नेपाली समय: ०४:२२:२३ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

कोरोनाले कहाँ पुर्‍याउँदै छ नेपालको अर्थतन्त्र? चालू आवको आर्थिक वृद्धिदर कतिमा खुम्चिने भो ? कस्ता छन् बाँकी आर्थिक सूचक ?

निर्माण सञ्चार, १३ जेठ, काठमाडौं

सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सर्वेक्षण प्रस्तुत गर्दै चालु आवमा आर्थिक वृद्धिदर २ दशमल ३ प्रतिशत हुने जानकारी दिए ।

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६– ७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अघिल्ला वर्षहरुमा ६ देखि ७ प्रतिशतले वृद्धि हुने आर्थिक वृद्धि कोरोना महामारीका कारण यो वर्ष वृद्धि संकुचन हुने भएको बताएका हुन् ।

कोरोना महामारीका बाबजुद फागुन अघिसम्म नेपालको आर्थिक विकास र वृद्धि विगत तुलनामा उच्च नै देखिन्छ । स्थिर सरकार हुनुको प्रतिबिम्बन आर्थिक विकासको डाटामा स्पष्ट देखिएको छ । 

केही दिन अघि (वैशाख १७ गते) मात्रै केन्द्रीय तथ्यांक विभागले भने केही फरक अंकको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको थियो । उसले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको थियो । 

तर, अर्थमन्त्रालयले विभागको भन्दा ०.०३ प्रतिशत वृद्धिदर अंक बढाएर अनुमान सार्वजनिक गरेको छ ।

तर, सरकारको चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । कोरोना महामारीका कारण सरकारले तोकेका लक्ष्यहरु केही हदमा खुम्चिएका छन् । तरपनि नेपालीको आयमा भने सुधार आएको देखिएको छ । 

नेपालको आयस्तरमा उल्लेख्य वृद्धि 

सर्वेक्षण अनुसार नेपालीको प्रतिव्यक्ति आयमा वर्षदिनमा एक नेपालीको आम्दानी ८ हजार ५६३ रुपियाँ हाराहारीले बढेको देखिएको छ।

विनिमय दरअनुसार एक नेपालकी औसत आय १ लाख २६ हजार १८ रुपियाँ पुगेको अर्थमन्त्री डा खतिवडाले जानकारी दिएका हुन् । आज एक डलरको भाउ १२१ रुपियाँ ८३ पैसा रहेको छ । यही आधारमा यो आँकडा प्रस्तुत भएको छ ।

वैदेशिक लगानीमा वृद्धि

चालू आर्थिक वर्षमा सरकारले विगत तुलनामा बढी नै वैदेशिक लगानी भित्रिएको जनाएको छ । अर्थमन्त्री खतिवडाका अुनसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक लगानी बढेको हो । 

मंगलबार दुवै सदनमा आर्थिक वर्ष २०७६–७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री खतिवडाले करिब १ खर्ब ८५ अर्ब लगानी स्वीकृत भएको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उद्योग विभागबाट २९ अर्ब ६७ करोड र लगानी बोर्डमार्फत १ खर्ब ५५ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । 

उद्योग विभागमार्फत आउने वैदेशिक लगानी १६५.४ प्रतिशतले बढेको स्पष्ट देखिन्छ । यो अघिल्ला वर्षको तुलनामा नेपाल सरकारको उल्लेख्य प्रगति हो, जुन डाटाले बताउँछ ।

आर्थिक वृद्धिदरः एक तुलना

कोरोना संक्रमणको प्रभाव फागुनसम्म वा त्यस अघि नपरेको स्पष्ट देखिएको छ । गत फागुनपछि फैलिएको कोरोना भाइरस महामारीको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने देखिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

यसअघिको डाटाले के देखाउँछ भने– गत आर्थिक वर्ष २०७५–७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । आव २०७४–७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहेको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

कोरोना प्रभावपछि विशेष गरी पर्यटन जस्तो सेवा क्षेत्रबाट हुने आर्थिक वृद्धिदर नराम्रोसँग प्रभावित भएको देखिन्छ । बजेटको मध्यावधि समीक्षामा पनि अर्थमन्त्री खतिवडाले लक्ष्यको हाराहारीमै आर्थिक वृद्धि हात पार्ने दाबी नै प्रस्तुत गरेका थिए । तर, मध्यावधि सकिदै गर्दा कोरोना महामारी विश्वव्यापी बन्दै गएको पनि थियो ।

अन्य सूचकहरुमाः कुल गार्हस्थ्य उत्पादन ७.५ प्रतिशतले बढ्यो

उक्त आर्थिक सर्वेक्षण अनुसार आव २०७६–७७ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (चालू प्रचलित मूल्यअनुसार) गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढेको देखिन्छ । 

तर अब प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ लाख २६ हजार १८ (अमेरिकी डलर १,०८५) पुग्ने अनुमान छ । आर्थिक वर्ष २०७६–७७ मा कुल उपभोग र कुल गार्हस्थ बचत कुल गार्हस्थ उत्पादनको क्रमशः ८१.९ प्रतिशत र १८.१ प्रतिशत रहने सरकारले अनुमान गरेको छ ।

कूल लगानीमा कति हुन्छ न्यून ?

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लिएका कदमहरुबाट सार्वजनिक तथा निजी क्षेत्रको खर्चमा खुम्चिएको देखिएको छ । यो सङ्कुचनले आर्थिक वर्ष २०७६–७७ मा कुल लगानी गत आवको तुलनामा ३.४ प्रतिशतले न्यून भई १८ खर्ब ८९ अर्ब २६ करोड हुने अनुमान गरिएको अर्थमन्त्रीले सुनाए । 

गरिबी कतिले घट्ला ?

यो आवमा निरपेक्ष गरिबीको प्रतिशत पनि घटेको छ । आव २०७४–७५ मा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिबी आर्थिक वर्ष २०७६–७७ मा करिब १६.६७ प्रतिशत रहने अनुमान छ । 

अर्थमन्त्री खतिवडा अनुसार आव २०७६–७७ को फागुनसम्म अर्थतन्त्रका अन्य परिसूचकहरु सन्तोषजनक रहेका छन् ।  

उनले मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन, लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्व अनुकूल हुँदै गएको दाबी गरेका छन् । 

निकासीमा भएको वृद्धि र पैठारीमा भएको कमीका कारण व्यापार घाटामा सुधार भई शोधनान्तर स्थिति बचतमा रहेको उनको भनाइ छ । 

यद्यपि कोरोनासँगै पैठारी पनि झरेको छ ।

मुद्रा मूल्य घट्यो (मुद्रास्फीति कस्तो) ?

विगत केही वर्षदेखि मुद्रास्फीति एक दशकको औसतभन्दा तल रहेको थियो । आर्थिक वर्ष २०७६–७७ को फागुनमा औसत उपभोक्ता मुद्रास्फीति दर ६.५ प्रतिशत छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको थियो ।

सरकरी खर्चको अवस्था कस्तो ?

आर्थिक वर्ष २०७६–७७ को फागुनसम्म कुल सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९ प्रतिशतले वृद्धि भएर ६ खर्ब १० अर्ब ६८ करोड छ । 

सरकारी खर्चमध्ये चालु खर्च ४ खर्ब ५० अर्ब ७८ करोड, पूँजीगत खर्च ९६ अर्ब ४८ करोड र वित्तीय व्यवस्था ६३ अर्ब ४२ करोड रहेको छ ।

आर्थिक वर्ष २०७६–७७ को फागुनसम्म संघीय सञ्चित कोष र विभाज्य कोषमा जम्मा भएको राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले वृद्धि भएको र ५ खर्ब ४६ अर्ब ७९ करोड रहेको सर्वेक्षणमा उल्लेख छ । यसमा कर राजस्व ४ खर्ब ९७ अर्ब ५४ करोड र अन्य राजस्व ४९ अर्ब २५ करोड रहेको छ ।

फागुनसम्म संघीय सरकारको राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६ प्रतिशतले वृद्धि भएर ४ खर्ब ७९ अर्ब ७१ करोड पुगेको छ । 

अनुदान र ऋण 

विकास सहायता प्रतिबद्धता फागुनसम्म अनुदान १६ अर्ब १९ करोड रुपियाँ र ऋण ९३ अर्ब ९ करोड गरी १ खर्ब ९ अर्ब २८ करोड रुपियाँ प्राप्त भएको छ।

बिमामा पहुँच बढ्यो

यो अवधिमा बीमामा पहुँच पुगेको जनसंख्या २२ प्रतिशत रहेको छ । वैदेशिक रोजगारमा जाने कामदार सहित २६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ ।

चालु आर्थिक वर्षको फागुनसम्ममा उद्योग विभागबाट स्वीकृत वैदेशिक लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६५.४ प्रतिशतले वृद्धि भई २९ अर्ब ६७ करोड पुगेको छ । 

लगानी बोर्डबाट यस अवधिमा १ खर्ब ५५ अर्ब रुपियाँ लगानी स्वीकृत भएको छ ।

विद्युत्मा पहुँच 

गत फागुनसम्म कुल जनसंख्याको ९० प्रतिशतमा विद्युतको पहुँच पुगेको उल्लेख छ । कुल विद्युत उत्पादन गत वर्षको तुलनामा ८.३ प्रतिशतले वृद्धि भई १३५५ मेगावाट पुगेको छ ।

सडक पहुँच

देशैभर सोही अनुसारको सडक पूर्वाधार निर्माण भएका छन् । केन्द्र सरकारबाट निर्माण भएका रणनीतिक र स्थानीय सडक सञ्जालतर्फ कालोपत्रे १५ हजार २ सय ५४ किलोमिटर, खण्डास्मित ९ हजार २ सय ५१ किलोमिटर र कच्ची सडक ९ हजार ८ सय ४२ किलोमिटर गरी कूल सडकको लम्बाई ३४ हजार ३ सय ४७ किलोमिटर पुगेको सर्वेक्षणमा उल्लेख छ ।

खनेपानीमा पहुँच 

गत फागुनसम्म कुल जनसङ्ख्याको ९० प्रतिशत जनसंख्या आधारभूत खानेपानी तथा शतप्रतिशत जनसंख्यामा आधारभूत सरसफाइको सुविधा पुगेको सर्वेक्षणले बताएको छ। 

 

...


नोटः कभर फोटोमा समाहित नेपालको आथिक वृद्धिदरको तुलनात्मक टेबल ‘स्टाटिस्टा डटकम’ बाट लिइएको हो 

०००



प्रकाशित: २०७७ जेठ १३
May 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार