नेपाली समय: ०७:३२:३४ बेलुका
वि.सं २०८३ भाद्र १   सोमवार

अचानक किन बढ्यो छडको मूल्य ?

निर्माण सञ्चार, २८ पुष,काठमाडौँ । निर्माण सिजन सुरू भएसँगै छडको मूल्य आकासिएको छ। देशव्यापी लकडाउन खुल्दा कम्पनीअनुसार छडको मूल्य प्रतिकिलो ७५ देखि ८५ रूपैयाँ थियो। तिहारपछि लगातार बढ्दै अहिले प्रतिकिलो १ सय १० रुपैयाँसम्म कारोबार भइरहेको छ। 

छड निर्माण कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा बिलेट (छड बनाउने कच्चा पदार्थ) को भाउ बढेकाले हाम्रो बजारमा छडको मूल्य बढेको बताउँदै आएका छन्। ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले भने ठूला व्यवसायीले मिलेमतोमा लगातार मूल्य बढाएको आरोप लगाएका छन्। 

व्यवसायीहरू कमाउधन्धामा लागेका छन्। मिलेमतोमा कार्टेलिङ गरिएको बुझिएको छ, अध्यक्ष कटुवालले आक्रोशित हुँदै भने,छठयता मात्रै २५ प्रतिशत मूल्य बढेको छ। कोरोनाले थला पारेको अवस्थामा मौका यही हो भनेर जथाभावी मूल्य बढाइएको छ ।  

निजी आवास निर्माण सुस्त हुँदा यससँग सम्बन्धित हजारौं साना व्यवसायी मारमा परेको अध्यक्ष कटुवालले बताए। उनका अनुसार घर बनाउन बाध्यता नपरेकाहरू भाउ घट्ला कि भनेर केही महिना कुर्छन्। यस्तोमा निर्माण निकै सुस्त हुन पुग्छ। यो भनेको निर्माणसँग सम्बन्धित थुप्रै व्यवसाय अप्ठ्यारोमा पर्नु हो। 

अन्य निर्माण सामग्रीको तुलनामा छड कम्पनीले मात्रै यसरी अन्धाधुन मूल्य बढाएको बताउँदै उनले बाणिज्य विभागमा छानविनका लागि पत्राचार गरेको बताए। 

विश्व बजारमा हालै मात्र बिलेटको भाउ बढेको हामी सबैलाई जानकारी छ, उनी प्रश्न गर्छन्, अन्तर्राष्ट्रिय बजारमा ५ प्रतिशत मात्रै बढे पनि हामीकहाँ २५ प्रतिशत किन बढ्योरु एक महिनाअघि बिलेट किनेर भाउ बढेपछि बिक्री गर्न पाइन्न।

ग्रिल तथा छड व्यवसायी महासंघले ठूला व्यापारीलाई निरन्तर प्रश्न गरिरहेको भए पनि जवाफ पाउन नसकेको कटुवालले बताए। 


उनी आफ्ना भनाइ यसरी राख्छन्, मानौं, व्यवसायीले प्रतिटन ४५० डलरमा बिलेट किनेको थियो। एक महिनापछि कच्चा बिलेटको भाउ ६५० डलर पुग्यो भन्दै कम मूल्यमा किनेको बिलेटबाट तयारी सामानमा ३० प्रतिशत मूल्य बढाएर बेच्न कसरी पाइन्छ ? 

यता स्टिल व्यवसायी भने अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको आधा मात्रै मूल्य बढेको दावी गरिरहेका छन्। अहिले विश्व बजारमा बिलेटको मूल्य प्रति मेट्रिकटन ५ सय ६० डलरमा कारोबार भइरहेको छ। महिनादिन अघि ४ सय ५० र ६ महिनाअघि ३ सय ५३ डलर मात्रै थियो। 

विभिन्न मूल्यबारे जानकारी दिँदै साखः स्टिलका निर्देशक किरण साखः भन्छन्, ुहामीले पनि अन्तर्राष्ट्रिय मूल्यलाई आधार बनाउने हो। बाहिर बढ्यो भने हामीले घाटा खाएर बेच्न मिल्दैन।

गएको ६ महिनामा तयारी छडको भाउ प्रतिकिलो ६४ रूपैयाँबाट बढेर ८० रूपैयाँ पुग्यो। एक महिनाभित्रै फेरि १० रूपैयाँ बढेर ९० पुगेको निर्देशक साखः बताउँछन्। यो भ्याटसहितको कारखाना मूल्य हो। 

कारखाना मूल्यबाहेक ढुवानी खर्च जोडिन्छ। त्यसमा पनि खुद्रा व्यापारीले धेरै नाफा राखेको हुनसक्छ। महासंघले त्यता पनि विचार गर्नुपर्‍यो, निर्देशक साखःले भने, निर्माणको सिजनले माग बढेको छ। कोरोनाको असर बाँकी नै छ। बजारको विभिन्न चरण अनुगमन गर्न जरुरी छ।

बिहीबारबाट सामान्य मूल्य घट्न थालेको बताउँदै उनले अगाडि थपे, हरेक हप्ता बिलेट आयात हुन्छ। कुनै पनि हप्ता मूल्य एकनास हुँदैन। हिजोबाट बिलेटको भाउ घट्न थालेको छ। हेरौं कतिसम्म पुग्छ। फेरि नेपालमा पनि मूल्य घटिहाल्छ। अर्थतन्त्रको नियम नै यस्तै हो।


०००
स्रोतः सेतोपाटी
 



प्रकाशित: २०७७ पौष २८
January 12th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार