नेपाली समय: १०:२६:२३ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

कोरोनाका कारण विवाह पञ्चमीमा विधिमात्रै पुर्‍याइने,अयोध्याबाट जन्ती नआउने

निर्माण सञ्चार,२६ मंसिर,काठमाडौँ । कोरोना भाइरसको महामारीबीच बिभिन्न धार्मिक गतिविधि हुन नसकेको जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ ।

प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । कोरोनाका कारण  यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक चहल पहल देखिएको छैन ।

यस पटक विवाह पञ्चमी पुस ४ गते शनिबार परेको छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए  ।

यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ ।

यस पटकको विवाह पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले जनाए ।

जन्ती आउने सम्बन्धमा यसअघिका वर्षहरुमा पहिला नै जानकारी आउने गरिन्थ्यो । तर यस पटक भारतको अयोध्याबाट कुनै खबर नआएको उनले जानकारी दिए । नेपाल–भारत सीमा बन्द भएका कारण भारतीय श्रद्धालु र जन्ती आउने सम्भावना नरहेको उनले भने। कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द गरिएको नेपाल–भारत सीमा अझै खोलिएको छैन ।

भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जानकी मन्दिरमा उत्सवकै रुपमा विवाह पञ्चमी मनाउने गरिन्छ । 

यस दिन भगवान रामको जन्मस्थल अयोध्याबाट प्रत्येक वर्ष जनकपुरमा जन्ती आउने गर्दछन् । जनकपुरधामलाई माता जानकीको माइती मानिन्छ । त्रेतायुगमा भगवान राम र सीताको विवाह भए अनुसारकै प्रकृया अपनाएर यहाँ विवाह पञ्चमी मनाउने गरिन्छ ।

 

 


०००



प्रकाशित: २०७७ मंसिर २६
December 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार