नेपाली समय: ०८:२६:३८ pm
वि.सं २०७८ मंसिर २०   सोमवार

नाग्म–गमगडी सडक स्तरबृद्धि, नागरिकलाई राहत

निर्माण सञ्चार, ०६ माघ,काठमाडौँ । हिउँदमा हिलाम्य र वर्खामा धुलाम्य हुने नाग्म–गमगडी सडकको यात्राबाट आजित नागरिकहरु बल्ल राहत महसुश गरेका छन् । साँघुरो एकलेनको सडक,त्यसैमाथि हिलै हिलो, ठुला ठुला खाल्डाले सवारीनै फस्ने, एकैदिन गन्तव्यमा नपुग्ने,खर्च बढी लाग्ने नाग्म–गमडी सडकको यात्रा निकै कष्टकर हुन्थ्यो । तर पछिल्लो समय सडक डिभिजन जुम्लाले सडक सुधारमा तिब्रता दिएसंगै यात्रा सहज, सुरक्षित र छिटो हुँदा नागरिक खुसी छन् । 

नाग्म–गमगडी सडकको शुन्यदेखि १३ किमि सडक ग्राभेल प्रक्रियामै रहेपनि १३ किमी देखि मुगु तर्फको सडकमा उल्लेखीय सुधार आएको छ । अधिकांश स्थानमा ग्राभेल भईसकेको,दुईलेन सडक तयार भएको,नाली बनाइसकेको अबस्था छ । भने, बाँकी स्थानमा पनि काम धमाधम भईरहेको छ । कर्णाली राजमार्ग भन्दा निकै सुरक्षित र फराकिर्लो  बनाउने लक्ष्यका साथ नाग्म–गमगडी सडकको काम अघि बढेको छ । 

नाग्म देखि गुठिज्युला सम्मको ४÷५ घण्टा लाग्ने करिब ३७ किमीको यात्रा अहिले २ घण्टामै हुने गरेको छ । भने साना ठुला यात्रुवाहक सवारी देखि ठुला मालबाहक सवारी पनि सरर रुपमा गुडिरहेको कनकासुन्दरीका स्थानीय दिपेन्द्र प्रसाद उपाध्यायले बताए । उनले भने,“पहिलो समय सडक डिभिजनले दिएको निरन्तरताले नाग्म–गमगडी सडकमा उल्लेखीय सुधार भएको छ । यहि गतीमा काम भए छिटै कालोपत्रे हुने आशा जगाएको छ ।” अब आन्तरिक तथा बाह्य पर्यटकलाई पनि ढुक्क भएर रारा ताल घुम्न जाने वाताबरण भएको छ । बीचबाटोमै गाडी फसेर अलपत्र हुने अबस्था अहिले उपाध्यायले भने ।

यता सडक डिभिजन जुम्लाको चालु् आर्थिक वर्ष भित्रै नाग्म गमगडी सडकलाई ग्राभेल गरि सकाउने दाबी छ ।  पर्यटकिय मार्गका रुपमा हेरिने नाग्म गमगडी सडकलाई चालु आवमा ग्राभेल सक्ने गरी काम भईरहेको छ । 
गत आर्थिक वर्षमा नाग्म गमगडी सडकको ग्राभेल,स्तबृद्धिका लागि करिब १४ करोड विनियोजीत थियो । त्यसमा ९ करोड ४८ लाख मात्रै खर्च भयो ।  तर ठेकेदारहरुकै कारण बीचमा ग्राभेलको काम अलपत्र भयो । करिब १९ किलोमिटर ग्राभेल हुनुपर्नेमा ९ किलो मिटर मात्रै भएको छ । 

प्रमुख ईन्जिनियर लीला बहादुर भण्डारीले भने,“नाग्मगमडी सडकको ग्राभेल तथा सुधारका लागि ६ वटा ठेक्काबाट काम भएको छ । चालु आवमा नाग्म सडकको ९३ किलोमिटर सडक ग्राभेल गरेरै छाड्छौ ।”
हिमा गाउँपालिकाको क्षेत्रमा ग्रोभेल गर्ने ठेकेदारलाई कालो सुची राखेर नयाँ ठेक्काबाट काम अघि बढाउने तयारी छ । दुईलेनको बनाउने लक्ष्य अनुसार नाग्म गमगडी सडकको ४२ किलोमिटर सडक चौडाई बनाएको प्रमुख भण्डारीको भनाई छ । 

लकडाउनका कारण केहि महिना काम रोकिएपनि साउन भदौ यता सडक डिभिजनले काम गरिरहेको छ ।
लकडाउनका कारण गत आवमा सडक डिभिजन कार्यालयमा जुम्ला, कालिकोट, र मुगुमा सडक निर्माण, मर्मत सम्भार,पुल निर्माण, नयाँ ट्रयाक निर्माण ग्राभेल लगायतका शिर्षकमा आएको करिब साढे ३९ करोड खर्च हुन नसकी फिर्ता भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।
  
उनले भने, “विभिन्न ७ वटा शिर्षकमा विनियोजित ८६ करोड ४५ लाख बजेट मध्य कोरोना त्रासका बीच पनि ४६ करोड ९३ लाख ३८ हजार खर्च भएको छ । भने बाँकी ३९ करोड ५१ लख ६४ हजार बजेट कोरोना त्रासले गर्दा चाहेर पनि खर्च गर्न सकिएन् ।” कोरोना त्रासले गर्दा ३९ करोड विकासे बजेट फिर्ता भएपछि विकास निर्माणमा बाधा भएको छ । तर पनि लकडाउनकै बीच सडक डिभिजनले दर्जनौ योजनाहरु सम्पन्न गरेको छ । 

 

 

०००
 



प्रकाशित: २०७७ माघ ६
January 19th 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्