
उपत्यकाकै पुरानो विद्यालय कान्ति भैरबले फेर्दै छ मुहारः पुनर्निर्माण भएमध्येकै सबैभन्दा ठूलो बजेटमा बन्दै छ कस्तो ?
निर्माण सञ्चार, ९ फागुन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाइमा भूकम्प पछिको पुनर्निर्माण अभियान लगभग टुंगिनै लागेको छ । उपत्यकाका विद्यालयहरु मध्ये पुरानो विद्यालय कान्ति भैरब माध्यमिक विद्यालयले पुनर्निर्माण अवधिको अन्त्यतिर आफ्नो अनुहार फेरिने गरी जगको शिलान्यास पाएको छ ।
भारत सरकारको अनुदान सहयोगमा यसको पुनर्निर्माण हुन थालेको हो । काठमाडौं कागेश्वरीस्थित श्रीकान्ति भैरव माविको विद्यालय भवनको शिलान्यास प्राधिकरण सिइओ सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
कागेश्वरी नगरपालिका–५, थलीमा पुनर्निर्माण हुन लागेको नमूना विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुने लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय भएको प्राधिकरण स्रोतले बतायो ।
जसको भ्याटबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ रुपैयाँमा ठेक्का सम्झौता सम्पन्न भइसकेको छ।
शिलान्यासपछि मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमूना भवन बन्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।
भारतीय राजदूतावासकी मिसन उपप्रमुख खम्पाले विद्यालय पुनर्निर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने विश्वास राखेका छन् ।
शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दीपक कुईंकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले पनि मन्तव्य राखेका थिए ।
कस्तो बन्दै छ ?
फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनर्निर्माण हुन लागेको यस पाँच तले नमूना विद्यालयमा कूल ६० वटा कोठा हुनेछन् । त्यसमा ३० वटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि ५ वटा कोठा, प्रधानध्यापकका लागि एउटा कोठा, दुईवटा अभिभावक भेटघाट कोठा, एउटा प्रशासन कोठा, एउटा लेखा कोठा, शिक्षक तथा शिक्षिकाका लागि आठवटा कोठा र विद्यालयको आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने थप आठवटा कोठा रहनेछन् ।
त्यसैगरी, क्यान्टिन, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा व्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मंञको पनि निर्माण हुनेछ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुनेछन् ।
विद्यालयका शिक्षक विष्णु प्रसाद पौडेलका अनुसार विद्यालयमा करिब नौ सय विद्यार्थी अध्ययनरत छन् ।
निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो । यही माघ २६ गतेबाट निर्माण कार्य सुरु भएको छ ।
भूकम्पपश्चात शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारतीय अनुदान आयोजनाअन्गर्तत बन्न लागेको यस विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान, रुरकी रहेको छ ।
भारत सरकारले विद्यालय पुनर्निर्माणमा ५ करोड अमेरिकी डलर (बिहीबारको विनिमय दर ११६ अनुसार करिब ५ अर्ब ८० करोड रुपैयाँ) सहयोग गरेको छ ।
अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा संरचनाहरु निर्माण हुनेछन् । तीमध्ये आठवटा सम्पन्न भइसकेका छन् भने ५६ वटा पुनर्निर्माणको विभिन्न चरणमा छन् ।
कान्ति भैरवसहित थप छ वटा विद्यालयको बिहीबारकै कार्यक्रममा प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक रामशरण सापकोटा र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्मा बीच सझदारीपत्रमा हस्ताक्षर भएको छ ।
०००
प्रकाशित: २०७७ फाल्गुण ९

प्रकाशित: २०७७ फाल्गुण ९
February 21st 2021
प्रतिक्रिया दिनुहोस्