नेपाली समय: १०:३९:३७ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

बालुवाटारको जग्गा बिक्रीका सूत्रधारः कहाँ छन् यी ‘भू–माफिया’ ? किन खोजी गर्दैन प्रहरी ढकाल र सुवेदीलाई ?

निर्माण सञ्चार, १६ असार, काठमाडौं । कुख्यात बलुवाटार जग्गा प्रकरणबारे पछिल्ला दिनमा प्रहरी समेत मौन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रकाशित गरी हाजिर हुन आदेश दिइसकेको अवस्थामा सम्बन्धित पक्षको भने अत्तोपत्तो छैन ।

अख्तियारको जारी गरेको सूचनाको डेडलाइन पनि बित्नै लागेको छ ।

ललिता निवासको उक्त सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने प्रमुख खलपात्रका रुपमा चिनिन्छन् शोभाकान्त ढकाल र रामकुमार सुवेदी । जसलाई प्रहरीले फेला पार्न नसकेको बताउँछ ।

अख्तियार स्रोत अनुसार अख्तियारमा समेत उनीहरू बयानका लागि आएका छैनन् । 
यस अघि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको  थियो, जुन समितिले उक्त अभियुक्तहरुलाई ‘भू–माफिया’ भनेर किटान गरेको छ ।

नक्कली मोही खडा गरी कीर्ते

अघिल्ला सरकारहरुले वास्तै नगरेको बालुवाटार जग्गा प्रकरणमा ओली सरकारले ध्यान दिएसँगै भित्री कुराहरु सतहमा आएका थिए । स्वयम् नेकपाका महासचिव विष्णु पौडेल समेतले उनीहरुबाट जग्गा खरिद गरेको पनि खुलेको थियो ।

बालुवाटारको उक्त सरकारी जग्गामा नक्कली मोही खडा गरिएका छन् । उक्त भूमाफियाद्वयले नक्कली मोहीबाट कतिपय जग्गा बेचबिखन गरेको र कतिपय जग्गा आफ्नै नाममा पास गरेको खुलेको हो ।

उक्त धन्दामा संलग्न रहेका उक्त अभियुक्तहरु यतिबेलासम्म सम्पर्कमा नहुने कुरा आफैमा गम्भीर रहेको अख्तियार स्रोत बताउँछ ।

त्रितालको समितिले उनीहरूमाथि थप अनुसन्धान गर्न र कानुनी कारबाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई सिफारिस गरेको थियो।
तर, प्रहरी अनुसन्धान भने अघि बढेको देखिदैन ।

स्मरणरहोस्, समितिको सिफारिसको आधारमा सरकारले सिआइबीलाई बालुवाटार जग्गा प्रकरणको सत्यतथ्य ल्याउन भन्दै अभियुक्तमाथि अनुसन्धान गर्न जिम्मा दिएको थियो। 

प्रमुख योजनाकार रहेको अभियुक्तद्वय कहाँ छन्, किन सम्पर्कमा आएनन् भन्नेबारे उनीहरूलाई सिआइबीले खोज्ने प्रयत्न नगरेको भन्ने गुनासो सरकारी उच्च तहबाट समेत बाहिर आउन थालेको छ ।

तर, सिआइबीले खोजी नै नगरेको हो कि अथवा कुनै मार्फत् काम भइरहेको छ त भन्ने प्रश्नमा प्रहरी सूत्रले ‘अख्तियारको आफ्नै संयन्त्रमार्फत् उनीहरूलाई सोधपुछका लागि बोलाइएको हुनाले काम भइरहेको हुनसक्ने’ बतायो ।

आवश्यक ठानेमा र पक्राउ गरेर मुद्दा चलाउनु पर्ने अवस्था आएमा प्रहरीले सोही अनुसार काम गर्ने स्रोतको दाबी छ ।

तर, सत्य के हो भने अभियुक्तहरु सम्पर्कमा छैनन् न त उनीहरु कहाँ छन् भन्नेमा यकिन छ । ढकाल र सुवेदीका परिवारलाई समेत अख्तियारले बयानका लागि आउन सूचनामा भनेको थियो ।

सूचना अनुसार ‘बयानका लागि नआएमा कसूर अनुसार मुद्दा चलाउने’ अख्तियारको सूचनामा उल्लेख छ ।

त्रिताल समितिले उक्त जग्गा व्यक्तिको नाममा लैजानमा संलग्न मालपोत कार्यालयका २२ कर्मचारीमाथि पनि अख्तियारबाटै थप अनुसन्धान गर्न सिफारिस गरेको थियो।
अख्तियारले सोही सिफारिसका आधारमा यतिबेला बालुवाटार जग्गा प्रकरणमा जोडिएका माफियामाथि विस्तृत अनुसन्धान गरिरहेको स्रोत बताउँछ।

०००

To See Front Face Coverage, click here



प्रकाशित: २०७६ आषाढ १६
July 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार