नेपाली समय: ०८:२१:१६ बिहान
वि.सं २०८३ साउन ५   मंगलवार

अदालतमा आलमकाे दोस्रो दिन : २३ वटन प्रश्न साेधियाे, घटना नै नभएको बयान

निर्माण सञ्चार, २० कात्तिक, काठमाडौं । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आफताव आलमको बयान बुधबार दोस्रो दिन पनि सकिएन।प्रहरीले आलमलाई बिहान १० बजे जिल्ला अदालत राैतहटमा उपस्थित गराए पनि बयान ११ बजेदेखि सुरु भएको हो। आलम पक्षका कानून व्यवसायीहरुले काउन्सलिङ्ग पश्चात मात्र बयान सुरु गर्न आग्रह गरेपछि बयान ढिलो गरी सुरु भएको हो। 

आलमतर्फका कानुन व्यावसायीले मिसिलमा संलग्न सम्पूर्ण कागजातको प्रतिलिपि उपलब्ध गराइ प्रतिवादीलाई ‘राइट टु काउन्सिलिङ’ का आधारमा काउन्सिलिङ गर्न दिइ बयान लिनुपर्ने भन्दै न्यायाधीश ढकाललाई लिखितरुपमै आग्रह गरेकाले प्रक्रिया ढिलो सुरु भएको अदालतका श्रेस्तेदार गुणराज पराजुलीले बताए। आलमको बयान साँझ ४ं.३० बजेसम्म चलेको थियो ।

जिल्ला अदालत रौतहटको चार नम्बर इजलाशमा भएको बयानमा आलमलाई २३ वटा प्रश्न सोधिएको छ ।न्यायाधीश दीपक ढकालको इजलाशमा आलमलाई मिसिलअनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।

न्यायाधीशले आलमलाई घटनासम्बन्धी मिसिल, घटना भए नभएको, कसरी के भएको र आलममाथि लगाइएको अभियोगको बारेमा प्रश्न सोधेका थिए ।

आलमले अधिकांश प्रश्नको इन्कारी बयान दिएका थिए । उनले घटना नै नघटेको र आफूलाई झूठो आरोप लगाइएको जवाफ दिए ।

प्रहरीले अनुसन्धान गरी मिसिलमा सामेल गरेको अधिकांश प्रमाणहरुबारे सोधिएको प्रश्नमा पनि उनले इन्कारी जवाफ नै दिए ।

आलममाथि लगाइएका तीन मुद्दा मध्ये कर्तव्य ज्यान मुद्दा सम्बन्धी बयान मात्र बुधबार सम्पन्न भएको हो । आलमलाई भोलि ज्यान मार्ने उद्योग र बम विस्फोटन सम्बन्धी कसुरका बारेमा प्रश्न सोधिने अधिवक्ता पुष्पराज पौडेलले बताए ।

पहिलो दिनको बयानमा मंगलवार आलमलाई ९ वटा प्रश्न सोधिएको थियो, जसमा घटनाबारे प्रश्न गरिएको थिएन ।

बेन्चले मिसिल अध्ययन गर्ने पूर्ण समय नपाएका कारण पनि बयानको क्रम सुस्त भएको अदालतको श्रोतले बताएको छ । बयान बाँकी रहेकोले आलमलाई भने पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ ।

पीडितको तर्फबाट बहसका लागि पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलासहित अधिवता पुष्पराज पौडेल, आशिक राम कार्की रौतहटमा छन् भने अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल पनि जाने तयारीमा छन् ।

प्रतिवादीका तर्फबाट बहस गर्न कानून व्यवसायी आएपनि वकालतनामा गर्न बाँकी रहेको जिल्ला अदालत रौतहटले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले ४० पेजको अभियोगपत्रसहित ८३३ पेजको मिसिल सोमबार आलमविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। अभियोगपत्रमा आलमविरुद्ध सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएको छ।

२०७४ सालमा आएको नयाँ मुलुकी अपराधसंहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन। तर आलमको केस मुलुकी अपराधसंहिता लागू हुनुभन्दा पहिलाको भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदक मागदाबी गरिएको हो।

जिल्ला अदालत रौतहटमा दायर ०७६ सिए ००९५ दर्ता नम्बरको मुद्दामा आलमसहित एघार जनालाई प्रतिवादी बनाइएको छ। आलमलाई विष्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ।



प्रकाशित: २०७६ कार्तिक २०
November 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार