नेपाली समय: ०४:१४:१४ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

आलमलाई सांसदबाट निलम्बनः १३ जनालाई इँटा भट्टामा जलाइएबारे होला त न्याय अब ?

निर्माण सञ्चार, २७ असोज, ०७६, काठमाडौं । मानव हत्या आरोपमा आइतबार पक्राउ परेका काँग्रेस सांसद मोहम्मद अफताब आलमलाई आज संसद सचिवालयले सांसद पदबाट निलम्बन गरेको छ ।

संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो ।

सांसद सम्बन्धी नियमावलीमा भएको व्यवस्था अनुसार फौजदारी मुद्दामा मुछिएको व्यक्ति स्वतः पदमुक्त हुने प्रावधान छ । 

उनीमाथि पहिलो संविधान सभा निर्वाचनका बेला बम बनाउन लगाएको र बम बनाउने क्रममा पड्केर घाइते भएका र बाँकी गरी १३ जनालाई इँटा भट्टीमा ज्युँदै जलाएर हत्या गराएको आरोप छ । केही वर्ष अघि नै सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएका उनी फरार अवस्थामा रहेका थिए ।

उनी रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद थिए ।

पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरी जवान टोलीले आलमलाई आइतबार बिहान उनकै निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेका थिए ।

उनी यतिबेला कांग्रेस केन्द्रीय सदस्य छन् । उनले २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गराएका थिए ।

के हो त घटना ?

पहिलो  संविधानसभाको निर्वाचनमा उनले बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लगाएको र बम बनाउने क्रममा विस्फोट भई घाइते भएका १३ जनाई नजिकैको इँटाभट्टामा जलाएर मारेको उनीमाथि अभियोग छ ।

पछि उनीमाथि कारबाहीको माग बढेको थियो । 

तर, प्रहरीले उनलाई समाउन मानेको थिएन । जुन अभियोगमा उनलाई अदालतले समेत कारबाहीको आदेश दिएको थियो उनले प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट समेत गरेका थिए । उनीमाथि प्रमाण नष्ट गरेको आरोप पनि छ ।

बम बनाउने क्रममा विष्फोटनमा परी घाइते भएका मध्ये १३ लाई उनले इँटा भटटमा जलाएर मारेका थिए । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ ।

विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

घटना रौतहटको राजपुर–४ खरहवामा भएको थियो ।

तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदनका लागि सर्वोच्च अदालतमा रिट दिएका थिए । 

रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही गर्न आदेश दिएको थियो । 

अदालतले आदेश दिदा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । तर, यसपाला पक्राउ गरेको छ ।


०००

पढौं यो पनि

किन पक्राउ परे कांग्रेस सांसद अफ्ताव आलम ? ‘बम विष्फोटमा घाइते १३ लाई कसले ज्यूँदै जलाउन लगाएको थियो ?’

 

 



प्रकाशित: २०७६ आश्विन २७
October 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार