नेपाली समय: ०६:४६:३६ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

नेपला मलेसिया रोजगारी वार्ताः कस्तो हुँदैछ प्रगति सरकारी टोलीको ?

निर्माण सञ्चार, २३ भदौ, काठमाडौं । महिनौँदेखि बन्द मलेसिया रोजगारी खुलाउने तयारी भएको छ। १५ महिनादेखि नेपालबाट नयाँ कामदार मलेसियामा रोजगारीका लागि जान नपाएपछि खुलाउने तयारी भएको हो।

म्यानपावर व्यवसायीदेखि विभिन्न राजनीतिक दल र कामदारहरुसहित सरोकारवाला निकायले मलेसियाको रोजगारी खुलाउन सरकारलाई दबाब दिइुरहेको बेला एक सरकारी टोली क्वाललम्पुरतर्फ पुगेको छ।

भदौ २४ र २५ गते मलेसियमा नेपाली सरकारी टोलीले रोजगारी खुलाउनेबारे छलफल गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।

जसको लागि मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र उमेश ढुंगाना नेतृत्वको टोली मलेसिया पुगेको हो। दुई देशबीच भएको श्रम समझमदारी कार्यान्वनयनका लागि बनेको सहसचिवस्तरीय प्राविधिक संयन्त्रको बैठकमा उनीहरु सहभागी हुनेछन् ।

श्रम मन्त्रालयका अधिकारीले यसै बैठकमार्फत मलेसियाको रोजगारी पुनः सुरु गर्नेबारे सहमति गर्न प्रयास हुने बताएका छन् । तर, रोजगारी खुल्ने विषय मलेसियाली सरकारले गरेको तयारीमा पनि निर्भर हुने उनीहरुको भनाइ छ ।

नयाँ कामदारको स्वास्थ्य जाँच गर्न १ सय २२

नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरिसकेको छ। विगतमा ३६ वटा मेडिकलले विभिन्न शिर्षकमा चर्को शुल्क लिएपछि सरकारले संस्थाहरुको नयाँ सूचीकरण गरेको हो।

जसमा पुरानासहित नयाँ गरी १२२ वटा स्वास्थ्य संस्थाहरु सरकारले सूचीकरण गरेको हो।  सहमतिअनुसार अब यी संस्थाहरुमा मलेसियाले अनुगमन गरेर स्वीकृति प्रदान गर्नुपर्ने छ । तर, मलेसिया सरकारले हालै एक पत्र लेख्दै तत्कालका लागि ३६ पुरानै संस्थालाई मान्यता दिन सरकारलाई आग्रह गरेको थियो ।

ती संस्थाहरुबाट मेडिकल गरेर कामदार लैजान सुरु गर्ने र अरु बाँकी संस्थामा पनि क्रमैसँग अनुगमन गरेर स्वीकृति प्रदान गर्ने मलेसियाको प्रस्ताव छ । तर, नेपाल भने कुनै पनि हालतमा पुराना संस्थालाई मात्रै मान्यता दिने पक्ष्मा छैन । यो विषयमा अब मलेसिया र नेपालबीचको प्राविधिक संयन्त्रले छलफल गर्नेछन् ।

श्रम समझदारीको १० महिना बित्यो

नेपाल सरकारले छिटो छरितो र सजिलै तथा निशुल्कमा वैदेशिक रोजगारमा जानको लागि मलेसियासँग श्रम समझदारीमा हस्ताक्षरगरेको महिनौँ बितेको छ।

श्रम समझदारीको १० महिना बित्दा पनि कुनै कतै बाट मलेसिया रोजगारी खुल्ने संकेत नदेखिएपछि नेपाली सरकारी टोली छलफलको लागि मलेसिया पुगेको हो। रोजगारीखुल्ने छाँट नदेखिएपछि वैदेशिक रोजगार व्यवसायीहरु असन्तुष्ट छन् ।

म्यानपावर कम्पनीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न ढिलाइ भए पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरवार्ता लिन सुरु गर्ने चेतावनी दिँदै आएको छ ।

मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै सरकारले २०७५ को जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो। श्रममन्त्री विष्टले ठगी गर्नेमाथि कारवाही अभियान चलाएका थिए ।

सरकारले यही बीचमा गत कात्तिक १२ गते मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी गर्‍यो ।

त्यसलगत्तै मलेसिया खुल्ने अवस्था सिर्जना भए पनि ठगीमा संलग्न  पुराना बिचौलिया (भेन्डर) मार्फत नयाँ कामदारको भिसा प्रक्रियाअघि बढाउन नसकिने अडान नेपालले लिएको थियो । तर, मलेसियाले भने ९ वटा देशबाट एउटै प्रक्रियामार्फत कामदार ल्याइरहेको भन्दै नेपालका लागि तत्कालै भेन्डर फेर्न नसक्ने बतायो । जसका कारण कलिङ भिसा आएकाहरुलाई पनि मलेसिया जान रोकिएको थियो ।

तर, व्यवसायीको तीव्र दबाबका कारण केही महिनाअघि कलिङ भिसा आइसकेकाहरुलाई मलेसिया जान दिइयो । तर, नयाँ कामदार जाने प्रक्रिया भने अझै अन्योलमै छ ।



प्रकाशित: २०७६ भाद्र २३
September 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार