नेपाली समय: ०५:२३:१६ बेलुका
वि.सं २०७६ आषाढ १   आइतबार

पशुपतिनाथको सम्पत्ति सार्वजनिकः ५६ वर्षमा मात्रै ९ किलो सुन ? कता हरायो २३१ रोपनी जग्गा ?

निर्माण सञ्चार, २२ जेठ, काठमाडौं । इतिहासमै पहिलो पटक पशुपतिनाथको सम्पत्ति प्रतिवेदन सार्वजनिक भएको छ । बुधबार पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा सञ्चार साक्षात्कार गरी यसबारे जानकारी गराएको हो । 

कति छ जग्गा ?

२०१९ देखि २०७५ सालसम्मको अध्ययन गरिएको उक्त प्रतिवेदन अनुसार पशुपतिनाथका नाउँमा हाल १८ हजार ३ सय ४२ रोपनी २ आना २ दाम जग्गा रहेको छ ।

क्षेत्रविकास कोषले २०७४ कात्तिक ६ गते ‘श्रीपशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानबिन समिति’ गठन गरी  १५ महिना लगाएर गरिएको खोज अनुसार उक्त जग्गा फेला परेको हो । 
अनुसन्धान कार्य नसकिएपछि समितिको म्याद ०७५ साउन २९ गते ६ महिना थप गरिएको थियो ।

त्यसपछि ०७५ माघभित्र गरिएको अध्ययनलाई समितिले प्रतिवेदनको रुप दिन झन्डै ५ महिना लगाएको देखिन्छ ।
अनुसन्धानले सार्वजनिक गरेको उक्त रोपनी जग्गा हालको काठमाडौं जिल्लाको स्थित महानगरपालिका भित्र पर्ने वडा– ८ को वागमती नदी किनारदेखि त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थलको पल्लो कुना र गोकर्णको तल्लो फेरोदेखि गोठाटारसम्म फैलिएको पशुपतिनाथको जग्गाको क्षेत्रफल हो ।

वागमती नदी किनारमा रहेको पशुपतिनाथ मन्दिर चाहिँ २४० हेक्टरको अर्थात् ४,७९२ रोपनी) जग्गामा फैलिएको छ।

अधिग्रहणबाट कति ?

खोजले आजसम्म पशुपतिनाथका लागि अधिग्रहणबाट प्राप्त गरेको जग्गा १५ सय ५ रोपनी रहेको बताएको छ ।

नगद सम्पत्ति कति ?

समितिले सार्वजनिक गरे अनुसार  पशुपतिनाथको सम्पत्तिका नाउँमा नगद १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रुपियाँ जम्मा भएको जनाएको छ। सो रकममध्येको १ अर्ब रुपियाँको अक्षय कोष निर्माण गरिएको छ। 
अक्षय कोषको ब्याजबाट केही रकम सामाजिक सेवा एवं विपतका बेला खर्च गरिने र आन्तरिक जात्राहरुमा सहयोग गर्ने गरेको कोषले जानकारी दियो ।

यो रकम पनि विसं २०१९ देखि २०६८ सालसम्मको हो । 

कति छ सुन कति छ चाँदी

सम्पत्ति विवरण र गुठी जग्गाको प्रतिवेदन संयुक्त रुपमा गरिएको उक्त सार्वजनिक समारोहमा बोल्दै अनुसन्धान समितिका संयोजक डा मिलनकुमार थापाले पशुपतिनाथको ढुकुटीमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको बताए । यो विसं २०१९ देखि ०७५ सम्ममा जम्मा भएको सुनको आँकडा हो ।

कूल ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम रहेको सुन जम्मा भएको तथ्यांक निम्नानुसार छ । जसअनुसार, पशुपतिनाथ भण्डार तहबिलबाट प्राप्त तायदाती मुचुल्का अनुसार विसं २०१९ देखि २०६८ भित्र चाहिँ ८ किलो २ सय ३२ ग्राम सुन रहेको थियो ।

त्यस्तै, सोही मितिभित्र जम्मा भएको चाँदीको आँकडा भने १ सय ७५ किलो ४ सय ५८ ग्राम चाँदी मूल ढुकुटीमा दाखिला भएको प्रतिवेदनले देखाएको छ। 

त्यस्तै सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणअनुसार ०६८ देखि ०७५ सालसम्म १ हजार ४४.६४ ग्राम सुन र १ लाख ४१ हजार १ सय २८.७५ ग्राम चाँदी ढुकुटीमा जम्मा भएको थियो ।

किन फेला पार्न सकेन २०१९ भन्दा अघिको विवरण ?

अनुसन्धान क्रममा समितिले विसं २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का फेला पार्न नसकेको उल्लेख गरेको छ।

पशुपाति नाथ मन्दिर हिन्दुहरुको ज्यादै महत्त्व राख्ने शक्ति पीठ पनि हो । पौराणिक कालदेखि हालसम्म निरन्तर रहँदै आएको र विभिन्न समयमा फरक फरक रुपले जीर्णाेद्धार तथा निर्माण भएको सो मन्दिरको तथ्यांक पुरानै समयदेखि नपाउनुको कारण सिस्टमेटिक रुपले सम्पत्तिहरु लेखाजोखा गर्ने चलन नभएकाले यस्तो भएको देखिन्छ ।

पशुपति क्षेत्र आजकै स्थानमा लामो समयदेखि भएपनि २०४३ सालमा अध्यादेश मार्फत् पशुपति क्षेत्र विकास कोषको गठन भएको थियो । 
कोष गठन पछि पनि विभिन्न प्रणाली विकास गर्न नसकेको राजाहरुको हुकुम प्रमांगी र मूल पुजारी भारतीय नागरिक हुनुका कारण पशुपतिनाथको भित्री ढुकुटीमा के कति सम्पत्ति थियो र छ भन्ने यकिन हुन सकेको थिएन । 

सर्वसाधारणको पहुँच नै नहुने जमानाको अन्त्य भएपछि पनि २०४७ को बहुदलीय सरकारदेखि रातन्त्रको अन्त्यसम्म आउँदा पनि मूल ढुकुटीमा के कति सम्पत्ति छ भन्ने चाहिँ अझै पनि सार्वजनिक गर्न नसकिएको अवस्था छ ।

कोषले मूल ढुकुटीबारे आफ्नो पनि पहुँच नभएको बतायो । 

गुठी अन्तर्गतका विभिन्न स्तरका जग्गा कोषमातहत

जब गुठी संस्थानको वैधानिक गठन भयो, त्यसपछि छरिएर रहेका कतिपय जग्गाहरु गुठी मार्फत् पशुपतिनाथको सम्पत्तिका रुपमा रहेको देखिन्छ ।
कोषको अचल सम्पत्ति दर्ता प्रमाणित ३ हजार ६ सय ६७ रोपनी जग्गा रहेको समितिले जनाएको छ भने त्रिभुवन विमानस्थल र ९९ वर्षका लागि सम्झौता गरी भोगचलनमा दिएको गल्फकोर्ष रहेको जग्गा १ हजार १ सय ६१ रोपनी १४ आना रहेको छ। सो जग्गा पनि पशुपतिनाथजीकै हो ।

मोही तारागाउँ रिजेन्सी होटल भएको १७ रोपनी  जग्गा समितिले पत्रकार सम्मेलन मार्पत् जानकारी दियो । 

सो होटेल नेपाल सरकारले तत्कालीन समयमा आफ्नो समेत सेयर कायम गरी सञ्चालक समिति मार्फत् चलाइएको थियो । हाल माफियाहरुका कारण होटेलमा रहेको नेपाल सरकारको ४९ प्रतिशत सेयर घाटा हुँदै ९ प्रतिशतमा झरेको छ । जग्गा पनि भित्रभित्र माफियागिरीको फन्दामा परिसकेको स्थानीय बताउँछन् । 

तस्वीरमा क्रमशः क्षेत्र विकास कोषका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा कोषाध्यक्ष
यसबारे सरकार पनि मौन रहेको आरोप छ भने पशुपति क्षेत्र विकास कोषले पनि भित्री अनुसन्धान गरेर सो जग्गाको हालको अवस्था के कस्तो हो भन्ने सार्वजनिक गर्न सकेको देखिएन ।

कहाँ गयो २ सय ३१ रोपनी जग्गा ?

साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी जग्गा क्षेत्रफल २ सय ३१ रोपनी १० आना १ दाम जग्गा रहेको छ । 

ढुकुटीबारे रोचक कुरा

राणा कालमा तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरले दास उन्मूलन गर्दा भने एक पटक सो मूल ढुकुटीको कोष खोलेका थिए भन्ने भनाइ छ । 
त्यस अघि र त्यस पछिका धेरै कुराहरु गुमराहमै छन् । 

पशुपतिको पुरातनता

हिन्दूहरको सभ्यताको मूल जरो वेद हो । जसको विकास वा उत्पत्तिबारे ईश्वी पूर्व १० औं हजार वर्षलाई नै लिइन्छ ।
तत्कालीन युगमा सिन्धु नदीमा रहेको ‘सैन्धव’हरुलाई आक्रमण गरी परास्त गरेका आर्यहरुले सैन्धवहरुले पूजा गर्ने गरेको ‘शिस्न’ देवता अर्थात् लिंग पूजाको निरन्तरता दिएको प्रमाण पाइन्छ ।
हजारौं वर्ष पूर्वदेखि नै लिंग देवताको पूजा भएको प्राग्पौराणिक युगका प्रमाणहरुबाट पुष्टि हुँदा पशुपतिनाथको पुरातनता ज्यादै पुरानो रहेको पुष्टि हुन्छ ।
त्यस्तै, नेपाल र यस क्षेत्रको हिमालय भूभागमा रहेको तत्कालीन रुद्र गण, मातृ गण आदि सभ्यताको खोजी गर्दै जाँदा पुष्टि हुनुले पनि  पशुपतिनाथको प्राचीनता ज्यादै नै पूर्वदेखि कै पुष्टि हुन्छ । जुन कुरा स्कन्द पुराण, हिमवत खण्ड, मानस खण्ड आदिले पुष्टि गर्छन् । 
यिनै ग्रन्थका आधारमा नेपाल राज्य पनि पुरानै थियो भन्ने देखिन्छ ।

गोपाल वंशीय प्रमाण के भन्छ ?

नेपालकै सबैभन्दा पुरानो मानिने ‘गोपालराज वंशावली’ का अनुसार, लिच्छवी राजा ‘सुपुष्प देव’ले पशुपतिनाथ मन्दिरको निर्माण गराएका थिए।

वंशावलीका अनुसार, सुपुष्प देवले पाँच तले पशुपतिनाथ मन्दिरको निर्माण गर्नुभन्दा पहिले त्यस ठाउँमा शिवलिङ्गको आकारको देवालय थियो । समय बित्दै जाँदा यस मन्दिरको मर्मत सम्भारको काम पनि बढ्दै गएको थियो। 

त्यसपछि नेपालका मध्यकालीन राजा ‘शिवदेव’ले पशुपतिनाथको मन्दिरलाई पुनर्निर्माण गराएका थिए। फेरि पछि मल्लकालीन राजाले त्यस मन्दिरमा गजुर लगाइदिएका थिए।

 

फ्रन्ट फेसबाट समाचार हेर्न यहाँ क्लिक गरौं

०००



प्रकाशित: २०७६ जेठ २२
June 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार