नेपाली समय: ०७:१५:४९ बिहान
वि.सं २०७६ मंसिर २१   शनिवार

नक्कली भूकम्प पीडित होसियार ! गलत विवरण पेस गरी अनुदान लिएमा हुने छ कारबाही !

निर्माण सञ्चार, काठमाडौं । भूकम्प पीडितका लागि घर तथा आवास पुनःनिर्माणमा लागि रहेको पुनःनिर्माण प्राधिकरणले गलत विवरण पेस गरी अनुदान रकम लिएको पाइको भन्दै नक्कली काम गरेको ठहरिए कानुन बमोजिम रकम असुल उपर गरिने चेतावनी दिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाको हस्ताक्षरमा बुधबार निकालिएको प्रेस नोटले भूकम्प अतिप्रभावित ११ जिल्लामा समेत गलत कागजात तयार घर तथा आवास पुनःनिर्माणका लागि अनुदान रकम लिने काम भएको भन्दै गलत पुष्टि भएमा सो उपर कारबाही गरिने चेतावनी दिएको हो ।

प्राधिकरणले गल्तीबाट सच्चिने मौका समेत प्रदान गर्दै यदि यस्तो गरी घर बनाउने अनुदान रकम लिएको भए विधिपूर्वक फिर्ता गर्न समेत अपिल गरेको छ ।

मापदण्ड भित्र नपरेका व्यक्तिले पनि गलत विवरण पेस गरी विभिन्न जिल्लामा घर बनाउनका लागि पहिलो किस्ताबापत पाउने अनुदान रकम लिएको भन्ने जानकारी प्राप्त भएकोमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै प्राधिकरणले भनेको छ, ‘गलत विवरण पेस गरी अनुदान सम्झौता गरेकालाई रकम नलिन र लिइसकेको भएमा तत्काल फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ ।’

सरकारले भूकम्प पीडित जनताका घर तथा आवास बनाउनका लागि अनुदान रकम पाउनयोग्य तर छुटेकाहरुलाई समेत सम्बन्धित वडाको सिफारिसमा गाउँविकास समिति मार्फ्त अनुदान सम्झौता दिने नीति रहेको भन्दै छुटेका तर मापदण्ड भित्र पर्ने वास्तविक पीडितका लागि समेत अनुदान दिन सकिने व्यहोरा उल्लेख गरेको छ ।

अहिले भूकम्प अतिप्रभावित ११ जिल्लामा भूकम्प पीडित जनतासँग अनुदान सम्झौता भई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता ५० हजार रुपैयाँ बैंकबाट वितरण गर्ने क्रम जारी रहेको समेत प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म कति भए सम्झौता कतिले पाए अनुदान ?

प्राधिकरणका अनुसार भूकम्प पीडित ११ जिल्लामा काम अघि बढाइएको छ । त्यसमा असोज ४ गतेसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको बताएको छ ।

यस्तो छ प्राधिकरणले निकालेको विज्ञप्ति—

प्रेस नोट

भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान लिएको जानकारी प्राप्त हुन आएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको छ ।

गलत विवरण पेश गरी, झुक्याई वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान सम्झौता गरी आफूले पेश गरेको विवरण झुठ्ठा ठहरे कारवाहीका लागि मञ्जुर गरी सम्झौता गर्ने गरेकोमा सम्झौताको शर्तलाई उल्लघंन गरेको जानकारी प्राप्त भएका छन् ।

भूकम्प पीडित जनताले प्राप्त गर्ने रकम गलत विवरण पेश गरी अनुदान लिएमा, उजुरी परेमा र छानविनपछि दोषी देखिएमा सरकारले प्रचलित कानून बमोजिम कारवाही गरी सरकारी बाँकी सरह असूल उपर गर्ने प्रावधान रहेकोले सम्झौता बमोजिम अनुदान रकम सदुपयोग गर्न, घर बनाउने काममा मात्र उपयोग गर्न र घर बनाउने समयमा मात्रै सुविधा अनुसार बैंकबाट रकम भुक्तानी लिन अनुरोध छ ।

पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्तामा सहभागी नगराउने कानूनी प्रावधान रहेको समेत सबैलाई जानकारी गराइएको छ ।

त्यसैले गलत विवरण पेश गरी अनुदान सम्झौता गरेकालाई रकम नलिन र लिइसकेको भएमा तत्काल फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ ।

भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका, एकै परिवारको सदस्यको नाममा अर्काे स्थानमा घर नभएका र अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने सूचीमा परेकाले मात्र अनुदान सहयोग रकम प्राप्त गर्न सक्नेछन् ।

भूकम्प अतिप्रभावित ११ जिल्लामा भूकम्प पीडित जनतासँग अनुदान सम्झौता भई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता ५० हजार रुपैयाँ बैंकबाट वितरण गर्ने क्रम जारी छ ।

असोज ४ गतेसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको छ ।

भूकम्पबाट घर भत्किएका सबै घरधनीहरुलाई अनुदान वितरण प्रक्रियामा सहभागी गराइने नीति रहेकोले अनुदान प्राप्त गरेपछि भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गर्न प्राधिकरण सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।


रामप्रसाद थपलिया

प्रवक्ता

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

 

 

..........

५ असोज, ०७३



प्रकाशित: २०७३ आश्विन ५
September 21st 2016

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार