नेपाली समय: ०१:००:४१ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

खुल्यो मलेसिया रोजगारीको बाटोः कामदारको बोझिलो खर्च रोजगारदाताले नै व्यहोर्ने गरी नेपाली मजदूरको बढ्यो हैसियत

निर्माण सञ्चार, २६ भदौ, काठमाडौं । नेपाली श्रमिकहरुको हैसियतमा वृद्धि गर्दै १५ महिनादेखि बन्द मलेसियाको रोजगारीको ढोका अब खुलेको छ । 

नेपाल र मलेसियाका श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समिति बीच भएको लामो छलफलपछि आइतबारदेखि लागू हुने गरी मलेसियाको रोजगारीका लागि बाटो खोल्ने सहमति भएको हो ।

सम्झौता पछि मलेसियामा रोजगारीका लागि बाटो खुलेको थियो, तापनि ठगीमा संलग्न पुराना बिचौलिया (भेन्डर) हरु नै मार्फत् नयाँ कामदारको भिसा प्रक्रियाअघि बढाउन नसकिने अडान नेपाल सरकारले लिएपछि ठगी प्रकरणले हार्ने र श्रमिकहरुले जित्ने अवस्था सिर्जना भएको हो

म्यानपावर व्यवसायी र विभिन्न राजनीतिक दल सम्बद्धहरुले मलेसियाको रोजगारी खुलाउन दबाब दिइरहेकै बेला तीन दिनदेखि मलेसियाको क्वाललम्पुरमा भएको वार्ताबाट यस्तो सहमति जुटेको हो ।

मेडिकल खर्च रिफन्ड हुने

यो सहमतिसँगै अब नेपालबाट नयाँ श्रमिकहरु ‘शून्य’ लागतमा मलेसिया जान पाउने अवसर सिर्जना भएको छ । यो सहमति अनुसार अब कामदार मलेसिया जाने प्रक्रियाका सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने सम्झौता भएको छ ।

यो सहमतिलाई मलेसिया सरकारले स्वीकार गरेपछि सहमति भएको हो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका सहसचिव रामप्रसाद घिमिरेका अनुसार दुई देशबीच गत कात्तिक १२ गते भएको श्रममसझदारी कार्यान्वयन गर्ने सहमति भएको हो । अब मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि सोही समझदारी लागू गर्ने सर्तमा मात्र नेपालबाट कामदार लैजान पाउने छ ।

खुल्यो बाटोः मेडिकल सिन्डिकेटको अन्त्य 

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अधिकारीका अनुसार अब श्रम समझदारी अनुसार मलेसियामा नयाँ कामदार जान पाउने छन् ।

नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । यो सहमतिले विगतमा ३६ वटा मात्रै मेडिकललाई दिइएको अधिकार तोडेको छ भने नयाँ सूचीकरण समेत भएको छ ।

मेडिकल आदिका सम्बन्धमा यी संस्थाहरुमा मलेसियाले अनुगमन गरेपछि आउने नोभेम्बरसम्म नयाँलाई स्वीकृति दिइनु पर्ने छ । 

तत्कालका लागि भने ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरी कामदार मलेसिया जान सुरु हुने छ ।

सरकारले मलेसियासँग श्रम समझदारीमा हस्ताक्षर भएको १० महिना बितिसक्ता पनि रोजगारी खुल्ने छाँट नदेखिएपछि वैदेशिक रोजगार व्यवसायीहरु असन्तुष्ट बनेका थिए ।

श्रमसम्झौता पछि दुई देशका अधिकारीहरु बीच सम्झौता आदाना प्रदान गरिँदै
म्यानपावर कम्पनीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न ढिलाइ भए पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरवार्ता लिन सुरु गर्ने समेत चेतावनी दिएको थियो ।

मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै सरकारले २०७५ को जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति रोकेको थियो । 

श्रममन्त्री विष्टले ठगी गर्नेमाथि कारवाही अभियान चलाएका थिए ।

विभिन्न ‘विचौलिया’ संयन्त्रमाथि गृह मन्त्रालयमार्फत अनुसन्धान गरेर जिल्ला अदालतहरुमा मुद्दा दायर गरिएको थियो । जसमा काठमाडौं र ललितपुर जिल्ला अदालतबाट बिचौलिया भनिएका संयन्त्रकै पक्षमा फैसला पनि आएको छ ।

यसरी सुरु भएको थियो शून्य शुल्कको बाटो

सरकारले यही बीचमा गत कात्तिक १२ गते मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी गरेको थियो ।

उक्त सम्झौता पछि मलेसियामा रोजगारीका लागि बाटो खुलेको थियो, तापनि ठगीमा संलग्न पुराना बिचौलिया (भेन्डर) हरु नै मार्फत् नयाँ कामदारको भिसा प्रक्रियाअघि बढाउन नसकिने अडान नेपाल सरकारले लिएपछि ठगी प्रकरणले हार्ने र श्रमिकहरुले जित्ने अवस्था सिर्जना भएको हो ।

०००

  • के कस्ता छन् नयाँ व्यवस्था ?
  • श्रम सहमतिअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच लगायत शुल्क सम्वन्धित रोजगारदाताले नै ब्यहोर्नु पर्ने सहमति छ ।
  • नेपाली कामदारलाई लाग्दै आएको लेभी (अतिरिक्त शुल्क) अब नलाग्ने भएको छ । श्रमिकको करार अवधि ३ वर्ष रहेकोलाई घटाएर २ वर्ष कायम गरिएको छ।
  • मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता र सुविधा नेपाली श्रमिकले पनि पाउने सुनिश्चितता भएको छ ।
  • श्रम मन्त्रालयले जनाए अनुवसार अतिरिक्त समय (ओटी) काम गरेबापत थप पारिश्रमिक र सेवा सुविधा पाउने नेपाली श्रमिकले पनि पाउने छन् ।
  • सम्झौताअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य गर्नुपर्ने, सही वातावरण र वासस्थानको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य र सुरक्षाको प्रवन्ध गर्नु पर्ने छ । यसमा कुनै तलमाथि हुने छैन ।
  • नेपाली कामदार मलेसियाको विमानस्थलपुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्ने नयाँ व्यवस्था सम्झौतामा उल्लेख छ ।
  • महिला कामदारका हकमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्ने भन्ने उल्लेख छ ।
  • ० मुद्दा भएमा 
  • यदि कामदार र रोजगारदाताबीच श्रम विषयलाई लिएर कुनै विषयमा विवाद भयो भने सम्बन्धित निकायमा मुद्दा विचारणीय रहेसम्म श्रमिक मलेसिया बस्न पाउने छ ।
  • ० निकट व्यक्तिको मृत्यु भएमा 
  • मलेसियामा कराररत नेपाली मजदुरका आफ्नो परिवारको निकटतम सदस्य जस्तै, बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा, छोरी जस्ता आफन्तजनको मृत्यू भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने समेत व्यवस्था नयाँ श्रमसम्झौतामा उल्लेख छ ।
  • मलेसियामा यस अघि उसको कानुन तेस्रो मुलुकका श्रमिकका हकमा पशुतुल्य थियो । अब श्रमकानुनका हकमा समान व्यवहार गरिने छ । 
  • यदि कार्यस्थलमा रहँदा कामदारको दुर्घटना भएमा बीमा र स्वास्थ्य बीमालाई मलेसिया कानूनले लागू गरे बमोजिम नै हुने छ । यो व्यवस्थामा मलेसियाली सरकारले नेपाली कामदारका हकमा पनि फरक हुने छैन ।
  • मलेसिया रोजगारी क्रममा अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने नयाँ व्यवस्था छ। 
  • यदि कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाता कम्पनीले व्यहोर्नु पर्ने गरी सम्झौता भएको छ।
 

०००

 



प्रकाशित: २०७६ भाद्र २६
September 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार