नेपाली समय: ११:५३:५७ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

यस्तो छः एनआरएनएको दोस्रो चरण सहयोग योजना

निर्माण सञ्चार, २४ वैशाख, काठमाडौं । विश्वमहामारी कोरोना भाइरस (कोभिड–१९) सँग संक्रमण तथा विभिन्न अभावमा जुधिरहेका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो चरणको राहत योजना अघि सारको छ । 

संघ महासचिव डा हेमराज शर्माले आफ्नो सामाजिक सञ्जाल मार्फत् उक्त निर्णय सार्वजनिक गरेका हुन् । 

संघले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शर्मा लेख्छन्, ‘कोभिड–१९ बाट पीडित गैरआवासीय नेपालीहरुलाई दोस्रो चरणमा निम्नानुसार सहयोग गर्ने निर्णय भएको छ ।’

युएस डलरमा सहयोग गरिने उक्त सहयोग रकम यसप्रकार रहेको छ । 

जस अनुसार बहराइनका लागि युस डलर पाँच हजार, स्पेनका लागि पाँच हजार, पार्चुगलका लागि पनि पाँच हजार, इटालीका लागि चार हजार, माल्टाका लागि ३ हजार युएस डलर सहयोग गरिने छ ।

निर्माण सञ्चारको जिज्ञासालाई सम्बोधन गर्दै महासचिव शर्माले सो रकम निर्दिष्ट देशहरुमा रहेका कोरोनाका कारण पीडित अवस्थामा रहेका आप्रवासी नेपालीहरुका लागि सहयोग गरिने छ । 

यस्तै, संघले यस अघि पहिलो चरणमा पनि सहयोग गरेको थियो । जसअनुसार कुवेतका लागि पाँच हजार युसडलर, युएईका लागि पाँच हजार, सउदी अरबका लागि पनि पाँच हजार र साइप्रसका लागि युसडलर ३ हजार रकम सहयोग गरिएको थियो । 

विभिन्न सहयोगी मनहरुबाट संकलित उक्त रकमले गैरआवासीय नेपालीहरुमा राहतका लागि थप टेवा पुगेको संघको भनाइ छ ।

आजसम्म गरी संघले युसडलर ४० हजार अर्थात् करिब ४८ लाख रुपियाँ बराबर सहयोग प्रदान गरेको बताइएको छ ।

आफ्नो संगठन सञ्जाल मार्फत् एनआरएनएले विभिन्न देशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अवस्था जान्ने र सहयोग नेटवर्कलाई परिचालन गर्दै आइरहेको छ ।

 

०००



प्रकाशित: २०७७ बैशाख २४
May 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार