नेपाली समय: ०९:२६:३४ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

अवैध निजी सम्पत्तिलाई वैध बनाएर लगानी गरौं, मौका नचुकाऔं’ अर्थविद् पौडेल र उद्यमी गोल्छाको सुझाव

निर्माण सञ्चार, २२ वैशाख, काठमाडौं । कोरोनाबाट थलिएको अर्थतन्त्र उकास्न अवैध धनलाई सेतो पार्ने मौका दिन सरकारलाई व्यवसायी तथा अर्थविदहरुले सुझाएका छन् ।

माक्र्सवादी अर्थशास्त्री तथा नेकपा नेता डा विजय पौडेल र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अवैध निजी सम्पत्तिलाई बैध बनाउने मौका दिन सरकारलाई सुझाएका हुन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले आउने बजेटबारे आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनीहरुले यस्तो तर्क अघि सारेका हुन् ।

हुनत यस अघि पनि बैंकर्स तथा उद्यमीहरुले यसखाले प्रस्ताव राखिसकेका छन् र, केही अर्थशास्त्रीहरुले पनि सरकारले अर्थतन्त्र उकास्न वैदेशिक ऋण लिनु भन्दा अवैध अवस्थामा रहेको निजी सम्पत्तिलाई वैध बनाउने नीतिगत अफर गर्नु उचित हुने सुझाव दिइरहेकै छन् ।

विश्वमहामारी कोरोना भाइरसका कारण वैदेशिक ऋण र सहायता घटिरहेको अवस्थामा यो विकल्प सुहाउने उनीहरुको तर्क छ । 

‘विप्रेषणदेखि वैदेशिक ऋण वा सहयोग पनि घटने अवस्थामा धन लुकाएर विदेशै लगेर फेरि स्वदेश ल्याएर सेतो पार्ने काम पनि त एककिसिमको अवैधन नै त हो । तर, नेपाली जनताको अभिलेखीकरण पनि गरौं, निजी धनलाई अर्थतन्त्त उकास्न प्रयोग गरौं । यो मौका हुन सक्छ । यसबारे सोेचौं,’ माक्र्सवादी अर्थशास्त्री डा पौडेलले भने ।

यतिबेला आन्तरिक राजश्वमा समेत ठूलो गिरावट आउनेवाला छ । यसको वैदेशिक ऋण र सहयोग पनि घट्ने देखिन्छ । अब अर्थतन्त्र उकास्न ऋण लिनु भन्दा त स्वदेशीकै सम्पत्तिको सदुपयोग गर्नु उचित हुने सुझाव उनीहरुले दिएका हुन् ।

उनीहरुका अनुसार एक पटकलाई ‘हेभी ट्याक्स’ लगाएर अवैध निजी सम्पत्तिलाई वैध बनाउन दिनुपर्छ । यो मौका हुन सक्छ ।

एफएनसिसिआईका वरिष्ठा उपाध्यक्ष शेखर गोल्छाका अनुसार यो पटक एक मौका दिनु उचित हुने छ । 

उनले भने, ‘एकचोटी सम्पूर्ण नेपालीहरुको सम्पत्तिलाई अभिलखीकरण गरौं । कानुनी अस्पष्टताका कतिपय निजी सम्पत्ति अवैध भएर रहेका हुन सक्छन् । त्यसलाई बाहिर ल्याउँ र लगानी गरौं ।’

उक्त छलफलमा विज्ञहरुले सम्पत्ति शुद्धिकरणको डरले मुलुकभित्रको अवैध निजी सम्पत्ति खर्च गर्न डराउनुपर्ने अवस्था रहेको र विदेश लगेर सेतो बनाउनेहरुले पनि अवैध कारोबार गरिरहेकै छ । त्यसै कारणले सरकारले आँट गरेर एक पटकका लागि अवैध निजी सम्पत्तिलाई वैध बनाउनु राम्रो हुने छ ।

सो छलफलमा केहीले भने विभिन्न अन्तर्राष्ट्रिय निकायले यसरी अवैध निजी सम्पत्तिलाई वैध बनाउँदा प्रश्न उठाउन सक्ने पनि औंल्याएका थिए । 

तर, केहीले भने आजको कोरोना महामारीको विशिष्ट परिस्थितिमा त्यस्तो प्रश्न नउठ्ने पनि अर्थशास्त्री पौडेल बताउँछन् ।

पौडेलका अनुसार वैध निकास नदिनाले आजका दिनसम्म अवैध निजी सम्पत्ति विदेश लगेर वैध बनाएर नेपाल ल्याउने प्रवृत्ति छ । यो तरिका एकातिर देशलाई लुट्ने अर्कोतिर विदेश गएर फेरि यतै फर्किने चक्र आफैमा अवैध नै हो ।

उनले थपे, ‘यही हो मौका एकचोटी हेभी ट्याक्स लगाएर अन्डरग्राउन्ड मनीलाई माथि ल्याएर मुलुकको अर्थतन्त्र उकास्ने पनि लगानी गराऔं ।’


०००

 

 



प्रकाशित: २०७७ बैशाख २२
May 4th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार