
तत्काल मूल्यवृद्धि फिर्ता नगरे आन्दोलनमा जाने ग्रील व्यवसायी महासंघको चेतावनी
निर्माण सञ्चार, काठमाडौँ | नेपाल संघीय संरचनामा गएसँगै देशले नयाँ गति लिने विश्वासमा रहेको अवस्थामा विकास निर्माणका अति आवश्यक वस्तुहरुको मूल्य अस्वभावनीय ढंगले बढेकोमा ग्रील तथा स्टील व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिँदै आएको फलाम तथा निर्माण सामाग्रीमा केही महिनायता भएको अनियन्त्रित मूल्य वृद्धिका कारण व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।
बुधबार काठमाडौँमा एक पत्रकार सम्मलेन गर्दै महासंघले निर्माण समाग्रीको मूल्य वृद्धिका कारण सम्बन्धीत व्यवसायमा संलग्न १ लाख ६० हजार श्रमिक र आश्रित २० लाख भन्दा बढी व्यक्तिको भविष्य संकटमा परेको बतायो ।
‘ग्रील तथा फलाम र निर्माण सामाग्रीको चरम मूल्य वृद्धि नरोकिदा सम्झौता गरिएका निर्माणधिन आयोजनाहरुको लागत बढेको छ’ महासंघ अध्यक्ष मोहन कटुवालले भने ‘यसले गर्दा उद्योगीले ठूलो घाटा व्यहोर्नु परेको छ ।’
भूकम्प प्रभावितहरुले राज्यबाट पाएको रकमले वृद्धि भएको मूल्यलाई पनि धान्न नसक्ने अवस्था भएकोले भूकम्प पीडित, आम उपभोक्ता र पुननिर्माण संलग्न ग्रील व्यवसायी मारमा परेको उनको भनाई छ ।
इतिहासमै उच्च मूल्य वृद्धि भएको बताउँदै अध्यक्ष कटुवालले पहिलेको तुलनामा फलामको मात्रै प्रति केजि ३५ रुपियाँले बढेको गुनासो गरे ।
दैनिक रुपमै दुई तीन रुपियाँले निर्माण सामाग्रीको मूल्य वृद्धि भइरहेको र गुणस्तरहीन सामानको विक्रि वितरण पनि व्यापक रुपमा बढेको महासंघको भनाई छ ।
ग्राहकको मागअनुसारको सामान छैन भन्दै हार्डवेयरहरुले अनावश्यक र गुणस्तरहीन समान दिएर बढी मूल्य माग्दा उपभोक्ताहरु थप मारमा पर्दा पनि सरकारले कुनै किसिमका कार्वाही नढाउँदा सशंकित भएको महासंघको दाबी छ ।
चुनावको बेला दिएको चन्दाको हजारौँ गुण चन्दा असुल गरिसक्दा पनि सरकारवाला निकाय मौन बस्दा यहाँ ठूलै चलखेल भएको सिधैँ अनुमान गर्न सकिने महासंघको आरोप छ ।
‘हामी साना व्यवसायी आज समानको अर्डर लिन्छौँ भोली पेश्की लिएर समान किन्न जाँदा फेरी मूल्य बढीसकेको हुन्छ’, अध्यक्ष कटुवालले भने ‘ग्राहकसँग मूल्य वृद्धिका बारेमा कुरा गर्दा ग्राहक र व्यवसायी बिच असमझदारी बढ्ने गरेको छ ।’
साथै समयमा काम सम्पन्न गर्न नसकिएको र एकै खालका समानहरु उपलब्ध नहुँदा गुणस्तरमा ह्रास आएको लगायतका धेरै खालका समस्या देखिएको उनको गुनासो छ ।
देश विकासमा प्रत्यक्ष भूमिका खेल्ने पूर्वाधार निर्माण सामाग्रीको अत्याधिक मूल्य वृद्धिले देशको आर्थिक क्षेत्रमा असर परिरहँदा सरकार मौन रहेको भन्दै महासंघले तत्काल मूल्य वृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएको छ ।
यस विषयमा सरकारले तत्काल कदम नचालेमा आम व्यवसायी आन्दोलनमा जान बाध्य हुने महासंघले चेतावनी समेत दिएको छ ।
ग्रीलजन्य कच्चा पदार्थ (फलाम) तथा निर्माण समाग्रीहरुको अस्वभाविक र अत्यधिक मूल्य वृद्धि विषयमा गरिएको उक्त कार्यक्रममा काठमाडौँ, ललितपूर तथा भक्तपूरका अध्यक्षहित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
...
बुधबार १४ चैत २०७४
प्रकाशित: २०७४ चैत्र १३
प्रकाशित: २०७४ चैत्र १३
March 27th 2018
प्रतिक्रिया दिनुहोस्