उदयपुरमा जिप दुर्घटना, चारको मृत्यु
निर्माण सञ्चार, पौष ३, उदयपुर । उदयपुरमा भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् ।
उदयपुरगढी गाउँपालिका–३ मा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा कटारी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४८ वर्षीय मीननारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर बुढामगर र ३५ वर्षीय टीकाराम श्रेष्ठ रहेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर बूढामगरले जानकारी दिए ।
घाइते दुई जनालाई थप उपचारका लागि विराटनगर रेफर गरिएको र दुई जनाको कटारी अस्पतालमै उपचार भइरहेको छ। विराटनगर रेफर गरिएकाहरुको अस्वथा गम्भीर छ ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। मोरङ पथरी शनिश्चरे नगरपालिका–४ घर भएका श्रेष्ठ परिवार आफन्त भेट्न जिप रिजर्भ गरेर उदयपुर आएको र फर्किने बेला दुर्घटना भएको प्रहरी उपरीक्षक बुढामगरले बताए ।
उक्त सडक खण्डमा चालक पहिलो पटक आएकाले घुम्तीमा समयमै गाडी मोड्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
०००
प्रकाशित: २०७६ पौष ३
प्रकाशित: २०७६ पौष ३
December 19th 2019
प्रतिक्रिया दिनुहोस्