नेपाली समय: ०२:३७:१२ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

विदेशिएका कामदारको पक्षमा सरकारको निर्णयः अचेत भई ‘कोमा’मा रहेका श्रमिकलाई नेपाल ल्याई उपचार गरिने

निर्माण सञ्चार, ९ असार, काठमाडौं । वैदेशिक रोजगार श्रमिकका पक्षमा नयाँ नयाँ काम गर्दै आएका श्रममन्त्री गोकर्ण बिस्टले अर्काे निर्णय गरेका छन्, अब विदेशमा रही अचेत अवस्थामा ‘कोमा’मा रहेका श्रमिकहरुको उपचार नेपाल सरकारले गर्ने भएको छ ।

उनीहरुलाई नेपाल ल्याई उपचार गर्न सरकारले पहल गर्ने भएको हो ।

खाडी मुलुक, दक्षिण कोरियासहित विभिन्न देशका अस्पतालमा अचेत अवस्थामा २८ नेपाली उपचाररत छन्, करार अवधिमै रहँदा स्वदेश फर्केर मृत्यु भएकालाई पनि सहयोग गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले विदेशस्थित विभिन्न अस्पतालमा कोमामा रही दुखद अवस्थामा रहेका नेपाली श्रमिकहरुको स्वदेश ल्याएर  गर्नेबारे निर्णय गरेको छ ।

त्यसका लागि सरकारले आवश्यक व्यवस्था मिलाउने गरी सरोकारवाला सबै पक्षको संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

वैठकले गरेको निर्णय अनुसार श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा उक्त समिति बन्ने छ ।

जसमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र, कानुन मन्त्रालय सहित  सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र ट्रेड युनियनका तर्फबाट सदस्य समेत रहने छन् । 

उक्त कार्यदल तत्काल गठन गरी काम नै सुरु गरिने मन्त्रालय स्रोतको दाबी छ । बन्ने कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीलाई नेपाल ल्याउनेबारे मापदण्ड तय गर्न आवश्यक सुझाव समेत पेस गर्न भनेको छ ।

दिइने सुझावमा त्यस्ता अवस्थामा रहेका बिरामीलाई नेपालमा ल्याई उपचार गर्न नीतिगत तथा कानूनी संयन्त्र र लाग्ने खर्च विवरण समेतको विस्तृत अध्ययन गर्न भनिएको छ ।

यतिबेला नेपालबाट विशेष गरी खाडी मुलक, साउदी अरब, कतार, कुबेत, संयुक्त अरब इमिरेट्स (युएइ) दक्षिण कोरिया लगायत विभिन्न देशका अस्पतालमा २८ नेपाली अचेत अवस्थामा उपचाररत रहेको सरकारी तथ्याङ्कको दाबी छ ।

यसका लागि मन्त्री  बिस्टले केही समयदेखि नै तयारी गरिहेका थिए । त्यस्ता बिरामीलाई स्वदेश ल्याएर उपचार गर्न सरोकारवालासँग छलफल समेत गरेका थिए ।

यस्तो अवस्थामा रहेका श्रमिकका परिवारजन यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

करार अवधिभित्रै नेपाल आउँदा मृत्यु भएकाको परिवारजनलाई आर्थिक सहयोग

उक्त वैठकले वैदेशिक रोजगारमै रहेका तर करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएका क्रममा मृत्यु भएका नेपाली श्रमिकहरुलाई समेत सरकारले आर्थिक सहायता दिने निर्णय समेत गरेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीकै सिलसिलामा रहेका तर बिदाको अवधिमा भर फर्केका अवस्थामा मरेका कामदारको परिवारजनलाई पनि सरकारले आर्थिक सहयोग गर्ने भएको हो ।

सरकारी आँकडा अनुसार अहिले त्यस्तो दुर्घटना व्यहोरोका कम्तीमा १ सय १४ कामदारको परिवार रहेको छ । यसका लागि ६ करोड ६६ लाख रुपियाँ विनियोजन गरेको मन्त्रालय स्रोतले जनायो ।

यस अघि सरकारले करार अवधिमा तर कामदार विदेशमै मृत्यु भएको अवस्थामा मात्र आर्थिक सहयोग दिने गरेको थियो । तर अब यो व्यवस्थालाई थप बढाउँदै करार अवधिमै स्वदेश फर्केर पनि उपचार गराउने क्रममा मृत्यु भएका परिवारजनलाई पनि आर्थिक सहयोग गर्ने भएको हो ।

साउदी दुर्घटनाका परिवारजनलाई पनि थप सहयोग गर्ने

सोही बैठकले केही समय अघि साउदीमा भएको एक दुर्घटनामा मृत्यु भएका कामदारहरुको शव साटफेर भएको घटनाका पीडितलाई पनि सरकारले थप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त दुर्घटनामा परी ज्यान गुमाएका बागलुङका तजेन्द्र भण्डारीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । 

त्यस्तै, उक्त घटनामा परी मृत्यु भएको भनिए पनि पछि जिवितै उद्धा गरिएका झापाका सुवास तामाङको परिवारलाई दिइएको आर्थिक सहयोगलाई थप उपचार खर्चमा रुपान्तरण गर्ने गरी परिवारजनलाई राहत दिने निर्णय श्रममन्त्रीले लिएका छन् ।

गत केही महिना अघि साउदी अरबमा बागलुङका तेजेन्द्र भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । 

 

  • अब विदेशमा रही अचेत अवस्थामा ‘कोमा’मा रहेका श्रमिकहरुको उपचार नेपाल सरकारले गर्ने
  • खाडी मुलक, साउदी अरब, कतार, कुबेत, संयुक्त अरब इमिरेट्स (युएइ) दक्षिण कोरिया लगायत विभिन्न देशका अस्पतालमा २८ नेपाली अचेत अवस्थामा उपचाररत
  • करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएका क्रममा मृत्यु भएका नेपाली श्रमिकहरुलाई समेत सरकारले आर्थिक सहायता दिने निर्णय
  • दुर्घटनामा परी ज्यान गुमाएका बागलुङका तजेन्द्र भण्डारीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने
 

०००

 

To See Front Face Coverage, Click Here



प्रकाशित: २०७६ आषाढ ९
June 24th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार