नेपाली समय: ११:४९:२२ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

नवलपरासीमा फलाम खानीको परीक्षण सफलः दैलेखको पेट्रोलीयम खानी ४ महिनाभित्रै परीक्षण गरिने

निर्माण सञ्चार, २७ पुस, काठमाडौं । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीलाई यही आर्थिक वर्षबाटै व्यासायिक उत्पादन थाल्ने घोषणा गरेकी थिइन् ।

सरकारका तर्फबाट वैशाख २० गते घोषणा गरिएको नीति तथा कार्यक्रम मार्फत् राष्ट्रपति भण्डारीले यही आर्थिक वर्षभित्रैबाट पेट्रोलियम पदार्थ र सुन खानीको अध्ध्यन सुरु गर्ने र उत्खन्न पनि सुरु गर्ने घोषणा गरेकी थिइन् ।

लगत्तै जेठ १५ गते बजेट भाषण गरेका अर्थमन्त्री डा युवराज खतिवडाले नीति कार्यक्रमका उक्त शीर्षकमाथि बजेट नै तय गर्दै एक वर्षभित्र फलाम उत्खनन् सुरु गर्ने उल्लेख गरेका थिए भने सोही अनुसार मन्त्रालयले समिति बनाई अध्ययन प्रस्ताव समेत तयार गरेको थियो।

सोही कामले नयाँ उचाइ लिएको उद्योग सचिव यामकुमारी खतिवडाले बताइन् । नवलपरासीको धौंवादी फलाम उत्खननको काम चाँडै अघि बढ्ने उनको भनाइ छ ।

आइतबार मन्त्रालयमा सरकारको प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी दिन अयोजित पत्राकार सम्मेलनमा उद्योग सचिव खतिवडाले उक्त फलाम उत्खननको सफल परीक्षण समेत भएको जानकारी दिएकी हुन् ।

फलाम उत्खनन् एवं उत्पादनको लागि फलाम कम्पनी स्थापना भइसकेको र परीक्षण लागि चीन पठाइएको फलामको नमुना परीक्षण सफल भएको सचिव खतिवडाको भनाइ छ । 

उनले भनिन्, ‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ । उत्खनन् र प्रशोधनका लागि कम्पनी खडा गरेर सञ्चालनको मोडालिटी तयार भइसकेको छ ।’

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले धौंवादी फलाम कम्पनी लिमिटेडको स्थापना गरिसकेको छ भने अबका केही दिनमै फलाम उत्खनन् कार्य हुँदै छ ।

धौवादी फलाम खानी संचालनका लागि खानी तथा भूगर्भ विभागले साढे २ अर्ब बजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले पहिलो किस्ताका रुपमा २५ करोड बजेट विनियोजन गरेको थियो ।

दैनिक ८ सय टन ३० वर्षसम्म

मन्त्रालयको दाबी छ, उक्त धौंवादी फलाम खानीबाट ३० वर्षसम्म दैनिक ८ सय टन फलाम उत्पादन गर्न सकिने अध्ययनले बताएको छ । 

गत भदौमा मन्त्रिपरिषद्ले नवलपरासीको धौंवादीमा ‘धौंवादी फलाम कम्पनी’ खोल्ने निर्णय गरेको थियो । अहिले उक्त कम्पनीको कार्यालय काठमाडौंस्थित खानी तथा भूगर्भ विभागको कार्यालय लौनचौर परिसरमा राखिएको छ ।

मन्त्रिपरिषद् वैठकले (भदौ ६ गते विहीबार) उत्खननका लागि कम्पनी स्थापना गर्नेबारेको उद्योग मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको थियो ।

प्रस्ताव अनुसार १० अर्बको लगानीमा फलाम कम्पनी सञ्चालन गरिने उल्लेख छ । सो कम्पनीमा ४५ प्रतिशत निनी क्षेत्रको शेयर रहेन कुरा उल्लेख छ ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा उद्योग वाणिज्य मन्त्रालयका सहसचिव सोमकान्त पौडेललाई रहेका छन् भने समितिमा थप चार सदस्य रहेका छन् ।

नवलपरासीको धौवादीमा फेला परेको फलाम खानी
भदौको सो निर्णय अघि नै सरकारले फलामको नुमना परीक्षणका लागि ५ टन फलाम चीन पठाएको थियो । चिनियाँ अध्ययनको प्रतिवेदनका आधारमा नेपालमा फलाम खानीको सफल परीक्षण भएको दाबी उद्योग मन्त्रालयले गरेको हो ।

सो फलामाथिको परीक्षण चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जीओलजी एण्ड एक्स्प्लोरेशन छेन्दुमा परीक्षणको लागि पठाइएको थियो ।

उक्त फलाम खानी पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर– ५ को धौवादी डाँडामा रहेको छ । 

८ वर्ष अघि नै खानी पत्ता लागेको

विसं ०६८ सालमा कोइलाखानीका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी पत्ता लगाएको थियो । त्यसको चार वर्षपछि मात्रै सरकारले यसको औपचारिक अध्ययन अघि बढाएको थियो ।

अध्ययनमा त्यहाँको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको थियो । फलाम खानीका लागि ६० प्रतिशत हेमटाइडवेर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यमखालको मानिन्छ ।

धौवादीको खानीमा च्यानल ग्याप कम रहेको भित्रैसम्म भित्रैसम्म फलाम भेटिएको पुष्टी गतवर्ष नै भएको थियो ।

पेट्रोल खानीको काम पनि चाँडै

सचिव खतिवडाले दैलेखमा रहेको पेट्रोलियम पदार्थको खानीमाथि पनि अन्तिम अध्ययन भइरहेको बताउँदै आउने ४ महिना भित्रै यसबारे थप तथ्य बाहिर आउने बताइन् ।

उनका अनुसार केकति मात्रामा के कस्तो गुणस्तरको पेट्रोलियम उत्खनन गर्न सकिन्छ भन्ने कुरा अबको ४ महिनामै निचोड निकालिने छ । 

उक्त पेट्रोलियम खानीमाथि पनि अनुसन्धान भइरहेको छ ।

 

 

०००



प्रकाशित: २०७६ पौष २८
January 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार