
शोकाकुल कालिकोटः ८७ घर जलेर नष्ट, ३ करोड बढी क्षति, राहतको अपिल
निर्माण सञ्चार, कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन् ।
आइतबार रातिदेखि लागेको आगोले खाडा गाउँको बस्ती नै सखाप भएको छ । आगलागीबाट झन्डै ३ करोड बढीको क्षति भएको छ ।
आगलागी बाट खाँडा गाउँका झन्डै ५ सय ४० जना घरपरिवार पीडित बनेका छन् । जसमा १ सय ७१ पुरुष, २ सय ३९ महिला र १ सय ३० जना बालबालिका रहेका छन् ।
आगलागीबा ७ स्थानीयवासी घाइते भएको बताउँछिन् सोही गाउँकी बासिन्दासमेत रहेकी गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपाने । आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन् ।
आइतबार राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएको खाडागाउँका बासिन्दा शोकमा छन् । मानवीय क्षति नभए पनि उनीहरूका बस्ने बास ध्वस्त छन् भने खाद्यान्न नष्ट भएको छ ।
कतिपयका गोठमा बाँधिएका चौपाया पनि मरेको स्थानीय प्रहरीले बतायो ।
आइतबार राती करिब १० बजेदेखि सुरु भएको आगो सोमबार दिउसो १२ बजेपछि मात्रै नियन्त्रणमा आएको कालिकोट प्रहरीलाई उद्धृत गर्दैै स्थानीय जयमान बुढाले बताए ।
आगलागी, झण्डै साढे ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । अन्नपात, भाँडाकुडा, सबै नष्ट भएको छ ।
परम्परागत शैलीका खरले छाएका छाना भएको १ सय ७९ घरधुरी रहेको गाँउको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले ८७ घर जलेर नष्ट भएका छन् ।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले भने, ‘आगलागीमा भागदौडका क्रममा ७ जना स्थानीय घाइते भएको छन्, उनीहरूको उपचारका लागि मान्मा ल्याइएको छ ।’
आगलागी हुँदा उद्धार गर्न थिएनन् युवा
जिल्लाको पलाँता गाँउपालिकाको खाडामा उद्धार तथा राहतका लागि खटिने मान्छेहरूको पनि अभाव भएको थियो, जसले गर्दा क्षति बढी भएको छ ।
अधिकांश युवाहरू रोजगारीका लागि कालापाड गएका छन् । गाउँ युवाविहीन छ । गाउँमा महिला, वृद्धवृद्धा र केटाकेटीहरू मात्रै भएकोले समस्या भएको पीडित असारे न्यौपानेले बताए ।
उनले भने, ‘छोरा कालापहाड गएको छ । आगलागी भयो, अब कहाँ बस्ने के खाने, पत्तो छैन ।’
आगोले पुरै गाउँ जलाएपछि त्यहाँका ८७ घरपरिवारहरु बिचल्लीमा छन् ।
उनीहरूले पुस महिनाको कठ्याङग्रिँदो जाडोमा आफ्नै घरमा लागेको आगो सेकेर चिसो कटाएकोे पलाँता गाँउपालिका उपाध्यक्ष दानादेवी न्यौपाने बताउँछिन् ।
उनले आगलागी पीडितको उद्धारका तथा राहतका लागि यतिबेला स्थानीय सरकार, प्रहरी तथा प्रदेश सरकार लागिरहेको बताइन् । ‘पीडितको घाउमा मल्हम पट्टी गर्ने हामी लागेका छौं । देश विदेशमा रहेका मनकारी दाजुभाइहरुले पनि सहयोग गर्नका लागि म आग्रह पनि गर्दछु । किनकि, आगलागी पीडितहरुको यतिबेला न बास छ, न गास छ ।’
पताँला गाउँपालिका अध्यक्ष लक्ष्मण बमले थपे, ‘तैपनि हामीले अहिलेसम्म खान र बस्नका लागि पालिकाले बन्दोबस्त गर्ने तयारी गरेका छौं ।’ उनले राहात र उद्धारमा जुट्न सबैलाई अपिल समेत गरेका छन् ।
प्रदेश सरकारको राहत घोषणा
कर्णाली प्रदेश सरकारले कालिकोटका आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ । पताँला गाउँपालिका खाडा गाउँका अग्निपीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आगलागी अघिको खाँडा गाउँ
आगलागीबाट पूर्णरुपमा घर जलेपछि प्रदेश सरकारको मुख्यमन्त्रीस्तरीय बैठक बसी रात उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेससल्लाहकार ध्रुव बूढाथोकीले बताए ।
उनका अनुसार मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट राहतस्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको छ ।
८७ घरधुरी लाई २० हजारका दरले प्रदेश सरकारले १७ लाख ४० हजार बराबरको राहात वितरण गर्ने भएको छ ।
आगलागीबाट घाइते भएकाको उपचारमा सजक रहन मुख्यन्त्री महेन्द्रबहादुर शाहीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
कर्णाली सरकारले उक्त क्षेत्रका आगलागी पीडितलाई थप राहात र पुनस्र्थापनाको सहयोगका लागि नेपाल सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थालाई आग्रह गर्ने भएको छ ।
राहत संकलन अभियान
आगलागी पीडितको उद्धारका लागि कालिकोट उद्योग वाणिज्य संघको अगुवाइमा राहात संकलन अभियान थालिएको छ । कालिकोट सम्पूर्ण व्यापारीहरु राहात संकलनमा जुटेका छन् ।
कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीका अनुसार पीडितलाई राहात पुराउने उद्देश्यले सबै लागिपरेका छौँ ।’
...
सोमबार, ९ पुस, ०७५

प्रकाशित: २०७५ पौष ८
December 23rd 2018
प्रतिक्रिया दिनुहोस्