नेपाली समय: ०८:१०:२१ pm
वि.सं २०८३ भाद्र १   सोमवार

कोपेनहेगनबाट काँग्रेसले भन्यो– ‘कम्युनिष्टका कारण लोकतान्त्रिक गणतन्त्र खतरामा’

निर्माण सञ्चार, असार ८, एजेन्सी । डेनमार्कस्थित राजधानी कोपनहेगन आइपुगेका नेपाली काँग्रेस उपसभाति विमलेन्द्र निधिले कम्युनिस्टका कारण नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको भन्दै आलोचना गरेका छन् ।

कोपनहेगनमा शनिबार नेपाली जनसम्पर्क समितिहरुको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टलाई विश्वास नभएको र काँग्रेस मात्र प्रतिबद्ध रहेको जिकिर गरे ।

उक्त कार्यक्रम कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत रही नेपाली जनसम्पर्क समितिहरुको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रम हो ।

कार्यक्रममा प्रशिक्षण दिदै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई नै तोकेर भने, ‘सरकारको नेतृत्व गरेको दलका नेताहरुबाटै प्रणालीमाथि खतरा उत्पन्न भएको छ । कम्युनिष्टलाई संघीयतामाथि विश्वास छैन, लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएकोले उनीहरु संघीयताविरुद्ध हाकाहाकी कुरा  गरिरहेका छन् ।’

संसदमा सरकारले पेस गरेका विधेयकहरु नै यसको प्रमाण रहेको उनको जिकिर छ । सरकारले अघि सारेका विधेयकहरु नै संघीयताविरोधी देखिएको बताएका हुन् । 

उनले अघि भने, ‘संसदमा एकपछि अर्को विधेयक संघीयताको विरुद्धमा,  संविधानको विरुद्धमा,  स्वतन्त्र न्यायपालिकाको विरुद्धमा र प्रेस स्वतन्त्रताको विरुद्धमा काम आइरहेका छन् ।’
 
नेपालको लोकतान्त्रिक गणतन्त्र जोगाउन देशभित्र र बाहिरका लोकतन्त्रवादीहरु एक हुनुपर्ने नेता निधिको भनाइ छ ।

उनले अघि भने, ‘नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा कायम राखिराख्ने कि जनवादी गणतन्त्रको रुपमा जान दिन टुलुटुलु हेरेर बस्ने भन्नेबीचको अवस्थामा छौं ।’

यो कार्यक्रमका लागि महामन्त्री डा शशांक कोइराला डा रामशरण महत, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, भीष्मराज आङ्देम्बे, गोविन्द भट्टराईलगायतका नेताहरु सहभागी छन् ।  

कार्यक्रममा २३  देशका प्रतिनिधि सहभागी छन् जुन भेला आइतबार पनि जारी रहेने आयोजक नेपाली काँग्रेसले जनसम्पर्क समितिले जनाएको छ ।

०००

 

To see Front Face of the coverage, click here
 



प्रकाशित: २०७६ आषाढ ८
June 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार