नेपाली समय: ०१:०२:५३ अपरान्ह
वि.सं २०७७ कार्तिक ११   मंगलवार

चालू आर्थिक वर्षका दुई महिनाले घटायो वैदेशिक व्यापार घाटाः २४.९३ प्रतिशतले गिराओट, आयात घट्यो २२ प्रतिशतले, निर्यातमा वृद्धि

निर्माण सञ्चार, ९ असोज, २०७७, काठमाडौं । भन्सार विभागले सावैजनिक गरेको चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो दुई महिनामा वस्तु आयातमा उच्च गिरावट देखिएको छ । 

विभागका अनुसार भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको देखिएको हो । 

अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा आयात पहिलो महिनाबाटै ओरालो लागेको देखिएको थियो । 

यस आवमा आयातमा उच्च गिरावट र निर्यातमा वृद्धि हुँदा यो दुई महिनामा वैदेशिक व्यापार घाटामा उच्च गिरावट आएको  छ ।

विभागको रिपोर्ट अनुसार यो साउन र भदौ महिनामा कुल वस्तु आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको छ । अघिल्लो आवको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपियाँ हाराहारीको रहेको थियो । 

यस अवधिमा वस्तु निर्यात भने २० अर्ब ४४ करोड ३० लाख रुपियाँ बराबरको भएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपियाँको भएको थियो । यो वर्ष वस्तु निर्यात १०.४९ प्रतिशतले बढेको देखिन्छ ।

विभागले जनाए अनुसार यस अवधिमा वैदेशिक व्यापार घाटामा कुल २४.९३ प्रतिशतको गिरावट आएको छ ।

यो वर्ष दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड रुपियाँ बराबर रहेको छ । अघिल्लो आवमा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपियाँको थियो । 

दुई महिनामा कुल १ खर्ब ९९ अर्ब २८ करोडको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको दुई महिनामा कुल वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रहेको थियो । 

यो वर्ष कुल आकार नै १९.६४ प्रतिशतले घटेको विभागको भनाइ छ ।

चालू दुई महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.२६ प्रतिशत र आयातको हिस्सा ८९.७४ प्रतिशत छ । 

यो वर्ष निर्यातको हिस्सामा ३७.५० प्रतिशत सुधार भएको विभाग बताउँछ ।

कस्तो छ चालू आवका २ महिनाको वैदेशिक व्यापार ?

  • आयातः १ खर्ब ७८ अर्ब ८० करोड (२२.०७ प्रतिशत गिरावट)
  • निर्यातः २० अर्ब ४४ करोड (१०.४९ प्रतिशत वृद्धि)
  • व्यापार घाटाः १ खर्ब ५८ अर्ब ४० करोड (२४.९३ प्रतिशत गिरावट)
  • कुल वैदेशिक व्यापारः १ खर्ब ९९ अर्ब २८ करोड (१९.६४ प्रतिशत गिरावट)
  • वैदेशिक व्यापारमा आयातको हिस्साः ८९.७४ (३.०२ प्रतिशत गिरावट)
  • वैदेशिक व्यापारमा निर्यातको हिस्साः १०.२६ (३७.५० प्रतिशत वृद्धि)

०००



प्रकाशित: २०७७ आश्विन ९
September 25th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार