
राजधानीको भन्दा चौडा र कालो सडकले छोयो जुम्ला सदरमुकामः कस्तो छ कर्णाली भूभागमा मध्यपहाडी लोकमार्गको प्रगति ?
निर्माण सञ्चार, १० चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयस्तरबाटै रणनीति सडक तथा दुर्गम भनेर चिनिने कर्णाली सडकको प्रगतिबारे चासो राखेपछि यतिबेला इतिहासमै कहिलै नभएको सडक विस्तारको कार्यले कर्णाली क्षेत्रमा गति पाइरहेको छ ।
प्रधानमन्त्रीका विकास विज्ञ सल्लाहकार इन्जिनियर गजेन्द्र थपलियाले दिएको जानकारी अनुसार इतिहासमा पहिलो पटक जुम्ला सदरमुकाम १० मिटर चौडा कालोपत्रे सडकबाट चिल्लिएको छ ।
कर्णाली राजमार्गको प्रगतिबारे चासो राख्दै केही दिन अघि ९ दिने कोरिडोर अनुगमन भ्रमण गरेका प्रधानमन्त्रीका पूर्वाधार विज्ञ थपलियाले कर्णाली क्षेत्रको मध्यपहाडी लोकमार्गको प्रगतिको समेत वस्तुगत अवलोकन गरेका छन् ।
यस अन्तर्गत सुर्खेत–दहिखोला खण्डमा मात्र यसै बर्ष ९ वटा पुल निर्माण सम्पन्न भएको इन्जिनियर थपलिया बताउँछन् ।
जुम्ला सदरमुका नाग्मादेखि मुगुको गमगढी (नाग्मागमगढी) सम्म जाने सडकको ६ वटा टेन्डरमार्फत स्तर उन्नति कार्य हुँदै छ भने कर्णाली राजमार्गको चर्चित स्थान घट्टेखोलाको पुल निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
पहिलेको मुगु र जुम्ला अब फरक मुहार सहित पर्यटकहरुलाई स्वागत गर्ने पर्खिरहेको इन्जिनियर थपलियोको भनाइ छ । उनले भने, ‘तपाई पहिले मुगु जानु भएको थियो र अहिले जाँदै हुनुहुन्छ भने पक्कै पनि यो क्षेत्रले नयाँ मुहार सहित तपाईको स्वागत गर्ने छ ।’
त्यसको मतलब हो, भौतिक पूर्वाधारले ल्याएको परिवर्तन । विकासविज्ञ थपलिया यो प्रगतिको श्रेय प्रधानमन्त्री ओलीलाई दिन चाहन्छन् । किन भन्ने प्रश्नको जवाफमा उनले भने, ‘किनकि, स्वयम् प्रधानमन्त्रीले गौरवका आयोजनाहरुको निगरानी आफ्नै कार्यकक्षबाट गर्ने युगीन थालनी गर्नुभएको हो । उहाँ नै यस कामप्रति सबैभन्दा बढी चिन्तित हुनुहुन्छ । हामी त उहाँको समृद्धि अभियानमा थोरै भने पनि टेवा पुगोस् भनी खटेका हौं ।’
हुन पनि वर्तमान ओली नेतृत्वको सरकारको चासो थिएन भने मेलम्चीको पानी आजका दिनमा काठमाडौंमा झरेको हुने थिएन भन्ने प्रशस्तै प्रमाणहरु छन् । प्रधानमन्त्रीको आफ्नै चासो र सक्रियताको कारणले लुकामारीमा चल्ने विभिन्न धन्दाका कारण ३ दशक लामो मेलम्ची विकास यात्राले पूर्णता पाएको छ ।
यो प्रमाणले धेरै गलत सोचलाई परास्त पनि गर्छ नै ।
जुम्ला सडकको अवस्थाबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग जुम्ला र सुर्खेत डिभिजनले समेत प्रधानमन्त्री ओलीको कार्यकालझैं अघिल्ला सरकारहरुले पनि चासो दिएका थिए भने कर्णाली कोरिडोर निर्माणमा यस्तो ढिलाइ नहुने राय व्यक्त गरेका छन् ।
०००
प्रकाशित: २०७७ चैत्र १०
मध्यपहाडी लोकमार्गको तीव्रतर प्रगति, छ कति ?
प्रधानमन्त्रीका पूर्वाधार विज्ञ इन्जिनियर थपलिय टोलीले हालै गरेको स्थलगत अध्ययन भ्रमणले कर्णाली प्रदेश लगायतका केही जिल्लामा जोडिदै अघि बढेको मध्य पहाडी (पुष्पलाल) लोकमार्गले जनताको जीवन स्तरमा आमूल परिवर्तन गरेको निष्कर्ष निकालेको छ। सरकारले सबै जिल्लामा परिणाम निकाल्ने गरी काम गरेकैले केही समयदेखि यो भूभागका सडक निर्माणले तीव्रता पाइरहेको उनले बताए । जस अनुसार पुष्पलाल लोकमार्गको दैलेख १२५, जाजरकोट ८३, पश्चिम रूकुम ७०, पूर्वी रुकुम ५५ किलोमिटर सहित विभिन्न स्थानमा सो लोकमार्गको निर्माण भइरहेको छ । स्थानीय समस्याका हकमा आयोजना, प्रशासन, जनप्रतिनिधि, निर्माण व्यावसायी र स्थानियबासीसँग बसेर समाधानका विभिन्न विधि अपनाइ चाँडै नै यो सडकको पूर्णता गराउन स्थानीय सरकारलाई निर्देशन दिएको पनि प्रधानमन्त्रीका पूर्वाधार विद थपलियाको भनाइ छ ।०००
प्रकाशित: २०७७ चैत्र १०
March 23rd 2021
प्रतिक्रिया दिनुहोस्