श्रममन्त्री विष्टको अर्काे सफलताः मलेसिया रोजगारी फेरि खुल्ने निश्चित, नेपालको प्रस्ताव मलेसियाले मान्यो
काठमाडौं। पन्ध्र महिनादेखि बन्द रहेको मलेसिया रोजगारी केही दिनमै खुल्ने भएको छ। लामो समयसम्म विवाद देखिएको स्वास्थ्य संस्था सूचीकरणको विषयमा मलेसियाले लिखित जवाफ पठाएसँगै अब नेपाली कामदारका लागि मलेसिया जाने बाटो पुनः खुल्ने निश्चित भएको हो।
मलेसियाले विगतमा स्वास्थ्य परीक्षण गर्दै आएका ३६ वटा संस्थाले स्वास्थ्य परीक्षण गर्ने उल्लेख गर्दै वार्षिक रूपमा अन्य संस्था थप्ने जानकारीसहितको पत्र नेपाली दूतावास मलेसियामार्फत परराष्ट्र मन्त्रालयलाई पठाएको छ। मलेसियाले पठाएको पत्रमा वार्षिक रूपमा हुने अडिटमार्फत थप स्वास्थ्य संस्था सूचिकृत गर्ने उल्लेख छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १२२ स्वास्थ्य संस्था सूचीकरण गरेको पत्र मलेसियालाई पठाएको थियो। स्वास्थ्य संस्थाको विवाद टुङ्गिएपछि मलेसिया खोल्ने तयारीमा रहेको श्रम मन्त्रालय अब भने सोही पत्रलाई आधार मान्दै मलेसिया खोल्ने निश्कर्षमा पुगेको श्रमका एक अधिकारीले बताए।
नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौतापछि दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिको संयुक्त बैठक आगामी सेप्टेम्बर १० र ११ तारिख मलेसियामा हुने भएको छ। श्रम सम्झौतापछि दोस्रो पटक बस्न लागेको संयुक्त कार्यदलको बैठकले सम्झौतापछिको अवस्थाबारे छलफल हुने बताइएको छ। श्रम सम्झौतापछि पनि खुल्न नसकेको मलेसिया रोजगारीका अप्ठ्योरा पक्ष फुकाउन बैठक केन्द्रित हुने श्रमका अधिकारीले बताएका छन्।
प्रकाशित: २०७६ भाद्र १३
प्रकाशित: २०७६ भाद्र १३
August 30th 2019
प्रतिक्रिया दिनुहोस्