नेपाली समय: ११:४५:०७ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

अझै पनि खोजेन महासंघले ‘गौचन हत्या’को वास्तविक कारण ? कन्स्ट्रक्सन इन्डस्ट्रिजका ‘सहिद’ गौचनको तेस्रो स्मृति दिवससम्म आउँदा ‘निर्माण व्यवसायीमाथि अझै सुरक्षा थ्रेट’ छैन हटेको !

निर्माण सञ्चार, २३ असोज, काठमाडौं  

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सहिद शरदकुमार गौचनको तेश्रो स्मृति दिवसको अवसरमा शुक्रवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरियो । 

सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गीय गौचनले खेलेको भूमिकको स्मरण गरिएको निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ ।

  • राज्यले संलग्न दोषीहरुमाथि कारबाही गरेको छ भनेर महासंघ उम्कन मिल्दैन । किनकि, राज्यको काम कुनै पनि अपराधमा संलग्नहरुमाथि कानुन अनुसार कारबाही गर्नु नै हो । तर, सम्बन्धित समुदायभित्र रहेका समस्याहरु राज्यले आएर सुधारिदिने होइन भन्ने कुरा महासंघले बुझ पचाउन मिल्दैन ।
कोभिड–१९ को बढ्दो संक्रमणका कारण कार्यक्रमलाई भव्य रुपमा गर्न नसकिएको महासंघको भनाइ छ । नेपाल सरकारले जारी गरेको स्वस्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै गौचन स्मृति दिवसलाई निरन्तरता दिइएको महासचिव रोशन दाहालले बताए ।

आगामी वर्षहरुमा भने स्वर्गीय गौचनको सम्झनामा बृहत रुपमा अन्य कार्यक्रम पनि गरिने महासचिव दाहालको भनाइ छ ।
निर्माण व्यवसायीहरुमाथि अहिले पनि सुरक्षा खतरा रहेको भन्दै उनले व्यवसायीहरुका सुरक्षाका लागि महासंघले ठोस पहल गर्नुपर्ने धारणा राखेका थिए ।

गौचनको सम्झनामा एक मिनेट मौन धारण गर्दै सम्पन्न श्रद्धाञ्जली सभामा सरिक निर्माण व्यवसायी महासंघ सम्बद्ध निर्माण नेताहरुले महासंघ परिसरमा रहेको स्व. गौचनको अर्धकदको सालिकमा माल्यार्पण गरेका थिए । 

महासंघका अध्यक्ष रवि सिंह सहित गौचनकी धर्मपत्नी आशा गौचन, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने तथा पदाधिकारीहरु, सदस्यहरु र महासंघका कर्मचारीहरुले उनको सालिकमा फूल चढाएका थिए । 

सहिद गौचनको स्मृतिमा आज देशैघभरका निर्माण व्यवसायी जिल्ला संघहरुले पनि स्मृति सभा गरेका छन् । 

स्मरणरहोस्, गौचनको २०७४ साल असोज २३ गते नयाँ वानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा निवास नजिकै आपराधिक समूहबाट गोली हानी हत्या गरिएको थियो ।

टिप्पणी

पछिल्ला दिनमा गौचन हत्यामा संलग्नहरुमाथि प्रशासनिक कारबाही भाइरहेको छ । निर्माण क्षेत्रले नै हुर्काएका गुण्डागिरीको सिकार महासंघका तत्कालीन अध्यक्ष गौचन बन्नु परेको थियो । निर्माण क्षेत्रभित्रको कमिसनखोर सेटिङ र माफियागिरी नै गौचन मृत्युको कारण बनेको थियो ।

तर, महासंघले गौचन हत्याबारे वास्तविक तथ्यमाथि समीक्षा भने आजका दिनसम्म गरेको छैन । गौचन हत्याको मुद्दामा उसले विभिन्न गतिविधि गरेको छ । सञ्चार क्षेत्र मार्फत् सुरक्षा खतरा रहेको बताउँदै पनि आइरहेको छ । राज्यले गौचन हत्यामा संलग्न गुण्डामाथि क्रमशः कारबाहीको भागिदार बनाएको पनि छ । 

तर, महासंघले गौचन हत्याको वास्तविक कारणबारे गम्भीरता पूर्वक खोजी गरी ठोस कुरा बाहिर ल्याएको छैन । आफूभित्र छिपेर रहेको त्यो ‘प्रवृत्ति’बारे आत्मसमीक्षा नगरेसम्म निर्माण व्यवसायीहरुमाथिको सुरक्षा खतराको वास्तविक उपचार पनि सायद सम्भव नहोला !

राज्यले संलग्न दोषीहरुमाथि कारबाही गरेको छ भनेर महासंघ उम्कन मिल्दैन । किनकि, राज्यको काम कुनै पनि अपराधमा संलग्नहरुमाथि कानुन अनुसार कारबाही गर्नु नै हो । तर, सम्बन्धित समुदायभित्र रहेका समस्याहरु राज्यले आएर सुधारिदिने होइन भन्ने कुरा महासंघले बुझ पचाउन मिल्दैन ।

...

स्मृति दिवसमा सहभागी गौचन पत्नी सहित महासंघका पदाधिकारीहरु
 

०००
 



प्रकाशित: २०७७ आश्विन २३
October 9th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार