नेपाली समय: ११:५६:०३ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

‘बदमासी गर्ने कन्ट्र्याक्टर, दोष प्रधानमन्त्रीको टाउकोमा ?’ मन्त्री नेम्वाङले भने, ‘पूर्वपश्चिम रेल सञ्चालन भएरै छाड्छ, ढुक्क हुनुहोस्’

निर्माण सञ्चार, ११ असोज, पाँचथर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनमा आसँगै चर्चा चुलिदै गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री  वसन्तकुमार नेम्वाङले पूर्वाधार क्षेत्रमा भइरहेका विकृतिलाई लिएर सरकार र प्रधानमन्त्रीका ओलोचना गरेकोमा आक्रोस व्यक्त गरेका छन् । 

कारोनाको अवस्था साम्य हुनेबित्तिकै जनकपुर जयनगर रेल नियमित रेल सञ्चालन हुने बताएका मन्त्री नेम्बाङले अन्य निकायबाट भएका कमजोरीहरुलाई लिएर सरकारलाई दोषी करार गराउने र मिडियाबाजी गर्ने काम भइरहेकोमा आक्रोश व्यक्त गरेका हुन्।

जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको एक कार्यक्रम उनले भने, ‘कुनै बदमास ठेकेदार (कन्ट्र्याक्टर) ले बाटो बनाउँदैन, पुल बनाउँदैन, सरकारबाट काम लिन्छ र भनेको बेला काम नगरेर उल्टै सरकारलाई अलोकप्रिय बनाउँछ तर सामाजिक सञ्जालदेखि मिडियासम्मले दोषचाहि प्रधानमन्त्रीको टाउकोमा हाल्छन्, के यो सुहाउने कुरा हो ?’

सरकार संलग्नै नभएको कामबाट सरकारमाथि दोष करार गर्ने काम गलत कन्ट्र्याक्टरबाट भइरहेको भन्दै मन्त्री नेम्बाङले काम नगरेका कन्ट्र्याक्टरहरुलाई अब कुनै पनि हालतमा नछोडिने पनि बताए । 

गौरवका आयोजनादेखि स–साना निर्माण कार्यहरु समेत गरी कयौँ विकास आयोजनामा ठेकेदार (कन्ट्र्याक्टर) ले समयमा काम नगरेको तर सरकार आलोचित हुनुपरेको मन्त्री नेम्वाङको भनाइ छ । 

उनले अब सरकारले कसैलाई पनि छुट दिन नसक्ने दोहोराएका पनि छन् ।

मन्त्री नेम्बाङ रिसाउनुको मुख्य कारण हो राँके–रवि–भेडेटार सडकको कामको दयालाग्दो अवस्था । स्थानीयसँग जोडिएका मन्त्री नेम्बाङले राँके–रवि–भेडेटार सडकमा अहिलेसम्म ३२ प्रतिशत भौतिक प्रगति हुनुपर्ने बताउँदै तर सात प्रतिशत मात्रै काम भएको भन्ने जनगुनासो सम्बोधन गर्दै प्रश्न गरे, ‘यो कामजोरीको दोष प्रधानमन्त्री टाउकोमा किन ?’

राँके–रवि–भेडेटार सडकको शिलान्यास प्रमले शिलान्यास गरेका हुन् । सम्झौता अनुसार महिनाका हिसाबले कामको प्रगति देखिनु पर्ने थियो । तर, आजका दिनसम्म जम्मा ७ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । जबकि, यो अवधिमा उक्त सडकको ३२ प्रतिशत भौतिक प्रगति हुनुपर्ने थियो ।

उनले प्रश्न गरे, ‘रकम जुटाउने, शिलान्यास गर्ने र जनतालाई सुविधा पुर्‍याउन खोज्ने प्रधानमन्त्रीज्यू, अनि बदमासी गर्ने को भन्दा ठेकेदार, अनि उसको सट्टा गाली प्रधानमन्त्रीज्यूले खानुपर्ने ? अब यो अवस्थाको छिटै अन्त्य हुन्छ ।’ 

मन्त्री नेम्बाङले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारवाही हुन थालेको बताउँदै ‘अब कुनै पनि हालतमा छुट पाइन्छ भन्ने कल्पना नगरे हुन्छ’ पनि बताए ।

साथै, मन्त्री नेम्बाङले  जिम्मेवारी पूरा नगर्ने तालुकदार निकायसमेत कारवाहीको भागीदार बन्ने बताएका छन् । 

कोरोना महामारीका बीचमा पनि आफै सडकमा उत्रिएर राजधानीलाई टिलिक्क पारेका मन्त्री नेम्बाङले यो अवधिमा पनि कार्यक्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी निकायलाई धन्यवाद दिएका छन्।

उनले प्रधानमन्त्री र सरकारको सोचअनुसार पूर्व–पश्चिम रेल सञ्चालन गरेरै छोड्ने दृढता पनि व्यक्त गरेका छन् । जुन कामका लागि रेलमार्ग डिपिआरको काम भइरहेको उनले जानकारी दिए।

जनकपुर जयनगरका लागि चालू भएका दुई वटा रेल सञ्चालन पछि कागजको रेल बनाउनेहरुप्रति साँच्चिकै रेल आउँदा के गर्नुहुन्छ भन्ने आशयमा उनले व्यङग्य समेत गरका थिए ।

‘साँच्चै रेल ल्यायो, एक दुई दिन त चुप लाग्छन्, फेरि ९३ वर्षअघिको रेल हो नि भन्न थाल्छन्,’ उनले भने, ‘यो त कम्प्युटरबाट चल्ने रेल हो भनेर देखायो, यो त रु २० करोडमा आइहाल्थ्यो नि भनेर आफैँ दाम राख्छन्।’

 

०००



प्रकाशित: २०७७ आश्विन ११
September 27th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार