विश्वसम्मेलनको मुखैमा एनआरएनएले भन्यो, ‘बालुवाटार जग्गा किनेकोमा ‘पछुतो भयो, राज्यद्वारा ठगियौं’
निर्माण सञ्चार, २७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा हुन गइरहेको छ । नयाँ नेतृत्व चयनका लागि होमिएको एनआरएनएलाई भने बालुवाटारको जग्गाले पिरोलिरहेको छ ।
एनआरएनएले बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा खरिद गरेकोमा आफूहरुलाई पछुतो लागेको बताएको हो ।
महासचिव बद्री केसीले यसबारे बोल्दै ‘अञ्जानमा खरिद हुन गएको’ बताएका हुन् । उनले आफूहरुसँग लालपुर्जा भए पनि राज्यसंयन्त्रका कारण ठगिनु परेकोमा चिन्ता व्यक्त गरे ।
एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा नेपाल आएका प्रतिनिधिहरु सहित सोमबारको सञ्चार साक्षात्कारमा महासचिव केसीले ‘नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको’ बताए ।
उनले थपे, ‘आजका दिनमा संस्थाकै नाममा जग्गा छ । ब्युरोक्रेसीलाई नचिन्दा समस्या आएको रहेछ । नेपालमा विश्वास गर्न लायक ब्युरोक्रेसी रहेनछ ।’
उनले राज्यबाट जनता ठगिएझैं आफूहरु पनि ठगिन पुगेको बताए ।
एनआरएनएलाई ललिता निवासको जग्गा सरकारी हुँदाहुँदै जानेरै किनेको भन्ने आरोप लागिरहेका बेला महासचिव केसीले यस्तो वक्तव्य दिएका हुन् । तर उनले आफूहरुलाई सो जग्गा सरकारी रहेको र व्यक्तिहरुले यसरी घोटाला गरिरहेको बारे थाहै नभएको समेत जिकिर गरेका छन् ।
हाल उक्त जग्गा मुद्दा प्रक्रियामा रहेको तर लालपुर्जा भने एनआरएनसँगै भएको उनले बताए ।

०००
प्रकाशित: २०७६ आश्विन २७
विश्वसम्मेलनको तयारी पूरा
गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको तयारी पूरा भएको महासचिव केसीको दाबी छ । मंगलबारदेखि सुरू हुने उक्त सम्मेलनमा विश्वभरबाट ८१ देशमा रहेका गैरआवासीय नेपालीका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्। उक्त विश्व सम्मेलनले अध्यक्षसहित १२ पदमा ४२ जना चुनिने छन् । बालुवाटारस्थित कार्यालयमा सञ्चार साक्षात्कार गरेको एनआरएनएको भावी नेतृत्वका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य अध्यक्ष पदका आकांक्षी बनेर देखिएका छन् । सहमतिमा नेतृत्व टुंगिएन भने बुधबार निर्वाचन हुने छ । एनआरएनएको विधानअनुसार एक महिलासहति ५ उपाध्यक्ष, एक महासचिव, दुई सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, महिला र युवा संयोजक, छ जना क्षेत्रीय संयोजकलगायत पदमा निर्वाचनबाट नेतृत्व चयन गरिनु पर्ने उल्लेख छ ।
०००
प्रकाशित: २०७६ आश्विन २७
October 14th 2019
प्रतिक्रिया दिनुहोस्