा यस्ता प्रकृतिका उपकरण भित्र्याउनु भनेको राज्य निर्माणमा टेवा पुग्नु हो तर हाम्रोमा नेपाली निर्माण व्यवसायीलाई उपकरण भित्र्याउन सहज छैन अनि कसरी हुन सक्छ गुणस्तरीय निर्माण ?

जबकि सुरुङका उपकरणलाई कुन वर्गमा राख्ने भनेर अझसम्म भन्सार कार्यालयले वर्गीकरण गर्न सकेको छैन ।

अझ गम्भीर कुरा के छ भने विदेशी निर्माण व्यवसायीले नेपालमा सुरुङ उपकरण भित्र्याउँदा १ प्रतिशत मात्र भन्सार कर तिरे पुग्छ तर नेपालीले २२.५ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ ।

राज्यले साँच्चै नै नेपालको विकास नै गर्ने हो भने नेपाली निर्माण व्यवसायीले भित्र्याउने उपकरणमा कर सहुलियत दिने नीति समेत ल्याउन जरुरी छ ।

त्यति मात्र नभएर निर्माण उपकरणको प्रकृति हरेर अत्याधुनिक उपकरण भएमा त्यस्ता उपकरणमा राज्यले अनुदान समेत उपलब्ध गराउनु पर्छ ।

त्यस्तै भन्सारका कर्मचारीलाई निर्माण उपकरण बारे जानकार बनाउन पनि जरुरी देखिन्छ ।

भन्सारका कर्मचारी निर्माण उपकरणका बारेमा अनभिज्ञ छन् भने सरकारी संयन्त्रको ढिलासुस्तीले पनि भन्सार छुटाउने काममा अत्याधिक समय खर्चिनुपर्ने अवस्था छ ।

यस्ता उपकरण चलाउने क्षमताका हिसाबले नेपालमा निर्माण व्यवसायीको अवस्था कस्तो छ त ?

उपकरण चलाउने क्षमताका हिसाबले नेपालमा निर्माण व्यवसायीको अवस्था खासै सन्तोषजनक छैन ।

जहाँसम्म नेपालमा निर्माण अवसरको कुरा छ, नेपालको पूर्वाधार निर्माणका लागि यो समय भनेको अत्यन्त उपयुक्त समय हो ।

अहिले धेरै निर्माण व्यवसायी निर्माण क्षेत्रमा काम गरिहनु भएको छ । तर सरकारले निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्ने कार्यमा भने त्यति चासो दिएको देखिदैन ।

सधैं विदेशी निर्माण व्यवसायी, विदेशी परामर्शदाता तथा विदेशी उपकरण भनिरहनुभन्दा पनि स्वदेशी निर्माण व्यवसायीलाई कसरी क्षमतावान् बनाउन सकिन्छ भन्नेतिर राज्यको ध्यानै गएको देखिदैन ।

सुरुङ/टनेल निर्माण सम्बन्धी नीतिहरु पाउनु भएको छ ? कि बनेकै छैनन् ?

एकदम ठिक समस्या उठाउनुभयो ।

सार्वजनिक खरिद ऐन नै परिपक्व नभइसकेको यो देशमा सडक बनाउने नीति त पूर्ण परिपक्व बनेको छैन भने टनेल निर्माणबारे यो देशले सोच्न भ्याएको होला र ?

किमार्थ ठुला उपकरण नीतिबारे सरकार त के निर्माण व्यवसायी र यस क्षेत्रको मै हुँ भन्नेले समेत सोचेकै छैन । नीति त परै जाओस् ।

निर्माण क्षेत्रमा सरकारले कस्तो जनशक्ति आवश्यक पर्छ, कस्तो निर्माण सामाग्रीको प्रयोग हुनुपर्छ भन्ने विषयमा स्पष्ट धारणा ल्याउन जरुरी छ ।

बनेका सुरुङ मार्गको गुणस्तरका विषयमा नियमन गर्ने निकाय कुन हो त भन्ने बारे सरकार अझसम्म पनि प्रस्ट छैन ।

त्यसैले भौतिक पूर्वाधार मन्त्रालयमा सुरुङको सम्पूर्ण काम कारवाही गर्ने डेस्क अथवा विभाग नै खडा गर्न अत्यन्त जरुरी छ । जबकि, समग्र निर्माण क्षेत्रको अभ्यास हेर्दा यहाँको टेन्डरको प्रक्रिया नै गलत छ ।

हामी सबैभन्दा लो बिडिङलाई टेन्डर अवार्ड गर्छौं अनि काम चाहिँ गुणस्तरीय होस् भन्ने अपेक्षा गर्छौं जुन कुराको सम्भावना अत्यन्त न्यून छ ।

त्यस्तै, राज्यले निर्माण क्षेत्रमा स्वदेशी निर्माण व्यवसायीलाई आकर्षित गर्ने नीति समेत स्पष्ट रुपमा ल्याउनै सकेको छैन । न त स्पष्ट पूर्वाधार विकासको आकर्षक खाका नै दिन सकेको छ ।

नेपालमा सुरुङ मार्ग त चल्ला र, बनाउने सम्भावना पनि त कमै छ नि हैन र ?

त्यस्तो हैन, सुरुङ मार्ग किन र कस्तो कामका लागि प्रयोग गर्ने भन्ने हामीकहाँ आवश्यकता नै महसुस भएको देखिन्न । आवश्यकता बनेपछि केका लागि र कसरी भन्ने भइ नै हाल्छ ।

कुरा के भने, हाल झन्डै ४०० किमि सुरुङमार्ग निर्माणाधीन छन् भने दशौं हजार किमि सुरुङ मार्ग निर्माण गर्न सकिने अवसर हामीसँग छ ।

सम्भावना पहिचान नभएको मात्र हो ।

नेपालमा सुरुङ मार्ग कुन कुन कामका लागि अत्यावश्यक छ भनेर हेरौं न, ग्याँस तथा पेट्रोलियम पदार्थको ढुवानीका लागि यही बाटो नै सुरक्षित र भरपर्दाे हुने हो भनेर बुझेको खै ?

जलविद्युत्को क्षेत्रमा, सिचाईंका क्षेत्रमा समेत सुरुङ मार्गको प्रयोग अति आवश्यक छ ।

त्यस्तै प्राकृतिक सौन्दर्य कायमै राखी सडक तथा रेलवे, खानेपानी, खानी जस्ता विभिन्न क्षेत्रका लािग पनि सुरुङ मार्ग नै उपयुक्त हुन्छ भन्ने हामीले बुझ्ने बेला भएको हैन र ?

संघीय संरचनामा विकास निर्माणको कार्य विभाजन कसरी गर्दा उचित होला ?

एकदम समसामयिक कुरा गर्नु भयो । संघीय संरचना बुझ्नेका लागि श्रीखण्ड नबुझ्नेका लागि खुर्पाको बिंड बन्ने देखिन्छ ।

संघीय संरचना समाजशास्त्रीय सिद्धान्त पनि हो, र साथसाथै विकास र अवसर वितरण गर्नका लागि उपयुक्त माध्यम पनि हो ।

समाजशास्त्रीय हिसाबले भन्नु पर्दा यसले समाजकका सबै तह र तप्का, वर्ग, लिंग र जात विशेषसम्म पनि नेतृत्व विकास गर्न, समाज भित्र रहेका द्वन्द्व हल गर्दै विकासको मूलधारमा जनतालाई ल्याउन प्रयोग गर्ने कि राजनीतिको कमाइ खाने भाँडो बनाउने भन्नेमा नेताहरु प्रस्ट हुन जरुरी छ ।

अब रह्यो विकासका हिसाबले संघीय संरचनाका फाइदा बेफाइदाहरु ।

देश र भूमि आफैमा गलत हुन्नन् । सञ्चालकहरु गलत छन् भने उपयुक्त व्यवस्था पनि असफल बनेका कयौं उदाहरण छन् ।

त्यसैले संघीय संरचना आफैमा ठिक वा बेठिक भन्नु भन्दा पनि हामीले यसभित्र हाम्रो सम्भावनालाई कसरी ‘मिट’ गर्ने भन्ने सोच्नु पर्छ ।

संघीय संरचनामा प्राविधिक रुपले मात्रै निर्माण कार्य र पूर्वाधार विकास सँग जोडिएका एजेन्सीहरुलाई भागदौड गरायो भने देशको विकास नभई विनास हुन सक्छ ।

हिजो आज इन्जिनियर, कानुन व्यवसायी जस्ता प्राविधिक जनशक्तिहरुलाई संघीय संरचनामा कसरी मिलाएर लैजाने भन्ने बहस उठेको छ ।

यसलाई यसरी नै सैद्धान्तिक र व्यावहारिक रुपले आइडेन्टीफाइ गरेर मात्र संरचना बनाउनु पर्छ जस्तो मलाई लाग्छ ।

निर्माण क्षेत्रमा देखिएको आजको समस्या हल गर्न कस्तो विधि अपनाउनु पर्ला ?

नेपालले अब त विदेशमा रहेको टेन्डरको प्रक्रियाई हेरेर पनि सिक्न जरुरी छ ।

विदेशमा सर्वप्रथम निर्माण व्यवसायीको प्राविधिक क्षमतालाई हेरेर नै आयोजनाको टीओरमा गुणस्तरको मात्रा तोकिएको हुन्छ तर हाम्रो बिडिङ नै लोएस्ट गरिन्छ । अनि गुणस्तर कसरी कायम हुन सक्छ ?

निर्माण क्षेत्रलाई तपाईले नजिकबाट हेर्नु भयो भने अहिलेसम्म विभिन्न आयोजना होल्ड गर्ने निर्माण व्यवसायी भनेको लो विडिङमा जानेले नै ७० प्रतिशत आयोजना होल्ड गरेका छन् ।

राम्रो काम गर्ने निर्माण व्यवसायीले हात बाँधेर बस्नुपर्ने अवस्था छ ।

नेपालको विकास निर्माण द्रूत गतिमा अघि बढ्न नसक्नुमा निर्माण क्षेत्रको मियो इन्जिनियर हुनुपर्नेमा अहिले नेता र कर्मचारी चाहिँ यसको मियो बनेको देखिन्छ । यो प्रोफेसनालिजम नै होइन ।

जसले गर्दा नेपाल विकासको गतिमा अघि बढ्न सकेको छैन ।

सरकारले साँच्चे नै विकासको गतिलाई अगाडि बढाउने हो भने राष्ट्रिय महत्त्वका आयोजनालाई संकटग्रस्त आयोजना घोषणा गरिनु अत्यन्त जरुरी छ ।

यसको मतलब सेनालाई नै दिनु पर्छ भन्ने हो ?

संकटग्रस्त भन्नुको मतलब सेनाको पनि कहि न कहिँ संलग्नता भन्ने नै हो ।

किन सेनालाई भन्ने प्रश्न उठ्न सक्छ । नेपाली निर्माण व्यवसायीलाई सरकारले पूरै पत्याउन पनि नसक्ने, निर्माण व्यवसायीले पनि पूरै गर्न सक्छु भनेर हिम्मत पनि गर्न नसकेको आजको अवस्था हो ।

विकास त गर्नु छ । विकास निर्माणका काम गर्दा पैसा असुल्नेदेखि काम गर्नै नदिने जस्ता विघ्न बाधाहरु छन् जसले गर्दा निर्माण व्यवसायीहरु पनि हिम्मत गरेर अघि बढ्न सकेका छैनन् ।

भनेपछि यो समस्या हल गर्न त कहि न कहिँ दुवै पक्षको तालमेल मिलाउनु नै बुद्धिमानी हुन्छ ।

संकटग्रस्त घोषणा गरिएका आयोजनामा सेनालाई व्यवस्थापनको काम चाहिँ जिम्मेवारी दिने हो नकि सम्पूर्ण निर्माण कार्य दिएर उसैलाई ठेकेदार बनाउने भन्ने हो ।

यसले गर्दा निर्माणका काम द्रूत गतिमा हुन्छ । सरकारले रोहबर गर्ने, निजी क्षेत्र इमानदार भएर काम गर्न जाने र सेनाले सुरक्षा व्यवस्था नगर्ने हो भने नेपालको गौरवका आयोजनाहरु रौरब (नर्क) मात्र बन्ने सम्भावना नकार्न सकिन्न ।

अहिलेको समस्या भनेको सरकार काम दिएको छु भन्छ । निर्माण व्यवसायीले पनि काम नलिएका होइनन् । देशैभर प्याकेज डिल गर्न भ्याएकै त छन् ।

अनि बाटो भत्किन पनि छाडेको छैन, बाटो पनि पूरै बनेको छैन । काम पनि नदेखिने, काम गर्न पनि नछाड्ने यस्तो अवस्थाबाट त निर्माण क्षेत्रलाई माथि उठाउनै पर्छ नि हैन र ?

काम दिएको भन्ने नाउँमा क्षमताहीन उपभोक्ता समितिलाई ठेक्का दिएर पनि त देश उँभो लाग्दैन नि ।

 

...

बिहीबार, २९ भदौ, २०७४

 



प्रकाशित: २०७४ भाद्र २८
September 13th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार