नेपाली समय: ०३:५०:३६ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

'राज्य पक्षकै कारण चुरे दोहनले मधेसमा आपतको अवस्था आएको'

निर्माण सञ्चार, २३ कात्तिक, काठमाडाैँ ।  पूर्वराष्ट्रपति डा रामवरण यादव र पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल चुरे विनाश भइरहेको प्रति चिन्ता व्यक्त गर्दै सरकार चुरे संरक्षणमा गम्भीर नभएको आरोप लगाएका छन् ।

उनीहरुले राज्य पक्षकै कारण चुरे दोहनले मधेसमा आपतको अवस्था आएको जिकिर गरे । जंगल, चुरे फडानी गरेर माटो र ढुंगा जोगाउन सरकारले कुनै भूमिका नखेलेसमेत उनीहरुले आरोप लगाए ।

जनकपुरमा जारी नेपाल साहित्य महोत्सवमा ‘चुरेको चिन्ता’ विषयक बहसमा पूर्व राष्ट्रपति यादवले जनताको सहभागितामा चुरे संरक्षणमा उनले जोड दिए । उनले चुरे दोहनका कारण पानीको मुहान, कल र इनार सुकेको बताए ।वन र चुरे विनासले अन्नको भण्डार मधेसमा सुख्खा र खडेरीको समस्या बढेको पूर्व राष्ट्रपतिको भनाइ छ ।

‘राजनीति दलसँग आबद्ध ठेक्केदारले चुरेमा उत्खनन् गरेका छन’ यादवले भने,‘दलका नेताले नै क्रसर खोलेका छन् । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि चुरेसँग जोडिएको नदीमा जानअनजानमा उत्खनन् गर्दै छन् ।’ चुरीया माताको पूजा गरेर मात्रै चुरे संरक्षण नहुने पूर्व राष्ट्रपति यादवको भनाइ छ ।

‘चुरेको पेट चिरेर मदन भण्डारी राजमार्ग बन्दै छ’ उनले भने ,‘वैज्ञानिक अध्ययन बिना चुरेमा डोजर लगाउँदा प्रत्यक्ष असर मधेसमा परिरहेको छ ।’ पूर्व पश्चिम रेल मार्ग, पूर्व पश्चिम राजमार्ग ६ लेन बनाउन, सिमरामा विमानस्थल बनाउन र चुरेबाट पहाडी राजमार्गका लागि रुख काटने योजनले चुरेको छाती र पेट चिरिएको छ’ उनले भने । जंगल र चुरेमा राजमार्ग बनाउनुअघि दीर्घकालीन अध्ययन आवश्यक रहेको यादवले बताए ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा नेता माधव कुमार नेपालले चुरेसँग मधेशको भाग्य, सिंगो मुलुकको भविष्य  जोडिएकोले यसको संरक्षणका लागि राज्यले पहल गर्नु पर्ने बताए ।

उनले बाराको निजगढस्थित अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि तोकिएको स्थल परिवर्तन गरी सो स्थलभन्दा ३ किलोमिटर तल लग्नु पर्ने धारणा राखे ।

नेपालले चुरे संरक्षणप्रति राज्य अहिलेसम्म गम्भीर हुन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरे ।

सिंगो चुरे क्षेत्र नेपालको अर्थतन्त्र माथि उकास्न महत्वपूर्ण रहेकोले चुरेको संरक्षणका लागि सम्पूर्ण क्षेत्रलाई जिम्मेबार हुन समेत पूर्वप्रधानमन्त्री नेपालले आग्रह गरे ।

नेपाल साहित्य उत्सवले आयोजन गरेको दोश्रो दिनको कार्यक्रममा यादव र पुनेपालले चुरे क्षेत्रबारे आआफ्ना विचार व्यक्त गरेका थिए ।



प्रकाशित: २०७६ कार्तिक २३
November 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार