‘नेपाल चेम्बर एक्स्पो–०२२’ असार २ गतेदेखि हुँदै
निर्माण सञ्चार, २७ जेठ, ०७९– काठमाडौं ।
पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना हुने भएको छ । एक्स्पो यही असार २ गतेदेखि ६ गतेसम्म राजधानी काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा आयोजना हुने आयोजक नेपाल चेम्बर अफ कमर्सले जानकारी दिएको हो ।
एक्स्पो नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा हुँदै छ ।
नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिने गरी पाँचौं संस्करणको चेम्बर एक्स्पो आयोजना गरिएको छ ।
चेम्बर अनुसार नेपाल अब विगतका राजनीतिक उपलब्धी आत्मसात गर्दै आर्थिक सम्बृद्धितर्फ अघि बढिरहेको छ । यही परिप्रेक्ष्यमा राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले एक्स्पो आयोजना गरिन लागेको हो ।
चेम्बरले पछिल्ला चार संस्करणहरूको सफलता पूर्वक सम्पन्न गरिसकेको छ । यस पटक मेलाको पाँचौ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइने रणनीति लिइएको छ ।
एक्सपोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिता हुने छ । यसले अन्तराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको दाबी छ ।
बंगलादेश पार्टनर कन्ट्री रहेको यस वर्ष वाणिज्य मन्त्रालय र इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एसेसरिज, गार्मेन्ट एण्ड टेक्सटाइल, मोबाइल एण्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट एण्ड ह्याण्डलुमस, सुज एण्ड लेदर आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रडक्ट्स आदि सामग्रीहरूको प्रदर्शनी रहने छन् ।
‘नेपाल चेम्बर एक्स्पो २०२२’ को गोल्ड स्पोन्सर हुलास हिप्को सुपरबिल्ड रहेको छ भने मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ । लर्निङ पार्टनरको रुपमा ब्रोडवे इफोसिस रहेको छ भने एक्स्पो व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको आयोजकले बताएको हो ।
एक्स्पोमा १५० वटा स्टलहरू रहने छन् भने नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू पनि रहने छन् ।
०००
प्रकाशित: २०७९ जेठ २७
०००
प्रकाशित: २०७९ जेठ २७
June 10th 2022
प्रतिक्रिया दिनुहोस्