नेपाली समय: ०९:४०:१५ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

उपप्रधानमन्त्री पोखरेलको भारतलाई काउन्टरः ‘भारतसँग परिआएको सामना गर्न तयार छौंँ’

निर्माण सञ्चार, ८ जेठ, काठमाडौं । नेपालले आफ्नो पुरातन जमिन आफ्नै हो भन्ने ऐतिहासिक कदम चालेपछि, लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नयाँ नक्सा मन्त्रिपरिषद् निर्णय हुँदै प्रकाशन गरेपछि यतिबेला नेपाल भारतका बीचमा विभिन्न तरंग आएका छन् ।

नेपालको आफ्नो भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेतलाई समावेश गरी नक्शा सार्वजनिक गरेपछि त्यसलाई ‘स्वीकार गर्न नसकिने’ प्रतिक्रिया दिएको छ । 

भारतीय मिडियाहरुमा ‘नेपालले चीनको आडमा भारतसँग सीमा विवाद उछाल्यो’ जस्ता अनर्गल प्रचार गरिरहेका छन् । 

तर, भारतीय मिडियाको अनर्गल प्रचारको विरोध र नेपालको राष्ट्रियताका पक्षमा कडा सन्देश जाने गरी अभिनेतृ मनीषा कोइरालाले नेपालको पक्षमा दृढ अडान आफ्नो ट्विटबाट सार्वजनिक गरेलगत्तै राजेश हमाल र प्रमुख प्रतिपक्षी दलका नेता मीनेन्द्र रिजालले समेत भारतीय मिडियालाई नेपालको खोसिएको जमिनका हकमा हामी एकढिक्का छौं भनी जवाफ दिएका घटनाक्रमसम्म आउँदा नेपाल राष्ट्रियताका लागि एकै ठाउँमा उभिएको सन्देश गएको छ ।

तर, दुर्भाग्य के देखिएको छ भने पूर्व प्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराई भने कता कता नयाँ ‘नक्सा नै जारी गर्ने र नेपालले आफ्नो भूभाग दाबी गर्ने कुरा गरेर भारतसँग सम्बन्ध बिगार्न नहुने’ जस्ता तर्क गर्दै हिडिरहेका छन् । सांसद सरिता गिरी लगायत केही व्यक्तिहरुले पनि भारतकै पक्षमा उभिएर बोलेको सुनियो ।

...
उता भारतीय पक्षले ‘स्टन्ट’ देखाउने गरी चर्काे बोले पनि आफ्नो पक्षबाट औपचारिक लेटरमा वार्ता र सम्वाद मार्फत् हल गर्न चाहेको’ स्पष्ट लेखेको छ । जबकि, यही कुरा नेपाल सरकारले लिपुलेकमा उसले सडक उद्घाटन गरेपछि कूटनीतिक नोट थमाउँदा चाँडै सम्वाद गरौं भन्ने नेपालको भनाइलाई अटेर गर्दै ‘कोरोना पछि मात्रै वार्तामा बस्ने’ जवाफ फर्काएको थियो ।

याबत सवालमा राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अंग हो रक्षामन्त्रालय । यसै सन्दर्भमा रक्षामन्त्री तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतसँग ‘परेको सामना गर्ने’ अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्तिले यतिबेला मुलुक फेरि तरंगित भएको छ ।

राष्ट्रिय समाचार समितिका प्रतिनिधिलाई दिइएको ताजा अन्तर्वार्तामा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले ‘सत्यकै जित हुने र परेको सामना गर्न नेपाल तयार’ रहेको भनेका छन् ।

रक्षामन्त्री पोखरेलले ‘भारतले नेपालको भूभागमा सडक बनाएर उद्घाटन गराउँदासम्म पनि नेपाल सरकारले आफ्नातर्फबाट त्यसलाई रोक्न पहल नगरेको’ भन्ने आलोचना चिर्दै भनेका छन्—

‘इतिहासमै पहिलोपटक, वर्तमान सरकारले नेपाल भारत सीमा क्षेत्रमा नेपाली भूमिमाथि अतिक्रमण भएको छ, यस्तो काम रोकियोस् भनी नेपालका तर्फबाट भारत सरकारलाई औपचारिक पत्राचार गरेको हो भन्ने तथ्यलाई स्मरण गराउन चाहन्छु।’

रक्षामन्त्री पोखरेलले सरकारले ऐतिहासिक प्रमाणहरुका आधारमा आफ्नो भूमि दाबी गरेको र वार्ता र संवादबाटै समस्या हल हुनेमा पनि विश्वास प्रकट गरेका छन् । 

उनले भनेका छन्, ‘हामीले हामीसंँग उपलब्ध ऐतिहासिक तथ्य, प्रमाण र सन्धिसम्झौताका आधारमा यो कुरा उठाएका हौँ । यसकै आधारमा हामीले नयाँ नक्शा जारी गरेका छौँ। यसरी भारतले नेपालको भूमि अतिक्रमण गरेको छ भनेर हामीले कूटनीतिक नोट पठाउन लागिपर्नु जस्तो घटनाले हाम्रो निकटतम छिमेकीको व्यवहार र प्रवृत्तिलाई देखाउँछ।’

रक्षामन्त्री पोखरेलले नेपाल भारतसँगको आगामी वार्ताबारे केकस्तो तयारीमा छ भन्ने जिज्ञासामा उनले भनेका छन्— हामीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा तयारी गरेका छौँ। विगतमा कतिपय सन्दर्भमा यस प्रकारका वार्ता र अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा कतिपय कमीकमजोरी भएका हुन सक्छन्। चुकेका विषयहरू हुन सक्छन् तर भारतसँगको सीमाका सन्दर्भमा हामीसँगका ऐतिहासिक तथ्य र प्रमाणलाई कसैले काट्न सक्दैन।

यस विषयमा सिङ्गो राष्ट्र एक ढिक्का छ। नेपालसितको घनिष्ठ मित्रता रहेका कारणले भारतले यसमा सकारात्मक सम्बोधन (रेस्पोन्स) गर्नुपर्छ। हेपाहा प्रवृत्तिलाई स्वीकार गर्न सकिन्न।

अन्य मुलुककाझैं हाम्रा पनि सबल र दुर्बल पक्षहरू छन्। को ठूलो सानो वा कसको तयारी कस्तो भनेर तुलना हुन सक्दैन। नेपाल नेपाल नै हो, भारत भारत नै हो। हामी स्वाधीनता र स्वतन्त्रताका पक्षमा कोही कसैसंँग झुक्दैनौँ। वार्तामा सबै कुरा स्पष्ट राख्छौँ। यसरी वार्ता गर्दा मनोगत आग्रहका आधारमा होइन तथ्य र प्रमाणकै आधार हुनेछ। हामीसँग त्यसका पर्याप्त आधार छन्।

मैले अघि पनि भनेँ कि दार्चुलाको सीमा क्षेत्रमा हामी पूर्वाधार र विकासमा पनि ध्यान दिन्छौँ। हामी आफ्नै भूभागमा जाँदा विदेशी भूमिबाट जानुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गछौँ, त्यहाँका जनताको आवश्यकता पूरा गर्नतर्फ लाग्छौँ।’

 

OOO
 



प्रकाशित: २०७७ जेठ ८
May 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार