नेपाली समय: १२:१२:२२ am
वि.सं २०७८ कार्तिक ८   सोमवार

जुम्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीको स्वास्थ्य जाँचमा समस्या

निर्माण सञ्चार, २० पुष,काठमाडौँ । जिल्ला कारागार जुम्लामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ । कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भएपनि विगत एक वर्षदेखि पद रिक्त हुँदा कैदीको स्वास्थ्य चेकजाँचमा समस्या भएको हो । 

जिल्ला कारागारमा हाल जम्मा एक सय १२ जना कैदीबन्दी रहेका छन । जसमा तीन जना महिला र एक सय नौजना पुरुष छन । उनीहरूको उपचारका लागि एकजना अहेवको दरबन्दी रहेको छ । तर, गत वर्षको असोज देखि हाल सम्म दरबन्दी रिक्त हुँँदा सामान्य उपचारका लागि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धाउनुपर्ने बाध्यता रहेको जेलर प्रमुख गया प्रसाद पाण्डेले बताए । 

उनले भने,“कारागारमा ६० वर्ष नाघेका  दुईजना ज्येष्ठ नागरिक छन । त्यस्तै एक एक जना गर्भवती महिला पनि छन् । स्वास्थ्यकर्मी नहुँदा जेष्ठनागरिक, गर्भवती महिला कैदी लगायत अन्यको नियमित चेकजाँचमा समस्या छ ।”
स्वास्थयकर्मी नहुँदा स्वास्थ्य चेकजाँचमा समस्या भोगिरहेका कैदीबन्दीले वर्षौदेखि खानेपानी तथा विजुलीको समस्या पनि खेपिरहेको जेलर प्रमुख पाण्डेले उल्लेख गरे । टुकीकै भरमा रात र तीला नदीको दुषित पानी पिएरै कैद जीवन बिताउनु परेको कारागार नाईके खाम्बा रावतले बताए । 

उनले भने,“लामो समयदेखि पानी र बिजुलीको समस्या झेल्दै आएका छौ । आधारभूत आबश्यकता खानेपानी प्रयाप्त नहुँदा, बत्ती नहुँदा कैदीको मानवअधिकार हनन् भएको महसुश भएको छ ।” कारागार विशेष क्षेत्र भएकाले पानी र बिजुली नियमित प्रदान गर्न सम्बन्धित निकायसँग पहल गरे पनि समस्या समाधान हुन नसकेको जेलर पाण्डेले बताए । 

उनका अनुसार कारागारमा प्रयोग गरिने पानी जेनेरेटरबाट तिला नदीबाट ल्याउने गरिएको छ । मनव अधिकार आयोगको टोली आउँदा प्रशासन देखि सम्बन्धीत निकायमा पानी र बत्तीको समस्या समधान गर्ने भनिएपनि हाल सम्म सुनुवाई नभएको प्रति कैदीबन्दी रुष्ट भएका छन् । 

कुन मुद्धाका कैदी कति ?
जुम्ला कारागारको तथ्यांक अनुसार जुम्लामा १ सय १२ जना कैदी रहेका छन् । जसमा बलात्कार मुद्दाका कैदीबन्दी धेरै छन । बलात्कारका मुद्दामा संलग्न ३८ जना कैदीबन्दी छन । त्यसैगरी, कर्तव्य ज्यान मुद्दाका १८ जना कैदी र १५ जना बन्दी छन ।ज्यान मार्ने उद्योगमा एकजना कैदी र चारजना बन्दी, सवारी ज्यान एकजना कैदी र दुईजना बन्दी, डाँका चोरीमा चारजना कैदी, बहुविवाहमा पाँचजना कैदी र तीनजना बन्दी रहेका छन । 

त्यस्तै, लागु औषधका सातजना कैदी र सातजना बन्दी, ठगीको एकजना कैदी, आत्महत्या गर्न दुरुत्साहनको एकजना, हातहतियार खरखजानाको एकजना, संरक्षित नदीजन्यमा दुईजना बन्दी र पुरातात्तिवक सामग्री चोरीका तीनजना बन्दी रहेका छन् ।

 

 

०००
 



प्रकाशित: २०७७ पौष २०
January 4th 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्