
तीन वर्षभित्र सबै पालिका केन्द्रसम्म सडक कालोपत्रे गरिने
निर्माण सञ्चार, ०५ माघ,काठमाडौँ ।
सवा २ खर्ब आवश्यक, दातृ निकायसँग सहयोग माग्ने तयारी
- बाह्रै महिना सवारी सञ्चालनका लागि ४ हजार किलोमिटर कालोपत्रे गर्नुपर्ने
- अझै २६८ स्थानीय तहका केन्द्रसम्म नियमित सवारी सञ्चालन हुँदैन
- उच्च हिमाली र पहाडी क्षेत्रका ६१ स्थानीय तहका केन्द्र सडक सञ्जालबाहिर
- माघभित्र प्रदेशमा कार्यालय स्थापना गरी फागुनभित्र योजना छनोट प्रक्रिया थालिने
स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानी जोड्ने सबै सडक कालोपत्रे गर्न (कालोपत्रे भइसकेका बाहेक) २ खर्ब २७ अर्ब आवश्यक हुने राष्ट्रिय योजना आयोगको अनुमान छ । आयोगले प्रकाशित गरेको पन्ध्राैँ पञ्चवर्षीय योजनामा पनि यही लागत उल्लेख गरिएको छ । पन्ध्रौँ पञ्चवर्षीय योजनामा यस कार्यक्रमलाई रूपान्तरणकारी योजनाका रूपमा समेत समावेश गरिएको छ । स्थानीय पूर्वाधार विभागका अधिकारीका अनुसार अहिले दातृ निकायहरूसँग सहयोगका लागि कुराकानी भइरहेको छ । केही दातृ निकाय र देशहरू इच्छुकसमेत रहेको अधिकारीहरूको भनाइ छ । थप ४ हजार किमि कालोपत्रे गर्नुपर्ने
देशभरका सबै स्थानीय तह केन्द्रमा बाह्रै महिना चल्ने गरी सडक निर्माण गर्ने हो भने ४ हजार किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेछ । यो अहिले कालोपत्रे भइसकेको सडकबाहेक हो । त्यस्तै, न्यूनतम पनि १ सय ३३ वटा पुल निर्माण गर्नुपर्नेछ । नेपालमा औसत ३० किलोमिटरको फरकमा एउटा पुल राख्नुपर्ने विभागका उपमहानिर्देशक साहले जानकारी दिए । ‘यो संख्या भौगोलिक अवस्थितिअनुसार थपघट भने हुनेछ,’ उनले भने ।

स्थानीय तह केन्द्रदेखि प्रदेश राजधानीसम्म जोड्ने सडक कार्यक्रमका लागि चालू आव ०७७/७८ मा ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । भर्खरै कार्यविधि आएकाले अब कार्यान्वयन थालिने विभागको भनाइ छ । सरकारले आर्थिक वर्ष ०७९/८० मा यो कार्यक्रम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरे पनि सम्भव हुने देखिँदैन । किनकि, तीन वर्षमा कार्यक्रम सम्पन्न गर्नका लागि ७५ अर्ब बजेट विनियोजन हुनुपर्ने देखिन्छ । अहिलेको बजेट विनियोजनले १० वर्षमा पनि कार्यक्रम पूरा हुने देखिँदैन । स्थानीय पूर्वाधार विभागले भने चालू आवदेखि थालनी भएर ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको दाबी गरेको छ । ‘बजेट उपलब्ध नभएको खण्डमा मात्र ढिलो हुनेछ,’ उपमहानिर्देशक साहले भने । घोषणाको वर्ष दिनपछि कार्यान्वयनको तयारी
संघीय सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेटमै यो कार्यक्रम घोषणा गरेको थियो । त्यसअनुसार प्रादेशिक र स्थानीय सडक सुधारसम्बन्धी कार्यविधि २१ मंसिर २०७६ मा मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो भने स्थानीय निकायले ३० दिनभित्र सडकको पहिचान गरी प्रदेशमा पठाउनुपर्ने व्यवस्था गरिएको थियो । यसका लागि २१ पुसदेखि आवेदन माग थालेको छ । २० माघसम्म स्थानीय तहले आवेदन दिने र कार्यान्वयन प्रक्रिया अघि बढाउन खोजे पनि प्रदेश र स्थानीय तहसँग समन्वय नहुँदा कार्यक्रम नै कार्यान्वयनमा आएको थिएन । तीनै तहका सरकारको लागत सहभागितामा निर्माण हुने
कार्यविधिमा कार्यक्रम छनोट, कार्यान्वयन तथा अनुगमनमा तीनै तहका सरकारको जिम्मेवारी हुने उल्लेख गरिएको छ । त्यसैअनुसार प्रक्रियागत तथा संस्थागत प्रबन्धहरूको व्यवस्था गरिएको छ । स्रोत व्यवस्थापन गर्दा प्रदेश तथा स्थानीय तहले आफ्नो आन्तरिक स्रोत, राजस्व बाँडफाँड तथा समानीकरण अनुदानबाट व्यहोर्नुपर्नेछ । निर्माण हुने सडकको लम्बाइका आधारमा यसरी तीन तहलाई लागत साझेदारी गरिने उल्लेख छ । स्थानीय तहले सडक पहिचान गर्दा लिनुपर्ने आधार
- पहिचान गरिएको सडक सहज, छोटो, कम लागत लाग्ने र सुरक्षित हुनुपर्नेछ ।
- प्रदेश यातायात गुरुयोजना र गाउँ–नगर यातायात गुरुयोजना तयार भएको भए सोको प्राथमिकतामा परेका सडकहरूमध्येको सडक हुनुपर्नेछ ।
- तुलनात्मक रूपमा उच्च प्रतिफल प्राप्त हुने र अधिकतम समुदायलाई सेवा पुग्ने सडक हुनुपर्नेछ ।
- सामाजिक, वातावरणीय तथा भौगर्भिक दृष्टिकोणले उपयुक्त देखिएको सडक हुनुपर्नेछ ।
- सडकको अधिकार क्षेत्र स्पष्ट भइसकेको र पछि कार्यान्वयनमा जाँदा कुनै किसिमको बाधा–अवरोध नआउने हुनुपर्नेछ ।
- सडकले ओगट्ने जग्गाका जग्गाधनीले स्वैच्छिक जग्गादान गर्न तयार रहेको सडक हुनुपर्नेछ ।
- स्थानीय तहले सडकका लागि आवश्यक जग्गा उपलब्ध गराएको हुनुपर्नेछ ।
स्रोतः नयाँपत्रिका
प्रकाशित: २०७७ माघ ५
January 18th 2021
प्रतिक्रिया दिनुहोस्