नेपाली समय: ०५:२७:४५ बिहान
वि.सं २०७९ जेठ १०   मंगलवार

राजमार्गसँग नजोडिएको जुम्लाको एउटा गाउँ– पक्की पुलले जोड्दै छ यसरी

निर्माण सञ्चार, २६ मंसिर, कर्णाली प्रदेश

यहाँको तिला गाउँपालिका भौगिक हिसाबले जिल्लाकै विकट पालिका हो । २०७४ पछि स्थानीय सरकार सञ्चालन पश्चात तिलाका ९ वडाका ३४ वटै बस्तीमा सडक पुगेका छन् । तर ती मध्य तिलाका ७,८ र ९ नम्बर वडामा पर्ने जुम्लाकोट,रासा,मालापानी,खोप्री, सुडी, घोडेमहादेव,पोख्री,पुरु गाउँमा सडक पुगेपनि अझै कर्णाली राजमार्गमा जोडिन सकेका छैनन् । जसका कारण अहिले पनि तिलाका स्थानीय पिठ्युमै भारी बोक्न बाध्य छन् । 

तिलानदी माथि हाल सम्म तिलाका ७,८ र ९ का ग्रामिण बस्तीलाई राजमार्ग संग जोड्ने पुल निर्माण नभएकै कारण त्यहा नागरिक भारी बोक्न अहिले पनि खच्चड र पिठ्युकै भरमा छन् ।

रासामालापानीका स्थानीय मान बहादुर बुढाले भने,“स्थानीय सरकार नआएको भए गाउँमा सडक पनि पुग्थेन होला । तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा छौँ । गाडी गुड्न पुल निर्माण नभइ हाम्रा दुखले मुक्ती पाउने छैनन् ।”

गाउँमा सडक पुगेपनि पुल नहुँदा दैनिक उपभोग्य बस्तु,निर्माण सामाग्री ओसार्न खच्चड र पिठ्युकै भर छ । सडक पुग्दा जत्ती खुसी थियौ । त्यो भन्दा बढी खुसी पुल निर्माण भएपछि हुने तिलाका नागरिकको भनाई छ । 

१४ करोड लागतमा पुल बन्दै

तिलाका दुर्गम गाउँलाई राष्ट्यि सडक संजाल संग जोड्का लागि तिला गाउँपालिका १ रारालिहीमा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । रारालिहीमा ३ वर्ष भित्र पक्की पुल निर्माण हुने गरी प्रक्रिया बढाएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए । पुल निर्माणका लागि डिजाइन नक्सा समेत आएर स्टिल क्रसको काम अघि बढेको छ । 

उनले भने,“चिसो बढ्दै गएकोले सिमेन्टको काम गर्न सम्भव नहोला । तर निर्माण व्यवसायीलाई चिसोमा सिमेन्टको काम गर्न सकिने केमिकल खरिद गर्न लगाएको छु । केमिकल परिक्षण सफल भएमा यही दिउँदमा पुलका सबै पिल्लर खडा गरिने छ ।”

करिब ५५ मिटर लामो पुल निर्माणका लागि १५ करोड ४१ लाखको स्टमेट गरिएपनि ठेक्का सम्झौता भने १४ करोड ८४ लाखमा भएको सडक डिभिजन जुम्लाका ईन्जिनियर सन्तोष भण्डारीले बताए । उनका अनुसार उक्त पुल निर्माणका (हिराचन,अन्जना खड्का जेभी निर्माण कम्पन्नी) संग तीन वर्षे ठेक्का सम्झौता भएको छ । 

पुल निर्माणले तिलाका दुर्गम बस्तीलाई आर्थिक आयआर्जन संग जोडिने अपेक्षा गरिएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बढाले बताईन् ।

गाउँ गाउँमा सडक पुराएपनि स्थानीयतहको लगानीले पुल निर्माण सम्भव नभएकोले गर्दा संघिय सरकारको लगानीमा सडक डिभिजनले पुल बनाउन लागेको खुसी लागेको उनको भनाई छ ।

पुल निर्माण पछि तिलाका ७,८ र ९ नम्बर वडाका करिब एक दर्जन बस्ती कर्णाली राजमार्ग संग जोडिने छ । 

 

०००
 



प्रकाशित: २०७८ मंसिर २६
December 12th 2021

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्