नेपाली समय: ०३:५५:०४ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

हुँदै छ फर्नेक्स नेपाल ०१६, नेपाली उत्पादनको बजार बढ्ने आयोजकको दाबी

निर्माण सञ्चार, काठमाडौं । विगत वर्षझैं यस वर्ष पनि फर्नेक्स एक्पो–०१६ नेपालमा हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंले आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा फर्नेक्स नेपाल २०१६ गर्ने भएको छ ।

मेलामा नेपाल, भारत बंगलादेश लगाएतका विभिन्न मुलुकहरुबाट समेत फर्निचर सम्बन्धी विभिन्न नयाँ प्रोडक्टहरु प्रदर्शनी हुने संघका अध्यक्ष कवीन्द्र श्रेष्ठले निर्माण सञ्चारलाई जानकारी गराए ।

०५६ सालमा स्थापना भएदेखि नै आफ्नो क्षेत्रको पेसागत व्यावसायिक हित तथा प्रवद्र्धनका लागि विभिन्न सिर्जनात्मक तथा ज्ञानमूलक कार्यक्रम गर्दै आएको संघले यस्तो प्रदर्शनीमा विद्यार्थीहरुलाई समेत इन्टेरियर डिजाइन सम्बन्धी कम्पिटिसन गराउने भएको छ ।

आयोजक अनुसार नेपालमा इन्टेरियर डिजाइनबारे सानैदेखि बालबालिकामा ज्ञान तथा यसबारे सम्भावित व्यावसायिक सूचना प्रदान गर्न यस्तो मेला र प्रतिस्पर्धाले सहयोग पुग्ने आशा गरिएको छ ।

कच्चा पदार्थको प्रशस्त स्रोत तथा सम्भावन रहेर पनि नेपालले फर्निचर तथा इन्टेरियर डेकोरेसनलाई जीवन शैलीका रुपमा एडेप्ट गर्न नसकेकाले नेपालमा यस सम्बन्धी विभिन्न सूचना तथा ज्ञानमूलक प्रचार प्रसार गर्नु पर्ने आवश्यकता महसुस गरिएकै बेला संघले यस्तो कार्यक्रम ल्याएको विभिन्न उपभोक्ताहरुले समेत प्रतिक्रिया दिएका छन् ।

व्यवसायी तथा कामदार बिचमा समेत सुमधुर सम्बन्ध कायम गर्दै देशमै स्वरोजगारी तथा उद्यमशीलता विकास गर्न संघले महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले बतायो ।

फर्निचर कति महत्त्वपूर्ण ?

मानिसको जीवनमा जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने फर्निचर र यसका विभिन्न सामग्रीको आवश्यकता पर्छ । प्राचीन कालमा काष्ठ कलाका नामबाट सिर्जना गरिएका विभिन्न कलाकृतिहरुलाई हेर्दा यसको महत्त्व कति छ भन्ने स्पष्टै बुझ्न सकिन्छ ।

मन्दिरहरुको श्रृंगारदेखि घर, आवास, भवन, ठुलाठुला होटेल विभिन्न क्षेत्रमा प्रयोग हुने यो सामग्रीलाई नेपालमा उद्योगकै रुपमा विकास गर्नु पर्ने व्यवसायीहरुको बुझाइ रहेको छ ।

यही महत्त्वलाई बुझाउन पनि संघले बेलाबेलामा फर्निचर सामग्री बारे यस्तो प्रदर्शनी गर्ने गरेको छ ।

बदलिदो जीवनशैलीसँगै मानिसले प्रयोग गर्ने सामाग्री पनि आधुनिक र आरामदायी बन्दै गएका छन् । यो मेलाले नेपालमा उत्पादित फर्निचर तथा फर्निसिङ सामाग्रीका साथै अन्य अन्तर्राष्ट्रिय फर्निचर तथा फर्निसिङ सामाग्रीलाई नेपाली बजारमा परिचित बनाउनेछ ।

विगत ४ वर्षदेखि हुँदै आएको यो मेलाले आगामी दिनमा उपभोक्ताको छनौटको अधिकारलाई सम्पूर्ण नेपालीसम्म पु¥याउन सहयोग गर्ने आयोजकको दाबी छ ।

‘हामी विकसित राष्ट्रको तुलनामा वनजंगलमा सम्पन्न भएर पनि स्वदेशी वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सकेका छैनौं,’ आयोजकका तर्फबाट पत्रकाहरु माझ बोल्दै आयोजकका एक सदस्यले भने, ‘आर्थिक समृद्धिबारे कुरा गरिरहँदा हामीले हाम्रा वनजंगलबाट प्राप्त स्रोत साधनलाई उपयोग गरी बजारसम्म ल्याउन सक्नुपर्दछ । जहाँ आयआर्जन, रोजागारीदेखि उद्यमशीलता समेत लुकेको छ ।’

करिब ४४ प्रतिशत वनजंगल भएको नेपालले विदेशी फर्निचर सामग्रीको उपभोगलाई न्यूनीकरण गर्नु परेको छ । वार्षिक अरबौं रुपियाँको विदेशी फर्निचरहरु नेपाल भित्रिने गरेको छ, तर नेपाल भने वनजंगलको सदुपयोग गर्न नजानेर विदेश निर्भर भइरहेको अर्थविद् तेज ढकालले बताए ।

के के प्रर्दशन गरिदै छ मेलामा ?

मेलामा एउटै छानमुनि विभिन्न ब्रान्डका सामाग्री पाइने आयोजकको दाबी छ । आजको व्यस्त समयमा उपभोक्ताले छनोटका लागि खासै समय खर्चनु नपर्ने र भनेजस्ता विभिन्न कलात्मक र सुविधामूलक इन्टेरियर सामग्री प्रदर्शनीमा राखिने छ ।

१७ वटा साना र ४६ वटा ठुला स्टल रहने छन् । शीर्ष प्रायोजक शान फर्निचरले गरेको छ भने फर्निचर तथा फर्निसिङ संघ काठमाडौं संघमा आबद्ध व्यवसायीहरु त्यहाँ संलग्न हुने छन् ।

कार्यक्रम प्रायोजक यति फ्लोरिङ तथा जेम फ्लोरिङले गर्ने भएका छन् ।

 

...........

५ कात्तिक, ०७३



प्रकाशित: २०७३ कार्तिक ५
October 21st 2016

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार