नेपाली समय: ०५:२७:४५ बेलुका
वि.सं २०७६ आषाढ १   आइतबार

नेपाली उत्पादनको ब्राण्डिङ गरौंः उद्योगमन्त्री यादव

निर्माण सञ्चार, २२ जेठ, काठमाडौं ।  नेपाल सरकार उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना औघोगिक प्रर्दशनी २०७६ को ३० औं संस्करण राष्ट्रिय लधु, घरेलु तथा साना उद्यमी प्रर्दशनी तथा सम्मान तथा पुरस्कार कार्यक्रम भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको छ ।

उक्त औद्योगिक प्रर्दशनीको ३० औं संस्करण राष्ट्रिय लधु, घरेलु तथा साना उद्यमी प्रर्दशनीको बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्घाटन गरेका हुन । 

उक्त औद्योगिक प्रदर्शनीमा मन्त्री यादवले भने, अहिले नेपालीको क्रयशक्ति बढेको छ हामी ब्राण्ड खोज्छौं, तर ‘विना ब्राण्डका नेपाली उत्पादन हेर्ने वित्तिकै मनपर्छ त्यसैले हाम्रा उद्योगको प्रविधि सुधार गर्दै आफ्नै ब्राण्ड बनाऔं ।’

मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने भन्दै मन्त्री यादवले भने, ‘स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न सकिदैन’ । 

कार्यक्रमा बोल्दै यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पुरा गर्नका लागि उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्र्याउदै आएका साना तथा घरेलु उद्योगहरुका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रोत्साहन गर्ने हिसाबको बजेट विनियोजन भएको बताए ।

उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै मन्त्री खतिवडाले सरकारले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरण गर्नका लागि आवश्यकीय कुटनीतिक पहल गर्नका लागि अन्तर्राष्ट्रिय नियोगसँग सहकार्य गर्ने समेत बताए ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै खतिवडाले भने, ‘उद्योगहरुको प्रवद्र्घन र विकासका सरकार प्राथमिकतामा राख्दै अगाडि बढ्ने’ उनले बताए ।

कार्यक्रमा बोल्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले स्वदेशमा उत्पादित वस्तुहरुलाई प्रदर्शनीको माध्यमबाट क्रेता बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने बताए । 

उनले भने, राष्ट्रियस्तरमा माग अनुरुपका गुणस्तरका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशिलताको कदर गरि राष्ट्रिय स्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ ३०औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को आयोजना गरिएको गिरीले बताए ।

घरेलु विभागका महानिर्देशक विनोदप्रकाश सिंहले औद्योगिक प्रदर्शनीमा ताप्लेजुङदेखि कञ्चनपुर सम्मका लघु घरेलु उत्पादन प्रदर्शनी एवं बिक्रीमा रहेको जानकारी बताए । 

सिंहले भने, देशभरबाट उत्पादन भएका स्वदेशी वस्तुहरुको प्रयोगलाई प्रवर्धन गर्न आम नागरिकमा प्रचार प्रसार गर्ने, यस्ता वस्तुको उत्पादकत्व अभिबृद्धिका लागी प्रतिष्पर्धी सम्भावनाको खोजीगर्ने,  गुणस्तर, प्याकेजिङ, ब्राण्डीङ तथा सामग्री बजार रणनीतिबारे सहभागि एक अर्का उद्यमीबाट अनुभव साटासाट गरी प्रतिष्पर्धी हुन अभिप्रेरित गर्न यो कार्यक्रम आयोजना गरेको बताए । 

देशभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशिलताको कदर गरि राष्ट्रिय स्तरमा सम्मान र पुरस्कृत गर्ने प्रदर्शनीको उद्देश्य रहेको सिँहले बताए ।

“आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सवै जुटौं” भन्ने मूल नाराका साथ प्रदर्शनीमा २०० लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहेको छन् ।

उक्त प्रर्दशनीमा ७७ जिल्लाबाट सहभागिता रहने र प्रत्यक जिल्लाबाट कम्तिमा एक उद्यमीको सहभागिता सुनिश्चितता गरिएको छ । उक्त प्रदर्शनीमा १ लाख ५० हजारले अवलोकन गर्ने र ५ करोड भन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरिएको छ ।

उक्त प्रर्दशनी मेलामा देशभरीको जिल्लाबाट लघु घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनहरुको छुट्टै प्याभिलियन रहने, महिला उद्यमशिलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको आयोनकले जानकारी दिएको छ ।

प्रदर्शनीको आयोजक घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसायी महासंघ नेपाल र राष्ट्रिय लघु उद्यमी महासंघसँग सहकार्य मेला गरिएको छ ।
 



प्रकाशित: २०७६ जेठ २३
June 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार