नेपाली समय: ०२:१९:३५ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

धनुषामा मध्यरातमा बमविष्फोटः घाइते इन्स्पेक्टर सहित ३ को मृत्यु

निर्माण सञ्चार, २८ मंसिर, काठमाडौं । गए मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परी घाइते भएका ४ जना मध्ये प्रहरी निरीक्षक अमिर कुमार दाहाल मृत्यु भएको छ ।

उपचारका क्रममा उनको निधन भएको हो । दाहाललाई शनिबार बिहान ६ः४० बजे उपचाररत डाक्टरहरुले मृत घोषणा गरेका थिए।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वमा पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम शुक्रबार मध्यरातमा विष्फोट भएको थियो । 

उक्त विष्फोटमा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनामा प्रहरी इन्स्पेक्टर दाहाल सहित ४ घाइते भएका थिए । इन्स्पेक्टर दाहालको मृत्युसँगै उक्त बम विष्फोटमा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

धनुषा प्रहरीका डिएसपी रामेश्वर कार्कीले इन्स्पेक्टर दाहालको मृत्यु भएको पुष्टि गरेका हुन् ।

सो घटनामा इन्स्पेक्टर दाहालसँगै प्रहरी जवान रिजन महतो र मृतक राजेश्वरका अर्का छोरा प्रकाश साह र छोरी अञ्जली साह पनि गम्भीर घाइते भएका थिए।

उनीहरु एउटै घरका दुईको मृत्यु र २ घाइते भएका थिए ।

घाइतेहरूको जनकपुर अस्पतालमा उपचार हुन नसकेपछि राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।

प्रहरी इन्स्पेक्टर दाहाल पूर्वप्रधानमन्त्री झलनाथ खनालको पिएसओ समेत थिए ।

स्थानीय साहको घरबाहिर पोलमा शंकास्पद वस्तु रहेको जानकारीसँगै प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट उक्त घटनास्थलमा पुगेको थियो ।

तर, प्रहरी टोलीले उपस्थित भीड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । सो घटनामा इन्स्पेक्टर सहित चार घाइते भएका थिए भने साह परिवारका २ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।

बमविस्फोट विप्लव समूहले गराएको हुनसक्ने प्रारम्भिक आशंका !

घटनास्थलमा अनुसन्धानरत प्रहरी अनुसार बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । धनुषा प्रहरीले शनिबार बिहान ८ बजेसम्म घटनाको जिम्मा कसैले नलिएको जनाएको छ ।

तर, मृतक साह मिटरब्याजी भएको आरोप पनि छ । र उनीसँग पैसा माग्ने कोही संलग्न हुन सक्ने प्रहरी अनुमान छ । स्थानीयका अनुसार मृतक साह ब्याजमा पैसा लगाउने मान्छे थिए ।

उनीसँग विप्लव समूहले पैसा मागेको अनुमानका आधारमा बम विष्फोट पनि सोही समूहले गराएको हुन सक्ने अनुमान गरिएको प्रहरी स्रोत बताउँछ ।

यतिबेला अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालित छ ।

 

 

OOO

 



प्रकाशित: २०७६ मंसिर २८
December 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार