नेपाली समय: ०१:००:०१ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

एडिबीको प्रक्षेपणः चालू आवमा नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत, आउने वर्ष नै अर्थतन्त्र माथि उठ्ने

निर्माण सञ्चार, ३० भदौ, काठमाडौं । कोरोना महामारी अघि नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारीमा हुने अनुमान गरेको थियो ।

तर, महामारीले खुम्चिन पुगेको अर्थतन्त्र अब चालू आवका लागि मात्र १.५ प्रतिशत कायम हुने अनुमान गरिएको छ । नेपालका लागि विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले गरेको प्रक्षेपणले यस्तो भविष्यवाणि गरेको हो ।

स्मरणरहोस्, यही एडिबीले गत अप्रिलमा सन् २०२१ को पहिलो प्रक्षेपण गर्दा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । कोरोना भाइरसको विश्वव्यापी महामारीले अर्थतन्त्रमा पार्ने प्रभावबारे अध्ययन पछि यो नतिजा निकाल्न ऊ बाध्य भएको थियो । 

त्यसलगत्तै पछि एडिबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । तर, मंगलबार तेस्रो प्रक्षेपण गर्दा चाहिँ त्यसमा पनि रिभाइज गरिएको देखिन्छ ।

बैंकले यो वर्ष १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको हो । बैंकले मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ ।

त्यस्तै, विश्वबैंकले पनि केही समय अघि मात्रै यस्तै आर्थिक प्रक्षेपण गरेको थियो । जुन अनुमानले २.१ प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । 

तर, यी दुई निकायको प्रक्षेपणभन्दा सरकारी लक्ष्य निकै माथि छ । पछिल्ला दिनमा सरकारले त्यसको सार्वजनिक भने गरेको छैन ।

यही आवमा अर्थतन्त्र माथि उठ्ने 

एडिबी अनुसार नेपालको यही आर्थिक वर्षभित्रै अर्थतन्त्र माथि उठ्ने छ । यद्यपि कोभिड १९को विश्वव्यापी असर चलिरहेकै बेलामा उसले यस्तो अनुमान गरेको हो । 

पछिल्ला दिनहरुमा विश्वका सबै मुलुकहरु विस्तारै अर्थतन्त्र उकास्नेतर्फ अग्रसर हुन थालेका छन् । तर पनि यो वर्ष (सन् २०२०) मा विश्वका सबै मुलुकको अर्थतन्त्र शिथिल बन्नेमा दुई मत छैन ।

एडिबी अनुसार सन् २०२१ मा भने समग्र एसियामा अर्थतन्त्र जुर्मुराउन थाल्ने छ । 

बैंकअनुसार सन् २०२० मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदर शून्यभन्दा पनि तल झर्दै –०.७ (ऋणात्मक) प्रतिशत कायम हुनेछ । सन् २०१९ मा एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदर ५.१ प्रतिशत थियो ।

तर, सन् २०२१ मा यो दर निकै माथि उठ्नेछ । विश्व बैंकको प्रक्षेपण अनुसार यो वर्ष ६.८ प्रतिशतको वृद्धिदर कायम हुनेछ । 

यसमा खासगरी विकसित र ठूलो अर्थतन्त्र भएका मुलुकले क्रमशः अर्थतन्त्रलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्ने छन् ।

बैंकले भारतको ८ प्रतिशत, चीनको ७.७ प्रतिशत र दक्षिण कोरियाको जीडीपीमा ३.३ प्रतिशतको वृद्धिको अनुमान गरेको छ ।

आर्थिक वृद्धिदरको हिसाबले यो वर्ष दक्षिण एसियाली मुलुकमध्ये नेपाल र अफगानिस्तान सबैभन्दा कमजोर हुने ेदेखिन्छन् ।

अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा सरकारले २.२७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । एडिबीको तथ्यांक अनुसार सन् २०२० मा २.३ प्रतिशतको मात्र आर्थिक वृद्धि हुनेछ । 

 

०००
 



प्रकाशित: २०७७ भाद्र ३०
September 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार