नेपाली समय: ०३:४३:५४ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

पशुपतिका ३५० रोपनी जग्गा खोइ ? अनाहकमा लाखौं खर्च ?

निर्माण सञ्चार, काठमाडौं | पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा अझै फेला पार्न सकेको छैन ।

१२ वर्ष अघि संसद्को सार्वजनिक लेखा समितिले साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि हालसम्म त्यो काम पुरा हुन सकेको छैन । उक्त जग्गा साविकको लगतमा देखिए पनि फिल्डमा देखिएको छैन ।

लेखा समितिले चित्रबहादुर केसीको अध्यक्षतामा २१ सदस्यीय छानबिन समिति गठन गरेको थियो । यस छानबिन समितिले विभिन्न २१ विषय र क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो ।

त्यस विषयको अध्ययनपछि केसीले समितिलाई बुझाएको प्रतिवेदनमा ‘मौजुदा कार्यालयहरुको लगतको जग्गा पनि विभिन्न व्यक्ति तथा संस्थाबाट अतिक्रमण भएकाले उल्टै कोषले मुद्दामामिलासमेत खेप्नुपरेको उल्लेख गरिएको छ ।

त्यस्तै, गुठी तैनाथी जग्गाको संरक्षण नगरेको पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको थियो । जसमा तैनाथीका पशुपति क्षेत्रभित्र र बाहिरका जग्गाको सदुपयोगका सम्बन्धमा कुनै योजना समेत बनाएको देखिएको थिएन ।’

यसैगरी नेपालको इतिहासँग सम्बन्ध राख्ने जोसमनि सम्प्रदायको मठ रहेको मित्रपार्कको जग्गा सदुपयोगका लागि पनि कोषले कुनै किसिमका योजना तयार गरेको छैन ।

प्रतिवेदनका अनुसार यी जग्गा व्यक्ति विषेशले उपभोग गरिरहेको अवस्थामा छन् ।

पटक–पटक संसदीय समतिले १२ वर्षअघि हराएको साढे तीन सय रोपनी जग्गा खोज्न, लगतको जग्गा व्यक्ति र संस्थाले अतिक्रमण गरेको र मित्रपार्कको मठ रहेको जग्गा दुरुपयोग भएको लगाएतका विषयमा कोषको ध्यानाकर्षण गराए पनि अझै कुनै उपलब्धि हुन सकेको छैन ।

२ वर्षअघि कोषले कोषको सञ्चालक परिषद्का सदस्य नवलकिशोर चौधरीको अध्यक्षतामा नापी र मालपोतका प्रमुख र परिषद्का दुई सदस्यसहितिको एक समिति गठन गरेको थियो ।

उक्त समिति पशुपतिनाथको सम्पत्ति छानबिन गरी अभिलेख तयार पार्न बनेको थियो । तर, ‘जुन जोगी आए पनि कानै चिरिएका’ भनेझैं यस समितिले पनि कुनै काम गर्न सकेन ।

सोही समितिका अध्यक्ष चौधरीले २ वर्षअघि समितिका लागि सचिवालय र कर्मचारी मागे पनि नपाएकोे दावी गरे । चौधरी भने,‘कोषले न कर्मचारी खटायो न त कार्यालय नै दियो, यहाँ काम गर्ने वातावरण नै छैन ।

सोहीकारण यस अवधिको भत्ता समेत लिइनँ । आवश्य सहयोग नपाएकै कारण काम अघि बढ्न नसकेको उनले बताए ।

यता कोषका कार्यकारी निर्देशक रमेश उप्रतीले भने विविध कारणले जग्गा खोजीको काम हुन नसकेको स्वीकारे ।

पशुपतिनाथको ३५० रोपनी जग्गा खोजीका लागि वर्तमान कोषाध्यक्षको अध्यक्षतामा कमिटी बनाएर काम अघि बढाउन सञ्चालक समितिको शनिबारको बैठकमा प्रस्ताव गरेको थियो ।

तर, प्राविधिक कारणवश अर्को बैठकका लागि सारिएको उप्रेतीले जानकारी दिए । कोषध्यक्षको अध्यक्षतामा गठित यस ११ सदस्यीय कमिटिमा जग्गासम्बन्धि कुनै जानकार एवं विज्ञ पनि राखिएको छैन ।

‘पशुपतिनाथको साढे तीन रोपनी जग्गा खोज गर्न ढिलो भइसकेको छ, उप्रेतीले भने,‘ अझै कमिटी बनाएर बस्नु झनै ढिलो गर्नु हो ।’

यस्तो गर्नु अनाहकमा पैसा खर्च गर्नु मात्रै हो, उनले दाबी गरे ।

....

आइतबार, २९ असोज ०७४ 



प्रकाशित: २०७४ आश्विन २८
October 14th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार