
प्रतिपक्षी आक्रोशः थापाले भने, ‘महरा पार्टी सदस्य कि सभामुख ?’
निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आजको संसद् सम्बोधनबारे प्रश्न गर्न नपाएपछि विपक्षी दल नेपाली काँग्रेस आक्रोशित भएको छ ।
सभामुख कृष्ण बहादुर महरामाथि प्रश्न गर्दै कांग्रेस नेता गगन थापाले सभामुखले बोल्न नदिएकोमा आपत्ति प्रकट गरे ।
रोस्टम समेत घेराउ गरेको प्रमुख प्रतिपक्षी दल नेका नेताहरुले सभामुख महरा पार्टी सदस्य हुन् कि सभामुख हुन् भन्ने प्रश्न गरेका थिए ।
संसद बैठकबाट बाहिरिने क्रममा काँग्रेस नेता थापाले भने, ‘सरकारलाई हाम्रो प्रश्नको सामना गर्न मन थिएन भने सिंहदरबारबाट वक्तव्य दिए भइहाल्थ्यो नि, संसदमा किन आउनुपथ्र्यो ?’
‘सभामुख पदको दुरुपयोग नहोस् भन्ने चेतावनी’ समेत दिएका नेता थापाले सभामुखले प्रतिपक्षीलाई सम्मान गर्न जान्नु पर्ने बताए ।
उनले सभामुखलाई प्रमसँग मिलेमतो गरेर प्रतिपक्षीलाई प्रश्न गर्न नदिइएको आरोप लगाए ।
संसदको नियमावलीको २१९ मा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्रीले जवाफ दिने भन्ने प्रावधान छ ।
सोही प्रावधान अनुसार सभामुखको अनुमति लिएर प्रतिप्रश्न गर्न पाउने व्यवस्था बमोजिम आफूहरुले समय मागेको थापाको भनाइ छ ।
सभामुखले प्रश्नको लागि एक मिनेटको समय दिएका थिए ।
तर विपक्षी दलले समय ‘निर्धारण गर्न नहुने’ माग गरेपछि केही बेर संसद् अवरुद्ध समेत भएको थियो । समय दिँदा पनि कांग्रेस नेताहरु नमानेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
...
आइतबार, २२ पुस, ०७५
प्रकाशित: २०७५ पौष २१
January 5th 2019
प्रतिक्रिया दिनुहोस्