नेपाली समय: १२:००:४६ am
वि.सं २०८३ बैशाख ९   बुधवार

जनकपुरधाम विमानस्थलमा ५० करोडको लागतमा ट्रमिनल भवन

निर्माण सञ्चार,२३ मंसिर,काठमाडौँ ।  जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन नौ वर्षपछि तयार भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो ।

सुरुमा पप्पु कन्ट्रकसन र केविन डालवा उमा एन्ड कम्पनीले भवनको ठेक्का पाएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सो कम्पनीले तोकिएको समयमा संरचना मात्र तयार पार्यो । पछि विभिन्न बहाना बनाएर भवन अलपत्र पारेपछि ०७४ मा पप्पुसँग सम्झौता रद्द गरिएको थियो ।

नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले जानकारी दिए । उनका अनुसार विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ ।

रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवन निर्माण गरिएको हो ।

नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए ।

विक्रम सम्वत् २०२४ सालदेखि सन्चालनमा आएको जनकपुर विमानस्थल त्यही बेलाको टर्मिनल भवनबाट सन्चालन हुँदै आएको थियो । जसका कारण जहाज चढ्ने यात्रुलाई बस्न समेत समस्या थियो । अब यात्रुहरुलाई बस्न कुनै समस्या नहुने गौतमले जनाए ।

उनका अनुसार ०२४ सालमा भारत सरकारको सहयोगमा निर्माण भएको यो विमानस्थलबाट दैनिक ८ फ्लाइट हुँदै आएका थिए । अहिले कोरोना महामारीका कारण दैनिक ५ फ्लाइट मात्र भइरहेका छन् ।

निर्माण सम्पन्न भएको टर्मिनल भवनको मंगलकार (आज)उदघाटन गरिदैछ । उदघाटन गर्नका लागि संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जनकपुरधाम पुगिसकेका छन् ।


०००



प्रकाशित: २०७७ मंसिर २३
December 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार