
तामाकोसीमा लाखौँको भ्रष्टाचार, छानबिन गर्न समिति गठन
निर्माण सञ्चार, ३० साउन, काठमाडौं । तामाकोसी नदीबाट नदीजन्य पदार्थको निकासीबापत् उठाइने राजस्वमा लाखौँको भ्रष्टाचार भएपछि छानबिन गर्न समिति गठन भएको छ।
तामाकोसी गाउँपालिकाले करिब २१ लाख रुपैयाँ अपचलन भएको बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको हो।
गाउँपालिकाले उठाउनुपर्ने २९ लाख ८२ हजार राजस्वमध्ये आठ लाख ११ हजार रुपैयाँ मात्र गाउँपालिकामा दाखिला गरी करिब २१ लाख रुपैयाँ अपचलन भएको फेला पारिएपछि छानबिन समिति गठन गरिएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए।
उनका अनुसार गाउँपालिकाको तामाकोसी नदी क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवासहित नदीजन्य वस्तुको निकासीबापत् उक्त रकम दाखिला हुनुपर्नेपमा दाखिला नभएको फेला पारिएको हो।
गाउँ कार्यपालिकाको बुधबारको बैठकले उपाध्यक्ष उर्मिला खड्का केसीको संयोजकत्वमा अधिकार सम्पन्न छानबिन समिति गठन गरेको हो।
छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयको अधिकृतस्तरको कर्मचारीलाई सदस्य राख्ने निर्णय गरिएको छ। समितिमा गाउँपालिकाका इन्जिनियर सुबोध चापागाईलाई सदस्य सचिव तोकिएको उपाध्यक्ष केसीले बताइन्। समितिलाई १५ दिन प्रतिवेदन पेस गर्न भनिएको छ।
गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले समितिको प्रतिवेदनबाट दोषी देखिएको जोकोहीलाई पनि कानुनअनुसार कडा कारबाही गर्ने बताए। अघिल्लो आर्थिक वर्षको २०७५ साउन १ गते देखि असोज २२ गतेसम्म ठेक्का नलागेको अवधिमा तामाकोसी नदी क्षेत्रबाट निकासी हुने गिट्टी बालुवालगायतको निकासी करबापतको रकम गाउँपालिकामा गत असार मसान्तमा कम दाखिला गरी २१ लाख रुपैयाँ घोटाला भएको देखिएको थियो।
समितिले आवश्यकताअनुसार राजस्व अपचलन भएको भनिएको समयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपेश कट्टेल, कर्मचारीहरू, क्रसरका सञ्चालकसहित सबै सरोकारवाला पक्षलाई झिकाएर बयान लिने र अनुसन्धान गर्न सक्नेछ। निर्णयलगत्तै छानबिन समितिमा सदस्य पठाउनका लागि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र जिल्ला प्रहरीलाई बिहीबार पत्र लेखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिए।
प्रकाशित: २०७६ साउन ३०
प्रकाशित: २०७६ साउन ३०
August 15th 2019
प्रतिक्रिया दिनुहोस्