नेपाली समय: ०८:०२:४८ pm
वि.सं २०८३ भाद्र १   सोमवार

लाखौं गैरकानुनी आप्रवासी देश निकाला गर्दै राष्ट्रपति ट्रम्प

निर्माण सञ्चार, ३ असार, एजेन्सी । आफ्नो राष्ट्रवादी अडानका कारण चुनाव जितेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने सातादेखि लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने बताएका छन्।

जुन मुद्दा उनको चुनावी अजेन्डा थियो, पटक पटक यसलाई लागू गर्न खोज्दा उनी असफलजस्तै बन्न पुगेका पनि थिए ।

तर, यसपाला सोही अजेन्डा लागू गर्ने भन्दै उनले आफ्नो सामाजिक सञ्जाल मार्फत् यस्तो घोषणा गरेका हुन् । उनको यो घोषणा लगत्तै अमेरिकामा आप्रवासीहरुमा एकखालेको त्रास फैलिएको छ ।

मंगलबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासी हटाउन थाल्ने निर्देशन दिएका थिए ।

‘जतिसक्दो चाँडो उनीहरूलाई हटाइनेछ,’  ट्रम्पले लेखेका छन्। गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइ सराहनीय रहेको पनि उनको भनाइ छ ।

यस अघि करिब एक महिनाअघिको वार्तामा मध्यअमेरिका हुँदै अमेरिका छिर्न खोज्ने गैरकानुनी आप्रवासीलाई मेक्सिकोले रोक्ने सहमति गरेको थियो।

आप्रवासी रोक्न विशेष सुरक्षाकर्मी सीमामा पठाउने मेक्सिकोको प्रतिबद्धतापछि ट्रम्पले मेक्सिकन सामानमाथि लगाउने भनेको कर तत्कालका लागि स्थगित गरेको पनि सरकारी अधिकारीहरुले बताएका छन्।

अमेरिका आप्रवासीहरुकै देश हो भन्ने विश्वलाई थाह छ । लाखौं नागरिक त्यहाँ आप्रवासनमा छन् । तर, ट्रम्पको यो घोषणाले अमेरिका यतिबेला फेरि तातेको छ ।

अमेरिकामा हाल करिब १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेको तथ्यांकले देखाउँछ । तीमध्ये बढी चाहिँ मध्य तथा ल्याटिन अमेरिकी मुलुकबाट रहेका छन्।

 

०००

 

to see Front face of coverage, click here



प्रकाशित: २०७६ आषाढ ३
June 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार