नेपाली समय: ०१:११:२५ बिहान
वि.सं २०७८ कार्तिक ८   सोमवार

काठमान्डौ महानगरको डेढ करोड लगानीमा चन्दननाथमा पार्क बन्दै

निर्माण सञ्चार, १९ पुष,काठमाडौँ । चन्दनाथ नगरपालिका ३ धिमि चौरमा पर्यटकिय पार्क निर्माण हुने भएको छ । काठमान्डौ महानगरपालिकाको १ करोड ५० लाख सहयोगमा जुम्लामा पर्यटकिय पार्क निर्माण हुन लागेको हो । काठमान्डौ महानगर र चन्दननाथ बीच मितेरी सम्बन्ध घोषणा भएको पहिलो परियोजना साझेदार अन्तरर्गत पार्क निर्माणका लागि सम्झौता भएको मेयर कान्तिका सेजुवालले बताईन् । 

गएको पुस ७ गते भगिनी सम्बन्ध स्थापनाका लागि हस्ताक्षर समारोहकै बीच पार्क निर्माणका लागि दुबै नगरबीच सम्झौता भएको हो । 

काठमान्डौ महानगरले अन्य क्षेत्रभन्दा पर्यटन प्रर्बद्धन तथा संस्कृति सरक्षणमा लगानी गर्ने चासो देखाएपछि आन्तरिक तथा बाह्य पर्यटक आर्कषणका लागि कर्णालीकै नमुना पार्क बनाउने लक्ष्यका साथ काम अघि बढेको सेजुवालको भनाई छ । 

पहिलो चरणमा महानगरले चन्दननाथलाई डेढ करोड सहयोग गर्ने भनेपछि पार्क निर्माणमा लगानी गरिएको हो । डेढ करोड लागतमा निर्माण हुने उक्त पार्कमा खष संस्कृति झल्कीने सम्पदा सहित जुम्लाका ऐतिहासिक, धार्मिक पर्यटन स्थलको प्रर्बद्धनमा टेवा पुग्ने खाल कलात्मक शैलीका पूर्वाधार निर्माण गरिने सम्झौता भएको छ । 

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईका अनुसार चालु आवबाटै निर्माण शुरु आगामी आव २०७९ को अन्तिम सम्म निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता भएको बताए । 

उनका अनुसार पार्क निर्माणमा ढिलासुस्ती भएमा, खरिद ऐन विपरित निर्माण सामाग्री खरिद भएमा, तथा आर्थिक अपारदर्शिता देखिएमा डेढ करोडको ब्याज सहित रकम असुली गर्ने दुईपक्षिय सम्झौता भएको छ । पार्क निर्माण पश्चात पर्यटन प्रर्बद्धन संगै रोजगारी सृजनामा उल्लेखीय बृद्धि हुने विश्वास गरिएको छ । पहिलो परियोजना पार्क निर्माण प्रभावकारी गरेमा अन्य क्षेत्रको विकासमा पनि थप बजेट सहयोग गर्ने काठमान्डौ महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रतिबद्धता गरेका छन् । 

 काठमान्डौ महानगरले चन्दननाथ नगरपालिकाको शिक्षा,,स्वास्थ्य,रोजगार, पूर्वाधार विकास, पर्यटन विकास,शुसासन तथा पारदर्शिता कायम, अध्यायन,अनुसन्धान भम्रण, अनुभव आदान प्रदान,पर्यावरणको संरक्षण, लगायत क्षेत्रमा काम गर्ने गरी १० बुदे सहमती सहित मितेरी सम्बन्ध कायम गरिएको छ । 

 

 

०००
 



प्रकाशित: २०७७ पौष १९
January 3rd 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्