नेपाली समय: ०६:१३:०५ बेलुका
वि.सं २०८३ बैशाख १६   बुधवार

कुलमान–विद्युतीय व्यवसायी भेट, प्राधिकरणले खरिद गर्ने बल्बले व्यवसायीलाई मर्का नपर्ने दाबी

निर्माण सञ्चार, काठमाडौं|| विद्युतीय व्यवसायीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई भेट गरी विद्यमान समस्याबारे अवगत गराएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) का अध्यक्ष तेज नारायण खरेलको नेतृत्वमा गएको टोलीले प्राधिकरण मार्फत् ल्याउन लागेको एलइडी बल्बको सम्बन्धमा समेत प्रश्न गरेको थियो ।

जवाफमा निर्देशक घिसिङले भारतबाट ल्याउन लागेको एलइडी बल्बले नेपाली विद्युत् व्यवसायीलाई कुनै वाधा नपर्ने प्रष्ट पारे । उनले हिउँदमा हुने लोडसेडिङ कम गर्न एलइडी बल्ब ल्याउन लागेको बताए ।

‘प्राधिकरणले ल्याउन लागेको बल्बले व्यवसायीलाई कुनै मर्का पर्दैन’ घिसिङले भने, ‘व्यवसायीलाई सुरुमै एलइडी बल्ब व्यवसाय गर्न दिंदा सबै उपभोत्ताले किन्छन् भन्ने हुँदैन ।’

उनले खरिद प्रक्रियामा रहेको बल्ब कहिले आउँछ भन्ने अझै प्रष्ट नभएको जानकारी गराए । 

सरकारले विना प्रतिस्पर्धा २ करोड थान एलइडी बल्ब भारतीय कम्पनीबाट ल्याउन लागेपछि विवादित समेत बनेको थियो । भारतबाट ल्याउन लागेको सो बल्ब चिनमा उत्पादन हुँदै आएको छ ।

‘भेट अत्यन्तै फलदायी भयो’ भेटपछि फिनका पूर्व अध्यक्ष रामबहादुर थापाले भने, ‘एलइडी बल्बबारे हामी माझ रहेको अन्योल समेत हट्यो, कुलमान साँच्चै कुल परिवारकै रहेछन् ।’

टोलीमा फिनका प्रथम उपाध्यक्ष सुदर्शन प्रसाद पौड्याल, महासंघका महासचिव रेशम देवकोटाको सहभागिता रहेको थियो ।

त्यस्तै महासंघका सह-कोषाध्यक्ष एवं मोरङ्ग इलेक्ट्रीकल संघका अध्यक्ष गोपाल अग्रवाल, काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम नेपाल तथा महासंघका कार्यालय सचिव निरज पोख्रलको समेत सहभागिता रहेको थियो ।

 

...

आइतबार, ४ असार, ०७४



प्रकाशित: २०७४ आषाढ ३
June 17th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार