किन गरे एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन ‘बहिष्कार’ ?
निर्माण सञ्चार, २८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनादेखि आजका दिनमा आउँदा आफ्नो ९ औं विश्व सम्मेलन गरिरहेको छ । तर, यसका संस्थापक अध्यक्ष समेत रहेका उद्यमी डा उपेन्द्र महतोले भने सम्मेलन ‘बहिष्कार’ गरेका छन् ।
यो कुरा एनआरएनए विश्वसम्मेलनमा तातो बहसका रुपमा चुलिएको छ ।
असोज २८, २९ दुई दिन चल्ने सो सम्मेलनमा जुटेको एनआरएनएको उक्त सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले होटेल ह्यातमा मंगलबार उद्घाटन गरेकी हुन् ।
संस्थापक अध्यक्ष मात्र नभई उपेन्द्र महतो प्रमुख संरक्षक पनि हुन् ।
प्रकाशित: २०७६ आश्विन २८
डा महतोले किन गरे ‘बहिष्कार’ ?
डा महतो भन्छन्, ‘एनआरएनए स्थापना गर्दाको हाम्रो स्प्रिटमा अब रहनेछ । दुःख लागेको छ ।’ संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको उनले चिन्ता व्यक्त गरेका छन् । हुन पनि यतिबेला अध्यक्षका लागि जुनजुन उम्मेदवार सतहमा देखिएका छन् एउटा प्रो–काँग्रेस र अर्काे प्रो–कम्युनिस्टका रुपमा चिनिएका छन् । आफ्नो भिजन र उद्यमशीलताको बलमा भन्दा पनि राजनीतिक दलमा टाँसो लागेर एनआरएनएमा सत्ता हुत्याउने चलखेल बढेको स्वतन्त्र व्यवसायीहरुको आलोचना पनि छ । ‘एनआरएन गठनको उद्देश्य विश्वभर नै रहेका नेपाली र तिनको लगानी सम्भाव्यतालाई मुलुकको विकासमा जोड्ने भन्ने थियो । तर, त्यो आज रहेको देखिएन’, डा महतोले संक्षिप्त टिप्पणी गरे । उद्यमी डा महतोले ‘राजनीतिक हस्तक्षेप’ भएकाले सम्मेलनमा आफू नगएको पनि बताएका छन् । महतो चुनावी पक्षमा रहेको तर त्यो चुनाव राजनीतिक हस्तक्षेप भन्दा बाहिर हुनु पर्ने बताउँछन् । उनका अनुसार नेपालीहरु विश्वभर नै छरिएर रहेका छन् । उनीहरुलाई एकताबद्ध गर्दै तिनले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा जोड्ने एनआरएनएको स्थापनाको उद्देश्य हो । तर, यतिबेला संघ राजतीतिक संगठन जस्तो बनेको उनको भनाइ छ । उनले नेपालका सबै क्षेत्र राजनीतिक दबदबामा रहेको भन्दै कम्तीमा एनआरएनए राजनीतिक मोडेल भन्दा बाहिर रहन सक्नु पर्ने आफ्नो मान्यता रहेको बताउँछन् । एनआरएनएको ११–१३ अक्टोबर २००३ मा काठमाडौंमा पहिलो सम्मेलन सम्पन्न भएको थियो । सोही सम्मेलनबाट महतो संस्थापक अध्यक्ष चयन भएका थिए । यतिबेला काठमाडौंस्थित होटल हायातमा संघको नवौं विश्व सम्मेलन भइरहेको छ । त्यहाँ नेपालमा लगानी गर्न सक्ने सम्भावनाबारे छलफल समेत चलेका छ । ८१ देशका २५ सय प्रतिनिधि उक्त सम्मेलनमा सहभागी छन् । यस सम्मेलनले आउने दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्ने छ । संघका उपाध्यक्ष मध्ये कुमार पन्तले वामपन्थी र कुल आचार्यले प्रजातान्त्रिक समूहबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । ०००प्रकाशित: २०७६ आश्विन २८
October 15th 2019
प्रतिक्रिया दिनुहोस्