नेपाली समय: १२:४९:१५ am
वि.सं २०७८ कार्तिक ८   सोमवार

गाउँका सिंहदरबारः ६ वडा एकजना सचिवको भरमा

निर्माण सञ्चार, २७ पुष,काठमाडौँ । दरबन्दी अनुसार कर्मचारी नहुनु, भएर पनि नियमित कार्यालयमा उपस्थिती नहुनु सेवा प्रवाहका मुख्य चुनौती हुन् । पहिलो कुरा कर्णालीमा प्रयाप्त कर्मचारी छैनन् । दोस्रो कुरा भएका कर्मचारी पनि विभिन्न बाहनामा कार्यालय नियमित आउदैनन् । जसका कारण एक दिनमा पाईने सेवा हप्तादिन लाग्छ । यसको ज्वालन्त उदाहरण हो, जूम्लाको सिंजा गाउँपालिका । जहाँ ६ वटा वडा एकजना सचिवले चलाईरहेका छन् ।   सिंजा गाउँपालिकाको ४ नम्बर वडामा सचिवको दरबन्दी लामो समयदेखि रिक्त छ । तर गएको पुस १५ गतेयता ६ वटै वडाको काम एकजना सचिव दल बहादुर रोयायाले गरिरहेका छन् । 

वडा कार्यालयमा सिफारिसदेखि अन्य कामको पनि समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । अहिले गाउँपालिकामा जम्मा एकजना सचिव छन् । केही काम गर्न परे सचिव खोज्दै जानु पर्ने अवस्था रहेको स्थानीय रत्नविर बुढाले बताए । उनले भने,“एकदिन कागजात तयार हुन्छ दोस्रो दिन सचिवको हस्ताक्षर हुन्छ । एकजना सचिवलाइ वडा वडामा डुल्न भ्याईनभ्याई छ ।”  

वडामा रहेका अन्य सहायक कर्मचारीबाट सहयोगमा सिफारिस, बसाई सराई,जन्मदर्ता जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडा नं १ का अध्यक्ष रणबहादुर रोकायाले बताए । उनले भने,“गाउँपालिकामै कर्मचारी अपुग छन् । कर्मचारी अपुग भएपछि यसको धेरै थोरै असर जनतालाई पर्ने नै भयो ।” 

सिंजाका ६ वडा मध्य ४ नम्बर बाहेक अन्य ५ वडामा सचिव कार्यरत छन् । तर अहिले ५ वटै सचिव जिल्लाबाट बाहिर गएकोले सवै वडाको काम ५ नम्बर वडाका सचिव दलबहादुर रोकायाले गरिरहेका छन् । १ नं. वडाका सचिव घरविदा, २ वडाका सचिव विरामी भएर उपचारमा रहेको वडाध्यक्ष नविन शर्माले बताए । अन्य वडाध्यक्षहरु ४५ दिने सेवाकालिन तालिममा गएकाले सबै वडा सचिव विहिन भएका हुन् ।  

शर्मा भने,“हिउदे गाउँसभा अघि वडा तथा गाउँपालिकाको योजना सवै सम्झौता भइसकेका छन् । जिल्लामा स्थानीयबासी पनि नभएकाले विकास निर्माणका काम नहुने र चिसो भएकोले सचिव नहुदा पनि खासै समस्या छैन् ।” तर नागरिकहरु भने एक सिफारिसका लागि २÷३ दिन धाउनु परेको गुनासो गरेका छन् ।   

यता,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीका वडाका सचिव सेवाकालीन तालिमका लागि जिल्ला बाहिरिएका हुन् । सबै सचिव तालिममा भएकाले थोरै काममा ढिला भएको हुन सक्ने उनको भनाई छ ।  


०००



प्रकाशित: २०७७ पौष २७
January 11th 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्