नेपाली समय: ०८:१५:३१ pm
वि.सं २०७८ मंसिर २०   सोमवार

जुम्लाका ४७ हजार नागरिक स्वास्थ्य बिमित

निर्माण सञ्चार, २९ पुष,काठमाडौँ । स्वास्थ्य बिमाबाट प्रभावकारी सेवा नपाएको गुनासाहरु आएपनि स्वास्थ्य बिमितको संख्यामा उल्लेखिय बृदि हुँदै गएको छ । जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको करिब तीन वर्षमा यहाँका ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । 

जुम्लामा करिब २० हजार घरधुरी छन् । भने, २०६८ को जनगणना अनुसार २० हजार  घरधुरीको  १ लाख २० हजार कुल जनसंख्यामध्ये ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए ।  

उनले भने,“ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रम अन्तर्गत १ हजार ९ सय ७८ जना  बिमित छन् । महिला स्वयंसेविका १ सय ८० जना, पूर्ण अपांगता भएका २६ र एचआईभी संक्रमित १ जनाले निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।” 

सामाजिक सुरक्षा भत्ता वितरणका लागि कर्णालीका ६० वर्षमाथि उमेर भएका व्यक्तिलाई जेष्ठ नागरिकको  मान्यता दिइएको छ । तर स्वास्थ्य बिमा ऐन २०७४ ले भने,७० वर्षमाथिका व्यक्तिलाई मात्रै ज्येष्ठ नागरिकको मान्यता दिएको छ । 
जसका कारण ६० वर्ष नाघिसकेका सयौ जेष्ठनागरिकहरु बिमाको पहुँचमा पुगेका छैनन् । यसमा सामाजिक सुरक्षा र स्वास्थ्य बिमा बोर्डको ऐन आसपमा बाझिँदा जेष्ठनागरिक बिमा सेवाबाट बन्चित भएको जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले बताए । 

उनले भने,“कर्णालीमा स्वास्थ्य बिमाका लागि पनि ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको मान्यता दिनुपर्छ । बिमा ऐनलाई जेष्ठनागरिक मुखी बनाउन आबश्यक छ । अन्यथा आश्रित जेष्ठनागरिक मर्कामा पर्ने छन् ।” 
स्वास्थ्य बिमितहरुले सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट मात्रै सेवा पाउने गरेका छन् । तर  ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई स्वास्थ्य बिमा सेवा प्रवाह गर्ने अस्पताल घरदेखि टाढा दूरीमा रहेकाले आउजाउमा समस्या देखिएको स्थानीयको गुनासो छ । भने, स्वास्थ्य बिमा गराएकाले अस्पतालबाट निःशुल्क पाउनुपर्ने औषधीमा ढिलासुस्ती हुने भनेकै बेला नपाईने गुनासो गरेका छन् । 

बिमाकर्ताले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको औषधी उपचार निःशुल्क पाउनुपर्ने प्रावधान छ । तर, अस्पतालको फार्मेसीमा पर्याप्त औषधी नहुँदा निजीमा औषधी किन्नुपर्ने स्वास्थ्य बिमितहरुको बाध्यता छ ।

 

 

०००
 



प्रकाशित: २०७७ पौष २९
January 13th 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्